काठमाण्डौ – नेपालको कृषि क्षेत्र दीर्घकालीन संरचनागत समस्या, नीति कार्यान्वयनमा कमजोर अवस्था र बदलिँदो भू–राजनीतिक सन्दर्भसँग जुधिरहेको छ । कृषिका यी अनेक चुनौतीको समाधानमा केन्द्रित रहेर तयार गरिएको पुस्तक ‘एग्रीकल्चर सेक्टर ट्रान्सफर्मेसन इन नेपाल’ हालै विश्वप्रसिद्ध प्रकाशन गृह ‘स्प्रिङ्गर नेचर’ द्वारा विश्वव्यापी रूपमा प्रकाशित गरिएको छ ।
पुस्तकका सम्पादकहरू डा. दिनेश पाण्डे, डा. विष्णुराज उप्रेती, डा. प्रभात खनाल र डा. जगदीश तिम्सिनाका अनुसार नेपालमा कृषि क्षेत्रमा परम्परागत स्वरुप र शैली, कमजोर संस्थागत ढाँचा, दक्ष जनशक्ति र प्रविधिको अभाव, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताजस्ता समस्याको निरन्तरता छ ।
कुल जनसंख्याको झन्डै ६२ प्रतिशत नागरिक कृषिमा संलग्न भए पनि राष्ट्रिय आम्दानीमा यसको योगदान २४ प्रतिशतभन्दा कम हुनु, खेती किसानी गर्नेहरुको लागत उच्च र प्रतिफल कम हुनु कृषि क्षेत्रमा संकटको स्पष्ट उदाहरण रहेको भन्न सकिन्छ ।
पुस्तकले उठाएको विषयवस्तु र सन्देश
कृषि केन्द्रित यो नयाँ पुस्तकले राजनीतिक परिवर्तन, क्षेत्रीय भू–रणनीतिक दबाब, प्राविधिक कमजोरी र कमजोर शासन व्यवस्थालाई नेपालको कृषि विकासका प्रमुख अवरोधका रूपमा व्याख्या गरेको छ । यसले कृषिमा व्यापक पुनर्संरचना, ठोस राजनीतिक प्रतिबद्धता, नयाँ संस्थागत र कानुनी ढाँचा र सुशासन सुधार अपरिहार्य भएकोमा जोड दिएको छ ।
साथै, दुई छिमेकी भारत–चीनबीचको बदलिँदो भू–राजनीतिक सन्दर्भमा नेपालले सन्तुलित नीति अपनाएर कृषिमा स्वाधीनता सुनिश्चित गर्नुपर्ने सिफारिस समेत पुस्तकमार्फत् गरिएको छ । डा. दिनेश पाण्डेका अनुसार ‘अब पनि सतही सुधारले मात्र कृषिमा परिवर्तन सम्भव छैन । पूर्ण कृषि रूपान्तरणको ढाँचा र कार्यान्वयन अबको आवश्यकता हो ।’
कृषि केवल खाना उत्पादन होइन, यो ग्रामीण अर्थतन्त्र, रोजगारी र दीगो भविष्य निर्माणको मेरुदण्ड रहेको डा. पाण्डे बताउनुहुन्छ ।
पुस्तकको विषयवस्तु र संरचना
झन्डै डेढ वर्षको अध्ययन, छलफल र सहकार्यपछि तयार भएको ‘एग्रीकल्चर सेक्टर ट्रान्सफर्मेसन इन नेपाल’ पुस्तकमा ६१ जना लेखक, ३७ जना समिक्षक र दर्जनौँ किसान तथा कृषि विज्ञका विचारहरु संकलित छन् ।
पुस्तकका २४ अध्याय वैज्ञानिक प्रमाण र नीति–आधारित रणनीतिमा आधारित छन्, जसले शिक्षा, अनुसन्धान, शासन, उत्पादन प्रणाली र बजार सुधारका विषयहरूलाई समेटेको छ । पुस्तक चार मुख्य खण्डमा प्रस्तुत छ ।
१, नीति र सुशासनः विगतका नीतिहरू किन असफल भए भन्ने विश्लेषण र नयाँ ‘छाता नीति’ को प्रस्ताव ।
२, शिक्षा, अनुसन्धान र विस्तारः विश्वविद्यालयमा कृषि उद्यम केन्द्र, डिजिटल विस्तार प्रणाली र बजारमुखी पाठ्यक्रमको आवश्यकता ।
३, बाली–विशेष रणनीतिः तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, माछा, रबरजस्ता क्षेत्रलाई व्यावसायिक र निर्यातमुखी बनाउने योजना ।
४, कृषि–खाद्य प्रणाली (खेतदेखि थालसम्म): उच्च मूल्यका उत्पादन (कफी, चिया, जडीबुटी) लाई प्रमाणीकरण र ब्रान्डिङमार्फत अन्तर्राष्ट्रिय बजारमा पुर्याउने रणनीति ।
यो पुस्तकले नेपालको कृषि सुधारका लागि मात्र होइन, दक्षिण एशियाका विकासोन्मुख देशहरूमा खाद्य असुरक्षा, अनुसन्धान, नीति र भू–राजनीतिक चुनौतीसँग जुध्न सक्ने नीति–मार्गदर्शक नक्साको रूपमा समेत योगदान पुर्याउने उद्देश्य राखेको छ ।
नीति सिफारिस र मार्गचित्र
पुस्तकले नेपाल सरकारलाई तत्कालै उच्चस्तरीय कृषि पुनर्संरचना समिति गठन गर्न सिफारिस गरेको छ । जसमा विज्ञ, निजी क्षेत्र, अनुसन्धानकर्ता र किसान प्रतिनिधिको समावेश हुनेछ । यस समितिले दीर्घकालीन नीति, संस्थागत सुधार र कार्यान्वयन रणनीति तयार गर्नुपर्ने पुस्तकको सुझाव छ ।
डा. विष्णुराज उप्रेतीका अनुसार ‘महिलाको भूमिसम्मको पहुँच, वित्तीय स्रोत, सीप र जानकारीमा समान अवसरले उत्पादन र खाद्य सुरक्षामा ठूलो सुधार ल्याउन सक्छ र युवालाई उद्यमशीलतामा आकर्षित गर्न सकियो भने कृषि क्षेत्रमा नयाँ ऊर्जा आउँछ ।’ यो पुस्तक नीति निर्माता, अनुसन्धानकर्ता, किसान, व्यवसायी र विद्यार्थीलगायत सरोकारवालामाझ बहस र छलफलको साझा मञ्च बन्ने उद्देश्यले तयार गरिएको डा.पाण्डेले बताउनुभयो ।
पुस्तक अङ्ग्रेजी भाषामा प्रकाशित भए पनि केही अध्यायलाई नेपालीमा अनुवाद गर्ने काम भैरहेको छ । साथै, यसमा समेटिएका २४ अध्यायहरूको संक्षिप्त सारांश निःशुल्क डाउनलोड गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
पुस्तक लिङ्क
https://link.springer.com/book/10.1007/978-3-031-91717-2