भारतीय लगानीमा निर्माण गर्न लागिएकाे प्रसूति गृहको ठेक्का रद्द गरिँदै

 पुस १०, २०७५ मंगलबार ८:४३:४५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – भारतीय लगानीमा सप्तरीको राजविराजमा रहेको सगरमाथा अञ्चल अस्पतालमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गर्न प्रकृया सुरु भएको छ ।

वर्षौँ बितिसक्दा पनि ठेकेदार कम्पनीले निर्माणको काम नसकेपछि ठेक्का रद्द गर्न लागिएको हो । भारतीय दूतावासमा ठेक्का रद्द गर्ने फाइल पेश गरिएको अस्पताल स्रोतले जनाएको छ । 

जम्मा २ करोड २३ लाख ४४ हजार रुपैयाँमा ठेक्का लागेको प्रसूति गृह निर्माणको काम २०६६ सालमा सम्पन्न गर्नुपर्ने थियो । निर्माण कम्पनीले चासो नदेखाएपछि ठेक्का रद्द गरेर नयाँ प्रकृया सुरु गर्न लागिएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । 

उहाँका अनुसार पुरानो ठेक्का रद्द गरी स्वास्थ्य मन्त्रालयको बजेटबाट भवन निर्माणको काम सम्पन्न गरिने छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत अधुरो काम सम्पन्न गर्ने गरी ठेक्का आह्वानको तयारी भैरहेको छ ।

डिभिजन कार्यालयका प्रमुख रमेश थिङ्गले प्रसूति गृहको अधुरो भवन सम्पन्न गर्नका लागि ठेक्का लगाउने तयारी भैरहेको बताउनुभयो । बजेट आउने निश्चित रहे पनि आएपछि मात्र ठेक्का लगाएर काम सुरु गरिने उहाँले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: बैशाख १०, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया