रुकुम सदरमुकामका अधिकांश मासु पसल दर्ता बिनै सञ्चालनमा

 पुस ९, २०७५ सोमबार १७:२७:६ | राजु लामिछाने
unn.prixa.net

रुकुम –  रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा खोलिएका अधिकांश मासु पसल अवैध रहेको पाइएको छ ।

सदरमुकाम क्षेत्रका सल्ले र बाग बजारमा गरिएको अनुगमनका क्रममा एउटा मासु पसल मात्र दर्ता भएको पाइएको छ । मुसीकोट नगरपालिकाको नेतृत्वमा गरिएको अनुगमणका क्रममा सल्ले र बागबजारका १४ वटा पसलमा अनुगमन गरिएकमध्ये एउटा मात्र पसल दर्ता गरिएको पाइएको अनुगमन समितिका संयोजक तथा मुसीकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनारले जानकारी दिनुभयो । अधिकांश पसलहरु अवैध रहेको भेटिएको उहाँको भनाई छ ।

पसल नै दर्ता नगरेको, बोर्ड तथा मूल्य सूची नराखेको, सरसफाइमा ध्यान नदिएको, खाद्यान्न पसल र मासु पसल एकै ठाउँमा राखिएको जस्ता त्रुटिहरु भेटिएको उपप्रमुख सुनारले बताउनुभयो । अनुगमणका क्रममा अधिकांश मासु पसल अवैध रहेको भेटिएपछि नगरपालिकाले मासु पसललाई बैधानिक बनाउनका लागि एक हप्ताको समय दिएको छ ।

एक हप्तासम्म पनि पसल संचालनको प्रक्रिया पूरा नगरे बन्द गरिदिने नगरपालिकाले चेतावनी दिएको छ । ‘१४ वटा पसल अनुगमन गरिएकामा एउटा मात्र पसल दर्ता भएको भेटिएको छ’, उपप्रमुख सुनारले भन्नुभयो, ‘एक हप्ताभित्रमा दर्ता लगायतका प्रक्रिया पूरा गर्न भनेका छौं, तोकिएको समयमा प्रक्रिया पूरा नगर्ने पसललाई बन्द गरिने छ ।’

मासु पसलले उपभोक्ताको स्वास्थ्यलाई ख्याल नगरेको अनुगमण टोलीको निष्कर्ष छ ।
 

अन्तिम अपडेट: चैत २१, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया