फेसबुक प्रेमले निम्त्याएको समस्या : पाकिस्तानी जेलमा ६ वर्ष

 पुस ७, २०७५ शनिबार ७:८:४२ | रासस
unn.prixa.net

“फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा ६ वर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताए । 

सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एकजना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेका भारतीय इन्जिनियर हमिद नेहाल अन्सारीले बताए । 

तर सामाजिक सञ्जालमार्फत आफूले प्राप्त गरेको ठेगाना पछ्याउँदै अन्सारी पाकिस्तानी किशोरीको घरमा पुग्दा त्यहाँ पाकिस्तानी प्रहरी तैनाथ थिए र उहाँलाई त्यहीँबाट पक्राउ गरियो । उनलाई पछि जासूसी गरेको र नक्कली कागजात बनाएको अभियोगमा ६ वर्षको जेल सजाय तोकियो । 

“अपरिचित व्यक्तिसँग भावनामा नडुब्नुस् र फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत् ‘माया जाल’ मा नफस्नुस् ,” अन्सारीले आफू रिहा भई भारत फर्केको तीन दिनपछि एएफपीसँगको कुराकानीमा भने । 

पाकिस्तानी जेलमा ६ वर्षको बसाइपछि मङ्गलबार घर फर्किएका इन्जिनियर अन्सारीले भारतीय सीमानामा पुगेपछि भावुक मुद्रामा आफ्नी आमासँग गलामा गला जोडेको र जन्मभूमिलाई पुरै घोप्टो परेर ढोगेको श्रब्यदृश्य स्थानीय सञ्चारमाध्यमहरूले उच्च महत्वका साथ प्रशारण गरेका छन् । उक्त दृष्य सामाजिक सञ्जालमा पनि ‘भाइरल’ बनेको छ । 

“निर्वासित हुन पाउनु मेरो जीवनका लागि सबैभन्दा खुशीको क्षण भएको छ,” तेत्तीस वर्षीय अन्सारीले मुम्बईस्थित आफ्नो घरबाट फोनमा बताए । उनले भने, “अब मैले एउटा व्यवसाय सुरु गर्छु । विवाह गर्छु । आफ्नो र परिवारको सुखमा रमाउँछु । मलाई थप सामाजिक बन्नु छैन ।” 

क्षेत्रीय प्रतिस्पर्धी भारत र पाकिस्तानबीच सन् १९४७ मा बेलायतबाट उनीहरू स्वतन्त्र भएपछि तीन ठूला युद्ध भएका छन् । उनीहरूले फरक फरक समय र परिस्थितिमा एक अर्काका नागरिकलाई जासूसी आरोपमा पक्राउ गर्ने र थुन्ने बिषय सामान्यजस्तै देखिँदै आएको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया