बाँकेमा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको ज्यान गयो

 पुस २, २०७५ सोमबार १३:४६:४ | गोविन्द शर्मा

बाँके – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–५, जिगाउँमा  स्कुलबस र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा सोमबार दुईजनाको ज्यान गएको छ ।

सम्झनाचोकका लागि छुटेको कोहलपुरस्थित बालज्योति बोर्डिङ स्कुलको बा १ क ४४९५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु ४३ प ९५९९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार  सुर्खेत लेकबेसी नगरपालिका–१ का २७ वर्षीय विक्रम गहतराज र गुर्भाकोट–१२, का ३२ वर्षीय मदन सुनारको ज्यान गएको हो ।  

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार दुर्घटनालगत्तै गम्भीर घाइते दुवै जनालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

सुर्खेतबाट आफन्त आइपुगेपछि शव जिम्मा लगाउने प्रहरीले जनाएको छ ।  प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया