विश्वकप फुटबल प्रतियोगिताको भव्य उद्घाटन

 जेठ ३१, २०७५ बिहिबार २०:३१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net


२१ औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको बिहीबार भव्य उद्घाटन गरिएको छ ।

रुसको मस्कोमा रहेको लुझ्निकी रंगशालामा विभिन्न सांगितिक कार्यक्रम र आतिसवाजीका साथ २१ औं संस्करणको विश्वकपको भव्य उद्घाटन गरिएको हाे ।

द्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, सहितका विश्वभरका उच्चस्तरीय सरकारी प्रतिनिधिको सहभागिता छ । 

उद्घाटन समारोहमा ९० को दशकमा पप आइकनका रुपमा प्रसिद्धि कमाएका गायक रोबी विलियम्सले विशेष प्रस्तुति दिएका थिए । 

आज बेलुकादेखि एक महिनासम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया खेल्नेछन् । खेल रुसको मस्कोमा रहेको लुझ्निकी रंगशालामा नेपाली समय अनुसार बेलुकी पौने नौ बजे सुरु हुनेछ ।

प्रतियोगितामा सहभागी ३२ देशलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता अन्तिम १६ मा प्रवेश गर्नेछन् । मस्कोका २ सहित अरु १० शहरका १२ रंगशालामा विश्वकप फुटबलका खेल हुनेछन् ।

अबको ३२ दिनसम्म विश्वकपका ६४ वटा खेल हुनेछन । विश्वकपको २१ औँ संस्करणका खेल रुसका ११ शहरका १२ रंगशालमा हुनेछन् । यी १२ रंगशालाहरु १८ सय माइलको दूरीमा छन्  ।

फाइनल खेल आउँदो जुलाई १५ मा उद्घाटन खेल भएकै ८१ हजार दर्शक क्षमता भएको लुज्निकी रंगशालामा हुनेछ । विश्वकपमा ३२ देशका ७३६ खेलाडीले मैदानमा आफ्नो प्रतिभा देखाउने छन् ।

यसपटकको विश्वकपमा फुटवल इतिहासमै पहिलोपटक भिडियो एसिस्टेण्ट रेफ्रि अर्थात भीएआर को प्रयोग हुँदैछ । मैदानमा रहेका निर्णायकले नदेखेका वा विवाद भएका कुरामा भिडियो फुटेज हेरेर यथार्थ पत्ता लगाइने प्रविधि नै भीएआर हो ।

यसले खेलका क्रममा हुने विवाद र निर्णायकमाथि लाग्ने आरोप अन्त्य हुने फिफाले जनाएको छ । 

सन् १९३० बाट सुरु भएको फिफा विश्वकपमा सर्वाधिक सफल टोली ब्राजिल हो । ब्राजिलले अहिलेसम्म ५ पटक विश्वकपको उपाधि जितेको छ । त्यस्तै जर्मनीले अहिलेसम्म ४ पटक विश्वकपको उपाधि जितेको छ ।

इटालीले ४ पटक विश्वकपको ट्रफी चुम्दा अर्जेन्टिनाले २ पटक विश्वकपको ट्रफी उचालेको  छ । यस्तै उरुग्वेले २ पटक जित्दा फ्रान्स, स्पेन र इंग्ल्याण्डले १-१ पटक विश्वकप जितेका छन् ।

यसपटकका दावेदार 

हुन त विश्वकपका लागि छानिएका सबै ३२ देश नै उपाधिका दावेदार छन् । छनौटमा उत्कृष्ट प्रदर्शन गरेकैले उनिहरु विश्वकपसम्मको यात्रामा आएका हुन । तर विगतको प्रदर्शन, चर्चित खेलाडी र फिफाको बरियताका आधारमा केहि देशलाई मात्र विश्वकपका दावेदारका रुपमा लिइएको छ । 

गएको संस्करणको विजेता जर्मनी पछिल्ला चार विश्वकपमा लगातार सेमिफाइनलसम्म पुगेको छ ।

जर्मनी युरोपको त्यस्तो एक मात्र टिम हो जसले छनौट चरणमका सबै खेल जित्दै रुस यात्रा गर्न सफल भएको हो  ।  १९६२ पछाडी कुनै पनि देशले लगातार  २ पटक विश्वकपको उपाधी जितेका छैनन् । यसअघि सन् १९५८ र ६२ को विश्वकपको उपाधि लगातार ब्राजिलले जितेको थियो । 

अहिलेसम्मका सबै विश्वकप खेल्ने एक मात्र देश ब्राजिल पनि यो विश्वकपको उपाधि दावेदार देश हो । तर पाँचपल्ट विश्वविजेता बनेको ब्राजिलले सन् २००२ यता उपाधि जित्न सकेको छैन । 

स्पेनको टिम निकै बलियो मानिएको छ । त्यसमा च्याम्पियन्स लिग विजेता रियल मड्रिड र क्लब फुटबलमा महारथी मानिने बार्सिलोनाका धेरै खेलाडी रहेका छन् । उनीहरुले यो पटक आफूहरुको पुरानो साख फर्काउने आश गरिएको छ । उसले ८ वर्षअघि २०१० मा विश्वकपको उपाधि जितेको थियो र सन् २००८ तथा २०१२ मा युरोकपको उपाधि उचालेको थियो ।

यस्तै क्रिष्टियानो रोनाल्डोले पहिलो विश्वकप जित्ने सपना सजाएका छन । दुई वर्षअघि पोर्चुगलले युरोकपको उपाधि उचालेको थियो । अहिले रोनाल्डोको नेतृत्वमा पोर्चुगल विश्वकप सपनासहित रुस पुगेको छ ।

यस्तै लियोनल मेस्सी पनि अर्जेन्टिनाबाट पहिलो मुख्य उपाधि उचाल्ने लक्ष्यमा छन् ।

क्लब फुटबलमा सफल मानिए पनि मेस्सीले आफ्नो देशलाई विश्वकपको उपाधि जिताउन सकेका छैनन् । अर्जेन्टिनाले सन् १९७८ र ८६ मा गरी दुई पटक विश्वकपको उपाधि उचालेको छ भने १९३०, १९९० र २०१४ को विश्वकपमा उपविजेता बनेको थियो । 

पउल पोग्बा, एन्टोनी ग्रिजम्यान, ओलिभर जिरउड, ह्युग लोरिस, केलियन एमबाप्पेसहितका खेलाडी भएको फ्रान्सको टोलीमा पनि निकै उर्जा छ ।

उ दुई वर्षअघि युरोकपमा घरेलु मैदानमा बेहोरेको फाइनल हारलाई भुलेर त्यो भन्दा ठूलो उपाधि उचाल्ने दाउमा  छ । यस्तै बेल्जियम, इंल्याण्ड,स्विट्जरल्याण्ड, नाइजेरिया लगायतका देश पनि उत्तिकै सशक्त छन् । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया