भारतमा पुगेकाे गैंडालाई डुंगामा राखेर यसरी फर्काइयाे नेपाल

 पुस २, २०७५ सोमबार १०:२०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – गएको वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको पोथी गैँडालाई आइतबार राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । 

निकुञ्जले गैंडा नेपाल फर्काउनका लागि अनवरत प्रयास गरे पनि सफल हुन सकेको थिएन । ‘भारतीय जंगलमा गैंडा कहिले यता कहिले उता जाने गरेका कारण भेट्टाउन मुस्किल भैरहेको थियो’ निकुञ्जका सूचना अधिकृत गोपालबहादुर घिमिरेले भन्नुभयो ‘गैंडा भारतीय जंगलमा भेटिए पनि भारतीय भूमिमै बेहोस पार्न कानुनी कारणले नमिल्ने अवस्था थियो ।’

तर कानुनी अडचनमा फसेको निकञ्जको समस्या सुस्तावासीले सहज पारे । सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जैसवालले भन्नुभयो ‘सुस्ताका युवाहरु लुकीलुकी भारतीय जंगल भित्र पसेर गुलेली हान्दै गैंडालाइ नेपाली भूमितर्फ ल्याउँँदै सुस्ता पुर्‍याइएको हो ।

अन्दाजी २०/२५ वर्षको यस पोथी गैंडालाई स्थानीय किसान अयोध्या केवटको उखुबारीमा घेरेर राखिएको थियो । उनीहरुले त्यसपछि निकुञ्जलाई सूचना गराएका थिए । आइतबार वन्यजन्तु प्राविधिक टोलीले गैँडालाई डार्ट गरेर (बन्दुकबाट औषधि पठाई लठ्याएर) नियन्त्रणमा लिइएको थियो ।

गैंडालाई सुस्तावासीको सहयोगमा डुंगामा हालेर नारायणी नदी वारी नेपालतर्फ ल्याइएको थियो । उद्धार गरिएको गैँडालाई राति ११ बजे चितवन निकुञ्जको तमोरताल नजिकै ल्याएर छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जका वन्यजन्तु प्राविधिक तथा पशु चिकित्सकसहित ३० भन्दा बढी संरक्षणकर्मी उद्धारमा खटिएका थिए । उद्धारमा तीन हात्तीको प्रयोग गरिएको थियो । 

आइतबार दिउँसो २ः५० बजे उद्धार भएको गैँडालाई साँझ ठूलो डुङ्गामार्फत नारायणी तारेर नवलपरासीको त्रिवेणी ल्याइएको थियो । त्यसपछि ट्रकमा राखेर राति नै चितवन ल्याइएको हो ।

यसरी बाढीले बगाएका गैँडालाई डुङ्गामा तारेर ल्याइएको यो दोस्रो हो । झण्डै दुई हजार किलोको गैँडालाई डुङ्गामा तार्नु जोखिम भए पनि स्थानीयवासीको सहयोग र माझीको कुशलताले सफल भएको निकुञ्जले जनाएको छ .।

तस्बिर : रासस


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया