सुवास पुनका परिवारले सुवासको शव एक हप्तापछि बुझे

 पुस १०, २०७५ मंगलबार १९:१३:२१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराही उपमहानगरपालिका-१३ तुरुन्तपुरका सुवास पुन मगरको शव आफन्तले बुझेर मंगलबार दाहसंस्कार गरेका छन् ।

कार्तिक ३० गते साथीहरुसँग प्यूठानको स्वर्गद्वारी घुम्न गएर बेपत्ता  भएका पुनको शव पुस २ गते फेला परेकाे थियाे । 

घोराही उपमहानगरपालिका—१९ को जंगलमा मृत अवस्थामा फेला परेका पुनका परिवारले घटना शंकास्पद रहेको भन्दै आठ दिनसम्म बुझेका थिएनन् । प्रहरीले घटनामा संलग्न रहेको शंकामा चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको भन्दै कार्बाही प्रक्रियामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएपछि मंगलबार शव बुझेर दाहसंस्कार गरिएको जनाइएको छ ।

कार्तिक ३० गते स्वर्गद्वारी घुम्न गएका सुवास पुन मंसिर २ गतेदेखि परिवारको सम्पर्कमा थिएनन् । खोजी गरिरहेको समयमा सैघामा दाउरा संकलनका लागि जंगलमा गएका महिलाहरुले देखेपछि खबर गरेका थिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोष्टमार्टम भएपछि आफन्तले बुझेका हुन् ।

सुवासका आफन्तले चार जनाको नाममा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पुनको मंगलबार सेवारखोलामा अन्तिम दाहसंस्कार गरिएको परिवारजनले जनाएका छन् ।।

अन्तिम अपडेट: चैत १३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया