मण्डलामा समलिंगी ‘साथीको कथा’

 पुस ४, २०७५ बुधबार १३:५१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – महिला समलिंगीको विषय उठान गरेको नाटक ‘साथीको कथा’ काठमाडौंमा मञ्चन हुने भएको छ । प्रख्यात भारतीय नाटककार विजय तेन्दुलकरको मराठी नाटक ‘मित्राची गोष्ट’को नेपाली अनुवाद ‘साथीको कथा’ शुक्रबारदेखि काठमाडौंको मण्डला थिएटरमा मञ्चन हुन लागेको हो । 

नाटकमा रेनुका कार्कीको निर्देशन रहेको छ । भारतमा निकै विवादास्पद भएको यो नाटक पहिलोपटक सन् १९८१ मा मञ्चन भएको थियो । यो नाटकलाई समलिंगी सम्बन्धका बारेमा मञ्चन गरिएको पहिलो भारतीय नाटकका रुपमा समेत लिइन्छ ।

सञ्चारकर्मी सागर चन्दले अनुवाद गरेको यो नाटक पहिलो पटक नेपालमा मञ्चन हुन लागेको हो । शुक्रबारदेखि मञ्चन सुरु हुने नाटक पुष २२ गतेसम्म मञ्चन हुने नाटकका नेपाली अनुवादक चन्दले जानकारी दिनुभयो । 

नाटकले त्रिकोणात्मक प्रेम कथामार्फत समलिंगी सम्बन्ध र यसका आयामलाई देखाउने प्रयास गरेको निर्देशक रेनुका कार्कीले बताउनुभयो ।

‘नेपाली समाजले अझै पनि समलिंगी सम्बन्धलाई स्वीकारेको छैन’, निर्देशक कार्कीले भनिन्, ‘लैगिंक पहिचान प्राकृतिक कुरा हो भन्ने बुझाउन यो नाटक सहयोगी बन्ने छ ।’

नाटकमा आयुस प्याकुरेल, सुस्मा निरौला, अनिल सुब्बा, शारदा अधिकारी र सूर्यमान लिम्बूको अभिनय रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया