सशस्त्र युद्धका घाइतेहरु भन्छन्, ‘सम्मानपूर्वक बाँच्न पाइएन’

 पुस ६, २०७५ शुक्रबार १८:२७:३ | बेदानन्द जाेशी
unn.prixa.net

देश बनाउँछु भनी हिँडेको लडाकुलाई सशस्त्र युद्धमा घाइते भएर आफ्नो मातृत्व क्षमता नै गुमाउनुपर्दाको पीडा कस्तो होला ? जाजरकोटकी पार्वती कुवँरले त्यो पीडा भोगिरहनुभएको छ । 

जुन दिन ‘देशको लागि ज्यान दिने हामी नेपाली..’ भन्ने गीत सुन्नुभएको थियो, त्यही दिन उहाँले निधारमा रातो कपडा बाँध्नुभयो, हातमा राइफल भिर्नुभयो, अनि देश बनाउने भनेर हिँड्नुभयो माओवादीको सशस्त्र युद्धका लडाकुहरुसँगै ।

उहाँ पढने विद्यालयमा आएको माओवादीको साँस्कृतिक टोलीसँगै उहाँ पनि गरिबको पेट भोको नहोस् भनेर सशस्त्र युद्धमा होमिनुभयो । 

उहाँलाई त्यतिबेला लागेको थियो, म देशको लागि रगत बगाउनेछु, जसले गर्दा मेरा भावी पुुस्ताले रगत बगाउनु नपरोस् । तर जनयुद्धताका लागेको उहाँको पेटको घाउ अहिलेसम्म ताजै छ । देशको राजनीतिक परिवर्तनको एक युग बित्यो, तर पार्वती कुवँरको पीडामा भने मलमपट्टी पनि लाग्न सकेन । 

यस्तै देशमा छुवाछुतको अन्त्य र मान्छेलाई मान्छेजस्तै बाँच्न पाउनुपर्छ भनेर ज्यान हत्केलामा राखेर लड्नुभएका नरवीर दमाईका दुवै खुट्टा उतिबेलाको माओवादी सशस्त्र युद्धमा लड्दालड्दै भाँचिए । तर ती भाँचिएका खुट्टा निको पार्न राज्यले दिने ओखती(राहत) समेत उहाँले पाउनुभएन । अहिलेको जातीय भेदभावमुक्त समाज निर्माण गर्न उहाँले आफ्ना खुट्टा गुमाउनुभयो । तर सरकारले भने उहाँमाथि न्याय गरेन । 

अहिले त्यही न्याय माग्न उहाँ लगायत सशस्त्र युद्धका घाइते तथा अपांग संघर्ष समितिका ६ जनाको टोली आमरण अनसनमा बसेको छ । अनसन बस्दा स्वास्थ्य अवस्था बिग्रिएका कारण उहाँहरुलाई वीर अस्पतालमा राखिएको छ ।

अनसन बस्नेहरुमा दैलेखका नरवीर दमाई, जुम्लाका वीरबहादुर परियार, कालिकोटका संग्राम सार्की, मकवानपुरका मंगल सिंह प्रजा, बर्दियाका शिलाचन्द्र कामी र कालीकोटका मन दर्जी हुनुहुन्छ । 

उहाँहरु सबै सशस्त्र युद्धका घाइतेहरु हुनुहुन्छ, जसको त्यतिबेला लागेको घाउ अहिलेसम्म पनि निको भएको छैन । उहाँहरुको नेतृत्व कमाण्डर युवराज बि.क. ले गरिरहनुभएको थियो । तर उहाँलाई पनि अहिले जेलमा राखिएको छ । 

सरकारले झूटो आरोप लगाएर युवराजलाई हिरासतमा लगेको बताउनुहुन्छ, सशस्त्र आन्दोलनका घाइते तथा पूर्वी प्लाटन कमाण्डर मुगुका विष्णु कार्की । उहाँ भन्नुहुन्छ, ‘गृह मन्त्रालयमा पूर्व लडाकू कुलप्रसाद भट्टराईले विष खाएको मुद्धा युवराजमाथि लगाएर यो मागलाई तुहाउनुपर्छ भन्ने सरकारी चटकबाजी मात्र हो ।’

यसकारण अनसन

अपाङ्गता भएका सशस्त्र युद्धका घाइतेहरुलाई विभिन्न सेवाहरु दिनुपर्ने भन्दै मंसिर १३ गते गृहमन्त्रालयका स्वकीय सचिवसँग एउटा लिखित सम्झौता भएको थियो ।

तर पछि गएर स्वकीय सचिवसँग गरेको सम्झौता वैधानिक तथा आधिकारिक भएन भन्दै कार्यान्वयन नगर्ने पक्षमा माथिल्लो तहबाट आदेश आयो । त्यसपछि मंसिर २७ गते माइतीघर मण्डलामा आमरण अनसन बस्ने निर्णय भएको कार्कीले बताउनुभयो ।

‘मंसिर २७ गतेका दिन हामीहरु कठ्याङ्ग्रिने जाडोमा अनसन बसेका थियौं । तर दुई गतेका दिन गृहमन्त्रालयको ठाडो आदेशमा हामीहरुलाई त्यहाँबाट वीर अस्पतालमा ल्याएको हो’ अनसनरत जुम्लाका वीरबहादुर परियारले बताउनुभयो ।

पीडितको माग 

आन्दोलनरत पूर्व लडाकुहरुले गणतन्त्रको सेनानीसहितको घाइते अपाङ्गता परिचयपत्र राजपत्रमा उल्लेख गरी प्रदान गरिनुपर्ने तथा जनआन्दोलनका घाइतेहरुलाई समय सान्दर्भिक जीवन निर्वाह भत्ताको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् ।

यस्तै सशस्त्र युद्धको क्रममा घाइतेहरुलाई तत्कालै औषघी तथा उपचार गर्नुपर्ने तथा घाइते भएका परिवारका बालबच्चालाई निःशुल्क उच्च शिक्षा र रोजगारीको व्यवस्था गरिनुपर्ने माग पनि छ ।

आफ्ना मागहरु नीतिगत रुपमा कार्यान्वयन हुनुपर्ने र एकपटक आर्थिक सहयोग गरेर मात्र  नपुग्ने सशस्त्र युद्धका घाइते शीलाचन्द्र कामीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘अहिलेसम्म हामीहरुलाई बच्चालाई चक्लेट दिएर फकाएजस्तो भएको छ । सेना समायोजनको बेला जति दियो त्यति नै हो, पछि कुनै पनि प्रकारको सहयोग भएको छैन ।’ 

कहिँ कतैबाट सशस्त्र जनआन्दोलनका घाइतेको लागि भनेर आएको रकम पनि बिचौलियाहरुले आफूहरुलाई जानकारी नै नदिई खाने गरेको उहाँको गुनासो छ ।

सामान्य जीवनयापन गर्न समस्या 

‘कुर्सीमा बसिसकेपछि सत्ताको भूत चढ्दो रहेछ, युद्धमा हामीलाई लडाउनेहरु अहिले सत्तामा छन् । तर लड्नेहरु भने अस्पतालको बेडमा छौं’ सशस्त्र जनयुद्धकी घाइते दिलमाया बुढामगर भन्नुहुन्छ ।

‘देशमा समानता ल्याउन, एकतन्त्रीय राजसत्तात्मक व्यवस्थाको अन्त्य गर्न हामीहरु आफ्नो ज्यानको बाजी लगाएर लड्यौं तर अहिले आएर हामी आफैले के पायौं ?’ उहाँले प्रश्न गर्नुभयो ।

उहाँ सेनासँगको मुठभेडमा गोली लागेर घाइते हुनुभएको थियो । त्यसपछि राम्रो उपचार नपाएर उहाँको शरीरको गोली लागेको भागतिर नचल्ने भयो, अर्थात शरीरको एक भागमा प्यारालाइसिस भयो । अहिले उहाँ अर्काको सहारामा कष्टकर जीवनयापन गरिरहनुभएको छ । 

उहाँ भन्नुहुन्छ, ‘विद्रोही पक्ष भए पनि हामीहरुले लडेका कारण नै देशमा राजतन्त्रको अन्त्य भयो, जातीय समानता आयो । तर अहिले त्यही सिपाही समाजमा छि: छि: र दूरदूर को अवस्थामा अरुको दयाको पात्र बनेर बाँच्नुपरेको छ ।’

‘सरकारले मध्यमार्गी बाटो रोजेर जाउँ भन्ने कुरा गरेको छ जुन बाटो उहाँहरुकै स्वार्थमा छ’, विष्णु कार्की भन्नुहुन्छ, ‘अनसन बसेका साथीहरुलाई राहतको व्यवस्था गरौं, बाहिर रहेका घाइते अपाङ्गता भएका व्यक्तिहरुको पनि उपचार गरिदिएर यहीँ समस्याको हल गरौं भन्ने सरकारको भनाई छ ।’

तर यसलाई नीतिगत रुपमा नलैजाँदासम्म आन्दोलन नछाड्ने उहाँले बताउनुभयो ।
 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया