‘खड्गप्रसाद ओलीभन्दा म झण्डै एक फीट होचो राष्ट्रवादी थिएँ’

 पुस ११, २०७५ बुधबार ८:२:१३ | खगेन्द्र संग्रौला
unn.prixa.net

म किन राष्ट्रवादी होइन भन्ने विषय अत्यन्तै असजिलो छ । देशमा अहिले राष्ट्रवादको  मौसम छ । राष्ट्रवादको मौसमले यस्तो माहोल सिर्जना गरेको छ कि तपाई मौलिक र पक्का नेपाली बन्न पक्का राष्ट्रवादी बन्नै पर्छ । प्रचलित परिभाषामा जो राष्ट्रवादी होइन, त्यो त मान्छे पनि गनिँदैन । त्यसैले मेरो विषय धेरै असजिलो छ । म राष्ट्रवादी होइन, यसको उल्टो अराष्ट्रवादी वा अराष्ट्रिय हुन्छ । यी दुवै अर्थबाट सोच्ने हो भने त झनै असजिलो हुन्छ । 

एक समय थियो जब म पनि राष्ट्रवादी थिएँ । मेरा मित्र नारायणकाजी श्रेष्ठ हुनुहुन्छ । हामी एउटै दार्शनिक पाठशालाबाट हुर्केका मान्छे । एक समय थियो, खड्गप्रसाद ओली भन्दा म झण्डै एक फीट होचो राष्ट्रवादी थिएँ । मैले आफ्ना जीवनका अनुभवबाट सिक्दै आउँदा अहिलेको अवस्थामा म राष्ट्रवादी रहिनँ भन्ने लाग्यो । जे जे धारणाको आधारमा मान्छे राष्ट्रवादी हुन्छ, म त्यस्तो हुन सकिनँ । जुनबेला म राष्ट्रवादी थिएँ, मेरो राजनीतिक पाठशालाले दुई तीनवटा कुराले मलाई राष्ट्रवादी बनायो । पहिलो, नेपाली कांग्रेस र राजासँग कम्युनिष्टहरुको सम्बन्धबाट राष्ट्रवाद सुरु भयो । कम्युनिष्ट आन्दोलनमा कांग्रेस दिल्लीको दलाल हो भनिन्थ्यो । बीपी कोइराला लेन्डुप दोर्जे हुन् । तर राजा बन्न चाहिँ माटो चाहिने हुनाले राजा राष्ट्रवादी हो । कम्युनिष्टहरुको लागि राजा नजिक थियो, कांग्रेस टाढा थियो । 

दोस्रो, कुनै पनि कमजोर देशले आफ्ना अकर्णमण्यता, अयोग्यता, हीनता छोप्नका लागि शत्रुको रचना गर्थ्यो । हामीलाई शत्रु चाहिएको थियो । अहिले जस्तै त्यो बेला पनि राष्ट्रवादको अगाडि दुइटा शत्रु थिए । एउटा भारतीय विस्तारवाद थियो । अर्को मधेशी थियो । कम्युनिष्टको नजरमा दुइटै शत्रु थिए । हामी अहिले गणतन्त्रमा छौँ । गणतन्त्र भनेको सिंहासनमा राजा नहुनु भनेको मात्रै गणतन्त्र होइन । गणतन्त्र एउटा मूल्य प्रणाली हो । गणतन्त्रमा कुनै व्यक्ति जन्म, जात, नश्ल वा भाषाको आधारमा ठूलो सानो हुँदैन । तर यो जुन राष्ट्रवाद छ, यो राष्ट्रवाद वर्तमानभन्दा अतितमुखी छ । अतितमुखी राष्ट्रवाद भएको हुनाले यो प्रत्यक्ष रुपमा वंश, भाषा र धर्मसँग जोडिएको छ ।

गणतन्त्र नयाँ मूल्य प्रणाली हो । गणतन्त्रमा व्यक्ति वा समुदाय आफ्नो भाग्यको निर्माता आफै हुन्छ । राजतन्त्रमा भाविले छैँटीमा तपाईँको निधारमा लेखिदिएको हुन्छ । तिमी राजा हुने । राजाको जेठो छोरो स्वतः राजा हुन्छ । राजाको जेठो छोरो हुनु नै उसको सबै योग्यता हो । त्यस्तो अवस्थामा उ केही नगरी विवेकवान, गुणवान र क्षमतावान ठहरिन्छ । अहिलेको राष्ट्रवाद गणतन्त्रसँग मिल्दैन । यो गणतन्त्रको विपरीत कुरा हो । राजतन्त्रमा केही यस्ता मूल्यहरु हुन्छन् जसमा प्रश्न उठाउन पाइँदैन । राजा संविधानभन्दा माथि हुन्छ । कानुनभन्दा माथि हुन्छ । सबै प्रजाहरु उसको मातहतमा वशिभूत हुन्छन् । 

अहिलेको राष्ट्रवाद पनि लगभग त्यस्तै छ । राष्ट्रवादमाथि प्रश्न उठाउन बहुत गाह्रो हुन्छ । एक किसिमले यो अघोषित रुपमा वर्जित विषय हो । प्रश्न गर्न, विवाद गर्न, विमति जनाउन यो वर्जित विषय हो । राष्ट्रवाद नश्लसँग जोडिन्छ । इतिहासभरी सबै राष्ट्रवादीहरु नश्लवादी देखिएका छन् । समकालीन विश्वको कुरा गर्ने हो भने डोनाल्ड ट्रप्म नश्लवादी राष्ट्रवादी हुन् । ट्रम्पको राष्ट्रवाद अश्वेत विरोधी, आप्रवासी र महिला विरोधी अमेरिकी गौरव हो । मोदी नश्लवादी राष्ट्रवादी हुन् । मोदीको राष्ट्रवादमा दुइटा शत्रुको रचना गरिएको छ । एउटा मुस्लिम समुदाय र अर्को पाकिस्तान मोदीको राष्ट्रवादका शत्रु हुन् ।

नेपालको कुरा गर्ने हो भने कमरेड खड्गप्रसाद ओलीको राष्ट्रवाद पनि नश्लवादी हो । नश्लवादी राष्ट्रवादले आफूलाई श्रेष्ठ देखाउनका लागि शत्रुको निर्माण गर्दछ । एउटा शत्रु भारतीय विस्तारवाद भयो, अर्को मधेशी । तपाईँको वर्ण, भाषा र भूगोलको आधारमा नश्लवादी राष्ट्रवादमा काृेही तुच्छ हुन्छ, कोही श्रेष्ठ । खस आर्य, पहाडवासी, नेपालीभाषी, हिन्दू धर्म मान्ने श्रेष्ठ । थारु, मधेशी र महिलासमेत पनि तुच्छ हुन्छन् । आफूलाई श्रेष्ठ देखाउनका लागि केही तुच्छ चिजको निर्माण गर्नुपर्दछ । त्यसैले यो नश्लवादी राष्ट्रवाद हो । 

राष्ट्रवादले अखण्ड नेपालको कुरा गर्छ तर सारमा राष्ट्रवाद विखण्डनकारी छ । राष्ट्रवादले आफ्नै देशका बन्धुहरुलाई राज्यको वृत्तबाट बाहिर राख्छ । त्यसले विखण्डन गर्छ । संविधान निर्माण प्रक्रियाका बारेमा केही चर्चा गर्न चाहन्छु । संविधान कसरी बन्यो ? एकथरी जात वा नश्लले अर्को समूहमाथि हिंसा थोपर्दै, मान्छे मार्दै, रगतको खोलो बगाएर संविधान बनाइयो । पृष्ठभूमिमा भूकम्प थियो । भूकम्पले हल्लिएको नेपाली थिए । फास्ट ट्रयाक भनियो । संविधान निर्माणका लागि अन्तरिम संविधानमा उल्लेख गरिएका विधि र प्रक्रियासमेत उल्लंघन गरियो । त्यसलाई पाखा लगाइयो । ज्यादतिकाबीच संविधान निर्माण भएको छ । 

विशेषगरी म दुइटा ज्यादतिको उल्लेख गर्छु । टीकापुर घटना घट्यो । टीकापुरको भूगोलमा अखण्डको नारा थियो । एउटा नश्लले अखण्डको नारा थारुहरुको समानताको आकांक्षा र दावीलाई उपेक्षित गर्दै र किनारा लगाउँदै अखण्डको नारा अगाडि सारियो । त्यो पृष्ठभूमिमा टीकापुर घटना घट्यो । टीकापुर घटनामा केही प्रहरी अधिकारीहरु मारिए । केही जवान मारिए । एउटा बालक मारिए । यी जो–जो मारिए, सबै पहाडी थिए । त्यसपछि थारु समुदायमाथि राज्यले जघन्य हिंसा थोपर्यो । तीनका पसल लुटिए, घरमा आगो लगाइयो । महिलाहरुमाथि अपमान गरियो । तर हामीले काठमाडौंबाट के देख्यौँ । हामीले जो पहाडी मारिए, तिनलाई श्रेष्ठ देख्यौँ । पहाडी श्रेष्ठ थिए, त्यसैले हाम्रा सम्पूर्ण मिडियाका लागि त्यही समाचार बन्यो । थारुहरुमाथि थोपरिएको हिंसाको कहीँ पनि चर्चा भएन । किनकी त्यो त थारु थियो, त्यो खस आर्य होइन, नेपालीभाषी होइन, सनातनी शासक वर्गको सदस्य समुदाय पनि होइन ।

