पूँजी बजार र बैंकहरुमा देखिएको समस्या समाधानको प्रकृयामा छ : राष्ट्र बैंक

 पुस १०, २०७५ मंगलबार १८:१७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – नेपाल राष्ट्र बैंकले पूँजी बजार र बैंकहरुमा देखिएको समस्या समाधानको प्रकिया अगाडि बढाएको बताएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले पूँजी बजार र बैंकहरुमा देखिएको समस्या समाधानको लागि बनेको कार्यदलबाट आएको सबै सुझावहरुलाई कार्यान्वयन तहमा लैजाने तयारी भएको बताउनुभएको हो । गभर्नर नेपालले केन्द्रीय बैंकको पहलमा बैंकहरुले ब्याज दर घटाउन भद्र सहमति गरेको पनि बताउनुभयो ।

उहाँले वित्तीय संस्थालाई नैतिक दवाव दिएर ब्याजदर नियन्त्रणमा लिएको बताउनुभयो । समितिमा गभर्नर नेपालले शेयर बजारसँग सम्बन्धित निर्देशनहरु एक दुई दिनमै जारी गर्ने तयारी गरेको पनि बताउनुभयो । उहाँले बैंकहरुलाई शेयर ब्रोकरको काम गर्न दिने व्यवस्था चाँडै गरिने भन्दै बैंकको प्राथमिक पूँजी र निक्षेपको निश्चित प्रतिशत रकम ऋणपत्र बजारमा लैजाने व्यवस्था मिलाउन लागेको समेत बताउनुभयो ।

त्यस्तै समितिमा अर्थ मन्त्रालय सचिव राजन खनालले पूँजी बजार र वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकिएको बताउनुभएको छ । उहाँले सरकारको खर्च व्यवस्थापन, त्यसले बजारमा पारेको प्रभाव र पूँजी बजारबारे अध्ययन गर्न समिति बनाएको जानकारी दिँदै त्यसको सुझाव कार्यान्वयका लागि निर्देशन दिइएको बताउनुभएको हो ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पूँजी बजार र वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठन गरेको कार्यदलले गएको बुधबार नै प्रतिवेदन बुझाएको थियो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया