६ करोडको लागतमा बन्ने मध्यपुरथिमी र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास

 पुस २, २०७५ सोमबार १४:१५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – मध्यपुरथिमी नगरपालिका वडा नं. ४ थिमी र सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ । निर्माणाधीन नयाँ पुलको सोमबार प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गर्नुभयो ।

मध्यपुरथिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा उहाँले भक्तपुरमा एकैसाथ एक दर्जन पुलको निर्माण कार्य अगाडि बढिरहेको बताउँदै गाउँगाउँमा पक्की सडक र सबै खोला तथा नदीमा पुल निर्माण कार्य भैरहेको जानकारी दिनुभयो । भक्तपुरका नागरिकले अबको चार वर्षमा चौतर्फी विकास देख्ने बताउँदै उहाँले विकासको विरोध गर्नेहरु आफै सकिँदै जाने टिप्पणी गर्नुभयो । 

विकासमा सके साथ दिने नसके विरोध नगर्ने प्रवृत्तिको विकास हुनुपर्नेमा जोड दिँदै नागरिकले जनप्रतिनिधि भएको आभाष हुनेगरस् विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढेको सांसद बस्नेतको भनाई थियो । भक्तपुरको विकास अब कुनै हालतमा नरोकिने भन्दै विकासमा आएका समस्यालाई समाधान गर्दै लैजाने उहाँको भनाई थियो । 

समयमै निर्माण कार्य सम्पन्न गर्ने ठेकेदारलाई सम्मान गर्ने र काम ढिला गर्ने ठेकेदारलाई कारबाही गर्ने भन्दै उहाँले यो पुल र हनुमन्ते करिडोर निर्माण भएलगत्तै यहाँ हुने जामको समस्या समाधान हुने बताउनुभयो । 

हनुमन्ते करिडोर निर्माण कार्य सुरु भएको र यो सम्पन्न भएलगत्तै अरनिको राजमार्गमा हुने सडक जामको अन्त्य हुने दावी गर्दै सांसद बस्नेतले ९ वटा पुल र साँगामा उपत्यकाकै ठूलो झोलुङ्गे पुल २ करोड ४० लाखको लागतमा निर्माण हुने, सिपाडोलमा बञ्जी जम्प निर्माण कार्यलाई समेत अगाडि बढाएको बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया