अन्तरजातीय विवाह गरेकी संगीता सुत्केरी अवस्थामा अलपत्र : तीन महिनादेखि श्रीमान बेपत्ता

 पुस २, २०७५ सोमबार १४:५२:१९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा अन्तरजातीय प्रेम विवाह गरेकी एक महिला सुत्केरी अवस्थामा अलपत्र बन्नुभएको छ । गएको तीन महिनादेखि श्रीमानले सम्पर्क नै नगरेपछि उहाँ सुत्केरी अवस्थामा अलपत्र बन्नुभएको छ ।

संगीताले २०७४ साल पुस १ गते सुरुङ्गा नगरपालिकाका २२ वर्षका शिवदत्त चौधरी कलवारसँग प्रेम विवाह गर्नुभएको थियो । तर गएको तीन महिनादेखि उहाँका श्रीमानले सम्पर्क समेत नगरेपछि अहिले उहाँ अलपत्र पर्नुभएको हो ।

मंसिर २२ गते लहानमा रहेको रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा शल्यक्रियापछि उहाँको छोरो जन्मिएको छ । शिशुको जन्म भए पनि संगीता र शिशुको स्याहार गर्ने व्यक्ति नभएका कारण शिशुको अवस्था अहिले नाजुक छ ।

नवजात शिशुले दूध खान नसकेपछि बच्चाको उपचार गर्न अन्य ठूला अस्पताल लैजान संगीतालाई डाक्टरहरुले सल्लाह दिएका छन् । तर संगीताको आर्थिक अवस्था कमजोर भएकाले बच्चालाई उपचारका लागि बाहिर लैजान नसकिएको संगीताका बुबा भोला सदा लाचारीले बताउनुभयो ।

उहाँले परिवार र छरछिमेकसहित संचारकर्मीहरुलाई बोलाएर छोरीलाई न्याय दिलाउन पहल गरी दिन आग्रह गर्नुभएको छ । २०७४ साल पुस १ गते ‘कोसी मेला हेर्न जान्छु’ भन्दै माइती घर सुरुङ्गा नगरपालिका ४ बाट निस्केकी संगीताले त्यसै दिन शिवदत्तसँग भागेर प्रेम विवाह गर्नुभएको थियो ।

तीन महिना विभिन्न स्थानमा घुमाएर २०७४ साल चैत्र २ गते माइतीमैं पुर्‍याएर ‘केही दिनमा लिन आउँछु’ भन्दै गएका संगीताका श्रीमान अहिलेसम्म नआएको संगीताले सुनाउनुभयो ।

श्रीमानका घरमा जाँदा सासू–ससूराले दलितकी छोरी भन्दै घरमा पस्न नदिएको संगीताले गुनासो गर्नुभयो । ‘घरमा गयो भने दलितकी छोरी भनेर लखेट्छन्, माइतीमा आयो भने तैले आफ्नो मनमर्जीले विवाह गरेर ठूलो गल्ती गरिस् भन्छन, अब म कसरी बाँच्ने ?’, संगीताले पीडा पोख्नुभयो ।

उहाँले श्रीमानलाई सासू–ससूराले नै अर्को विवाह गराउने नियतले लुकाई राखेको आरोप पनि लगाउनुभएको छ । नवजात शिशुलाई आफैँले एक्लै पाल्न नसक्ने भन्दै उहाँले पनि न्यायका लागि पहल गरी दिन सबैसँग आग्रह गर्नुभएको छ ।

जनचेतना दलित संगम नामक संस्थाले संगताका श्रीमान खोज्ने निकै पहल र प्रयास गरे पनि नभेटाएको जनाएको छ । संस्थाका कार्यकारी निर्देशक गणेशप्रसाद रामले संगीताको अवस्था हेरेर सामाजिक दवावदेखि प्रहरीसम्म पुगे पनि उहाँको श्रीमानलाई भेटाउन नसकिएको बताउनुभयो ।

पीडित संगीताको किटानी जाहेरीको आधारमा शिवदत्तको खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया