माथ्लोघरका हजुरबा कसका मात्रै बाउ !

 पुस ७, २०७५ शनिबार ९:३:२७ | मिलन तिमिल्सिना
unn.prixa.net

सन्तानले डाँडाकाँडा ढाकोस् भनेर आशीर्वाद थाप्ने जमानाका मान्छे भएर पनि हजुरबाका जम्मा पाँच सन्तान । तीन छोरा, दुई छोरी । छोराहरुलाई पढेलेखेकी बुहारीले पत्याए, अनि छोरीहरुलाई पनि पढेलेखेकै ज्वाईं परे भनेर हजुरबा त्यसैत्यसै मख्ख छन् ।

तर माथ्लोघरका हजुरबालाई सधैं एउटा चिन्ताले पिरोलिरहन्छ, त्यो हो– आफू कसको मात्रै बाउ ? यसले पनि बा भन्छ, उसले पनि बा भन्छ । बाउ भन्नु पर्नेले पनि बा भन्छ, बाउ भन्न नपर्नेले पनि बा नै भन्छ । पहिले छोराछोरीले मात्र बा भन्थे । आफ्ना पाँच सन्तानले त बा भन्ने नै भए ।

बुढा पहिले आफ्ना पाँच सन्तानका मात्रै बा । सबै छोराछोरीको बिहे भयो । त्यसपछि बुढालाई बा भन्नेहरुको ताँती लाग्न थाल्यो । छोरीलाई लाने ज्वाईंले पनि बा नै भनेर बोलाउन थाले । छोराले ल्याएका बुहारीहरुले पनि बा नै भनेर ढोग्न थाले । 

ज्वाईंसित गएका छोरीहरुले छोराछोरी पाए । बुहारी भित्र्याएका छोराहरुका पनि छोराछोरी भए । बुढा नातिनातिनाका समेत धनी भए । नातिनातिनाका बोली फुट्न थालेपछि उनीहरुले पनि बा नै भनेर बोलाउन थाले । 

बाको बा र उता मावलतिर आमाको बालाई त आफूले हजुरबा हजुरआमा भनेर बोलाइन्छ । श्रीमतीको बाउलाई पनि ससुराबा भन्ने गरिन्छ । अनि आफ्नो बाउलाई श्रीमतीले पनि ससुराबा भनेर बोलाउँछिन् । तर आफूलाई चाहिँ सबैले बा मात्रै भन्छन् । न नातिनातिनाले बाको अघिल्तिर हजुर जोड्छन् । न ज्वाईं र बुहारीहरुले ससुरा भन्छन् ।

छोराछोरीले पनि बा, बुहारीले पनि बा, ज्वाईंले पनि बा, नातिनातिनाले पनि बा । कहिलेकाहीँ बुहारीका दिदीबहिनी र दाजुभाइ घरमा आउँछन् । उनीहरुले पनि बा नै भनेर बोलाउँछन् । अनि ज्वाईंका दाजुभाइ र दिदीबहिनीसँग पनि कहिलेकाहीँ भेट हुन्छ । उनीहरुले पनि बा नै भन्छन् । 

हुँदाहुँदा बाटोमा भेटिएका नचिनेका मान्छेले पनि बा फलानो ठाउँमा जाने बाटो कता हो भनेर सोध्छन् । ल ठीकै छ, कहिलेकाहीँ भेट हुनेले त बुढा मान्छेलाई बा नै भनेर बोलाए रे । तर सधैं भेट भैरहने छोराबुहारी र नातिनातिना सबैले बा भनेर बोलाएपछि आफू कसको चाहिँ बाउ, कसको चाहिँ नबाउ भनेर बुढा अलमलमा परेका छन् । 

बुहारीलाई बाको अघिल्तिर ससुरा झुण्ड्याएर बोलाउन अप्ठ्यारो हुन नपर्ने हो । अनि नातिनातिनालाई बाको अगाडि हजुर झुण्ड्याएर हजुरबा भनेर बोलाउँदा मज्जै हुनुपर्ने हो । तर उनीहरुका बाउआमाले आफूलाई ड्याडी र बाबा, ममी र मम भनेर सिकाए । अनि आफूलाई भन्नुपर्ने बा र आमा चाहिँ हजुरबा र हजुरआमातिर सारिदिए । यो सबै छोराबुहारीकै गल्ती हो भन्ने निष्कर्ष बुढाले निकाले । तै पनि मलाई बा नभन भनेर भन्ने आँट चाहिँ बुढाले गर्न सकेका छैनन् ।

अरुबेला त सबैले बा भन्दा पनि त्यति फरक पर्दैन । तर चाडपर्व र काजकर्ममा घरका सबै मान्छे सँगै भएको बेलामा चाहिँ बुढालाई अप्ठ्यारो पर्छ । छोराछोरीले बा यसलाई के गर्ने भनेर सोध्न नभ्याउँदै बुहारीले भन्छिन्– बा यसलाई यता राखेको छु है । उतिखेरै नातिनातिना झ्याम्मिंदै आउँछन् र गोजी छाम्दै भन्छन् – बा चकलेट किन्ने पैसा दिनुस् न । त्यहीबेला कुर्सीमा गमक्क परेर बसेको ज्वाईंले बात गर्ने मेलो सुरु गर्छ – अनि बा हजुरको प्रेसर हिजोआज कस्तो छ ?

अहिलेसम्म त प्रेसर ठीकै थियो, तर सबैले एकैपटक बा भनेर बोलाउन थालेपछि चाहिँ बुढाको प्रेसर बढ्न थाल्छ । किन मलाई बा भनेको भनेर सोध्न पनि नमिल्ने, अबदेखि बा नभन भनेर हप्काउन पनि नमिल्ने । 

जसले पनि बा भनेर बोलाउन थालेपछि बाको परिभाषा नै फेरिएको हो कि भन्ने आशंका बुढालाई लाग्यो । हत्तपत्त शब्दकोष पल्टाएर हेरे – ‘बा भनेको बाबु, बुवा, पिता । आफूलाई जन्माउने व्यक्ति । कानुन अनुसार धर्मपुत्र राख्न पाउने व्यक्ति ।’

यो परिभाषाअनुसार त आफूले जन्माएका पाँच सन्तानले मात्र आफूलाई बा भन्न पाउँछन् । अरुले पनि बा भन्ने हो उनीहरुलाई आफूले धर्मपुत्र या धर्मपुत्री राखेको हुनुपर्छ । तर न ज्वाईं धर्मपुत्र, न बुहारी धर्मपुत्री । न नातिनातिना आफूले जन्माएको व्यक्ति । 

कुरा केलाउँदै, खोतल्दै जाने हो भने आफूलाई बा भनेर बोलाउनेसँगको नातासम्बन्धमै अरुले पनि शंका गर्ने डर ! त्यसैले यसमा धेरै दिमाग खियाउनुभन्दा कसैले बा भनेर बोलाउँदा हँ भन्नुमै ठीक लागेर माथ्लोघरका हजुरबा अहिलेसम्म चुप नै छन् । हजुरबा मात्रै होइन, हजुरआमाको व्यथा पनि उस्तै छ । हजुरआमाको कुरा चाहिँ अर्कोपटक गरौंला । हजुरबाको व्यथा तपाईंसँग पनि मिल्यो भने मःम भन्नुहोला ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • पुरूषोत्तम शरण

    Dec. 22, 2018, 5:21 p.m.

    यो कुरो कोई एक जना बुबा को मात्र होइन अन्य थुप्रै पिता को हो यदि अब सुधार नगरे अगाडि का बच्चा हरुलाई हजुरबुवा भनेको के हो भन्ने कुरा पनि थाहा पाउने छैनन् धेरै राम्रो लाग्यो यो लेख

  •  0 Reply

तपाईको प्रतिक्रिया