नेभिगेशन
आइतबार, कात्तिक १५, २०८३

आन्दोलनका बेला लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह

प्रहरीले जाहेरी लिन नमानेकोमा आपत्ति

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन सरकारसँग माग गरेको छ ।

महासङ्घले आज विज्ञप्ति निकालेर आन्दोलनका नाममा भएको तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको हो । घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्ने मात्र नभई आर्थिक क्रियाकलापमै नकारात्मक असर पारेको महासङ्घले जनाएको छ ।

प्रहरीले घटनामा संलग्नहरूविरुद्धको जाहेरी नै नलिएको सदस्यहरूबाट गुनासो आइरहेको भन्दै महासङ्घले यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुनेतर्फ गम्भीर हुन सरकारसँग आग्रह गरेको छ ।

महासङ्घले औपचारिक आग्रह गर्दै गृह मन्त्रालयमा पत्राचार गरिसकेको समेत जनाएको छ । महासङ्घले निजी क्षेत्रको सुरक्षा प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति:
थप अर्थ