भगिमानसिंह स्मृति फुटबलमा संखुवासभाको विजयी सुरुवात

 पुस २, २०७५ सोमबार १७:१२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – तेह्रथुमकै सर्वाधिक राशीको भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगितामा संखुवासभा फुटबल संघको विजयी यात्रा सुरु भएको छ । 

संखुवासभाले सोमबार म्याङलुङ नगरपालिका–२, मा रहेको मैदानमा भएको खेलमा आयोजक तेह्रथुमलाई ३–२ गोलले पराजित गरेको हो । 

आयोजकका लागि खेल सुरुवात भएको ७ औँ मिनेटमा सन्तोष लिम्बू र १६ औँ मिनेटमा विमल गुरुङले गोल गर्दै २–० को अग्रता बनाएका थिए । तर त्यसलाई आयोजकले कायम राख्न सकेन । संखुवासभाका लागि जोयल लिम्बूले पहिलो हाफको ४१ औँ र दोश्रो हाफको ८ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए । बराबरीपछि खेल अझै रोचक बनेको थियो । संखुवासभाका लागि दिपक चौहानले ७२ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । 

भगिमानसिंह तुम्बाहाम्फे स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा प्रदेश नं. १ का १० जिल्लाका एक–एक टिम सहभागी छन् । प्रतियोगिताको विजेतालाई नगद २ लाख ५ हजार र उपविजेतालाई नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार पाँचथर र मोरङ तथा ताप्लेजुङ र इलामबीच प्रतिस्पर्धा हुनेछ । नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता पौष ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालनका लागि २८ लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया