एक रुपैयाँ अभियानबाट वैदेशिक रोजगारीबाट प्रभावित ८५ बालबालिकालाई कपडा र शैक्षिक सामाग्री

 पुस ५, २०७५ बिहिबार १३:१२:२८

नवलपरासी – नवलपरासीमा एक रुपैयाँ अभियानले वैदेशिक रोजगारीबाट प्रभावित ८५ बालबालिकालाई कपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ । 

१८ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा नवलपरासीका सात वटै स्थानिय तहका वैदेशिक रोजगारीबाट प्रभावित ८५ जना बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो । 

दिवसका अवसरमा बर्दघाट, सुनवल र रामग्राम नगरपालिका तथा प्रतापपुर, सरावल, पाल्हिनन्दन, सुस्ता गाउँपालिकाका विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम र एक रुपैयाँ अभियान सञ्चालन गरिएको थियो । अभियानबाट सङ्कलित रकमले बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो । 

शैक्षिक सामाग्री बस्याल अटो मोबाइल्स बर्दघाटका सञ्चालक रुपक बस्यालले सहयोग गर्नुभएको थियो भने न्यानो कपडा प्रदेश सभासद् बैजनाथ जैसवाल, पाल्ही नन्दन गाउपालिका लगायत विभिन्न स्थानीय संघसंस्था र व्यक्तिले सहयोग गरेको आप्रवासी परिवार हकहित मञ्च बर्दघाट सुस्तापश्चिम नवलपरासीका अध्यक्ष बलबहादुर थापाले जानकारी गराउनु भयो । 

दिवसकै अवसरमा परासी बजारमा इन्दे्रणी सामाजिक बिकास मन्च नवलपरासीका सचिव बद्रि सुवेदिको अध्यक्षता, प्रदेश सभासद् बैजनाथ जैसवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभासद् जैसवालले विदेशमा कामदारले पाउनुपर्ने सम्मान नपाएको, समयमा घर फिर्ता हुन नसकेको, विभिन्न मुद्धामा फसाइएका, विदेशमा मृत्यु भएकाहरुका हकमा मञ्चले सहयोग गरेको भन्दै यस्ता काममा आफ्नो पनि सहयोग रहने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले स्वदैशमै युवालाई सीप सिकाउने र रोजगार हुन उत्साहित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुँवर, जिल्ला प्रहरी प्रमुख राजेन्द्र भट्ट, नागरिक समाजका प्रतिनिधि र विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो । 

इन्दे्रण्ीा सामाजिक विकास मन्चकी परियोजना संयोजक उमा पौडेलले सरकारले मृतक र अंगभंग भएका अभिभावकका बालबालिकालाई वैदेशिक रोजगार छात्रवृत्ति प्रदान गरेपनि श्रम अवधि सकिएपछि मृत्यु वा अंगभंग भएका, जेल बसेका, लामो समय परिवारको सम्पर्कमा नरहेका वा वेपत्ता भएका, भारतको बाटो प्रयोग गरी रोजगारीमा गएका अभिभावकका बालबालिकालाई यो सुविधा नदिएको भन्दै यसमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।

पाैडेलले एक रुपैयाँ अभियानमा धेरैले हजार रुपैयाँसम्म पनि सहयोग गरेकोले ८५ जना बालबालिकाका लागि सहयोग जुटाउन सम्भव भएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया