सर्लाहीका हात्ती पीडितले राहत पाएनन्

 पुस ३, २०७५ मंगलबार १७:५७:४६ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीका हात्ती पीडित नागरिकले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।

एक महिनाको अन्तरालमा  जंगली हात्तीले १९ घर भत्काउनुका साथै झण्डै ५ बिगाहा जग्गामा लगाएको अन्न र तरकारी  बाली नष्ट गरेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख  माधवप्रसाद देवले जानकारी दिनुभयो । 

पर्सा वन्यजन्तु आरक्षणबाट आएका जंगली हात्तीले लालबन्दी नगरपालिका  र ईश्वरपुर नगरपालिकाको विभिन्न वडामा दुःख दिने गरेको छ । दिउँसो जंगलमा बस्ने हात्तीले रातको समयमा गाउँमा  पसेर   घर भत्काउनुका साथै अन्नबाली नष्ट पारेको  पत्थरकोटका स्थानीय नारायण मगरले गुनासो गर्नुभयो । 

तीन वटाको संख्यामा रहेको जंगली हात्तीले  अन्न र तरकारी बाली कुल्चिएर   नष्ट पारे पनि अहिलेसम्म आफूहरुले कुनै राहत नपाएको र राति  राम्रोसँग सुत्न नपाएको  गौरीशंकरका राजु आलेले गुनासो गर्नुभयो । अहिलेसम्म हात्तीबाट पीडित भएका २ जनाले क्षतिपूर्तिको लागि निवेदन दिएको र अन्यको पनि क्षतिपूर्तिको लागिनिवेदन आउने क्रम जारी रहेको डिभिजन  प्रमुख  देवले जानकारी दिनुभयो । 

जंगली हात्तीले क्षति पुर्याएका घर अन्न बाली तरकारीको क्षतिपूर्ति लिनका लागि स्थानीय निकाय र सामुदायिक वनको सिफारिससहित लालपुर्जाको फोटोकपी पेश गरेपछि स्थलगत अनुगमन गरी पीडितलाई दस हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउने उहाँले जानकारी दिनुभयो । 

प्रत्येक वर्षको हिउँदको समयमा  आरक्षणबाट जंगली हात्तीले आएपछि स्थानीयलाई जंगल गएर घाँस दाउरा  गर्नसमेत मुस्किल परेको छ । 

सर्लाहीको जंगलमा हात्तीलाई बस्ने बास र खाने आहार पर्याप्त भएकाले पनि लामो समय सम्म जंगली हात्ती सर्लाहीको जंगलमा बस्ने गरेको छ । धेरै दिनदेखि हात्तीलाई पर्सा वन्यजन्तु आरक्षणतर्फ फर्काउने प्रयास गरे पनि  अहिलेसम्म फर्काउन सकिएको छैन ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया