दाङ बस दुर्घटनाका घाइते ६ जना डिस्चार्ज, ५ जनाको आईसीयूमा उपचार हुँदै

 पुस १०, २०७५ मंगलबार ८:३४:५ | हेमराज शर्मा

दाङ – तुलसीपुरको राम्रीमा गएको शुक्रबार भएको बस दुर्घटनामा घाइते भएका शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीका  १३ विद्यार्थीमध्ये ६ जना डिस्चार्ज भएका छन् । घाइते पाँच जनालाई आईसीयूमा राखेर उपचार गरिएको छ । अन्य दुईजना वीर अस्पतालको ट्रमा सेन्टरकै इमरजेन्सीमा राखिएको छ ।

घाइते जुम्लाकी हिमाली हमालको  बाँकेको कोहलपुरबाटै डिस्चार्ज गरिएको थियो भने काठमाडौंमा थप पाँच जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा अछाम मंगलसेनका विक्रम भण्डारी, जुम्ला चन्दननाथका कुसेन्द्र खत्री, रुकुम त्रिवेणीका प्रेमबहादुर खड्का, टीकापुर कैलालीकी समीक्षा रोकाय र चन्दननाथ जुम्लाकी वर्षा रोकाया रहनुभएको छ ।

उनीहरुमध्ये विक्रम भण्डारी आफन्तसँग बसेको र बाँकी चार जनालाई सीटीईभीटीको प्रशिक्षण केन्द्रको गेष्ट हाउसमा राखिएको शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो ।

बाँकी घाइतेमध्ये जुम्ला चन्दननाथका जीवन भण्डारी, रुकुम सानीभेरीकी रेजिना पुन, रोल्पा परिवर्तन गाउँपालिकाका प्रकाश ओली र दाङ बंगलाचुली गाउँपालिका स्यूजाकी मेनुका रिजाललाई ट्रमा सेन्टरको आइसियूमा राखिएको छ भने अछाम मंगलसेनका युवराज ढुंगानालाई शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा राखिएको छ ।

त्यस्तै रुकुम सानीभेरीका राजन डाँगी र अछाम मंगलसेनका भद्र बिष्टलाई ट्रमा सेन्टरको इमरजेन्सीमा राखेर उपचार भइरहेको गौतमले जानकारी दिनुभयो । अर्का घाइते गाडी स्टाफ दाङको सञ्जय खनालको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।

गएको शुक्रबार सल्यानको कपुरकोट मूलपानीमा अध्ययन अवलोकन गरी फर्कने बेला दाङको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक विद्यार्थी चढेको गाडी राम्रीमा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो दुर्घटनामा १४ जना घाइते भएका थिए । गम्भीर घाइतेहरलाई शनिबार नै उपचारका लागि काठमाडौं लगिएको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया