नेभिगेशन

सरकारी सरहको पारिश्रमिक पाउने सहमतिपछि आन्दोलनरत निजी अस्पतालका नर्स काममा फर्किए

काठमाण्डाै – उचित तलब सुविधाको माग गर्दै आन्दोलनरत निजी क्षेत्रबाट सञ्चालित अस्पतालका नर्सहरू सरकारसँगको सहमतिपछि काममा फर्किएका छन् ।

निजी मेडिकल कलेज र ठूला निजी अस्पतालबाट कात्तिक महिनादेखि नै पूर्णरूपमा सरकारी पाँचौं तह सरह अर्थात् मासिक ३४ हजार ७ सय ३० रुपैयाँं तलब दिलाउने सहमति भएपछि उनीहरू काममा फर्किएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नर्स र निजी मेडिकल कलेज तथा अस्पतालहरूसँग २३ बुँदे सहमति भएको बताउनुभयो । ठूला अस्पतालले तत्कालै र मध्यमले केही हप्ता वा केही महिनाको समय दिएर सरकारी तहको सेवा सुविधा दिने सहमति भएको छ ।

प्रवक्ता बुढाथोकीका अनुसार नर्सहरूको माग सम्बोधनका लागि तत्कालीन सरकारले गठन गरेको अध्ययन कार्यदलको समयावधि एक महिना थपिएको छ । थपिएको अवधिमा कार्यदलले निजी क्षेत्रबाट सञ्चालित सबै अस्पतालहरूको वर्गीकरण गर्नेछ ।

प्रवक्ता बुढाथाेकीले सहमति कार्यान्वयन नगर्ने निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

प्रकाशित मिति:
थप समाज