संविधान निर्माण प्रक्रियासँग असहमति राख्ने मधेशी नागरिकहरु मारिए । झण्डै ६० जना नागरिक मारिए । ६० जना मान्छेको रगत लत्पतिएको रक्तरञ्जित संविधान बनाइयो । संघीय संविधानको उद्धेश्य के हो ?

मधेशको कुरा गरौँ ।  संविधान निर्माणका क्रममा मधेशी नेताहरुका केही असहमतिहरु थिए । अन्तरिम संविधानका मानक र मापदण्डका आधारमा नयाँ संविधान बन्नुपर्छ भन्ने दावी थियो । तर एउटा नश्ल र समुदायले संविधान निर्माण गर्यो । मधेश बाहिर पर्यो । संविधान निर्माण प्रक्रियामा उसलाई संलग्न गराइएन । संविधान निर्माण प्रक्रियासँग असहमति राख्ने मधेशी नागरिकहरु मारिए । झण्डै ६० जना नागरिक मारिए । ६० जना मान्छेको रगत लत्पतिएको रक्तरञ्जित संविधान बनाइयो । संघीय संविधानको उद्धेश्य के हो ? ऐतिहासिक दृष्टिकोणले राज्यबाट पाखा पारिएकाहरु, अवसरबाट बञ्चित भएकाहरु, अपमानितहरु भएकाहरुलाई संविधानभित्र ल्याउने कुरा थियो । त्यसले समावेशीताको कल्पना गरेको थियो । 

तर संविधानले समावेशीताविरुद्ध झण्डै देशको आधा जनसंख्यालाई निर्णय प्रक्रियाभन्दा बाहिर राखेर, त्यसमाथि जघन्य हिंसा थोपर्दै मान्छे मारेर संविधान बनाइयो । संविधान निर्माण प्रक्रिया विशुद्ध नश्लवादी छ । नेपाल त विविधतायुक्त देश हो । यहाँ धेरै भाषा, जाति र सम्प्रदायहरु छन् । 

राष्ट्रवाद अतितमुखी हुन्छ । यसले भविष्यको कुरा गर्दैन । अतितका मूल्यहरुको गौरवगाथा गाइन्छ । जस्तो असली हिन्दुस्तानी पृथ्वीनारायणले नेपालका टुक्राहरु जोडेपछि एउटा नारा ल्याइएको थियो । असली हिन्दुस्ताना । हिन्दु र हिन्दुत्वलाई राज्यको धर्मको एउटा अंश बनाइयो । हिन्दुत्वलाई देशको पहिचान बनाइयो । हिन्दुबाहेक बाँकी त त्यसबेलादेखि नै बहिष्करणमा परेका हुन् । दोस्रो, ‘हाम्रा साना दुःखले आर्ज्याको मुलुक होइन ।’ हाम्रा भनेका कसका ? राणाजीहरुका, शाहजीहरुका । पुर्खा त हाम्रा पनि थिए, मधेशीहरुका पनि थिए । थारुका पुर्खा थिए । तर राज्य कसले बनायो त ? जसको हातमा सत्ता थियो तिनैले राज्य बनाए । जसको हातमा परम्परा थियो, वर्चश्व  र बन्दुक थियो तिनैले राज्य बनाए । कत्रा दुःखले आर्ज्याको मुलुक भन्नेबित्तिकै पृथ्वीनारायण वीर नायक हुन् जो गोरखादेखि साह्रा वन फाँड्दै बस्ती बसाल्दै, जग आवाद गराउँदै आएका हुन् झैँ गरिन्छ । बाँकी तपाईँका पुर्खाहरु त्यसबेला जुम्रा मारेर बसिरहेका थिए । मदिरापान गरेर लट्ठिएका थिए । अथवा कुम्भकर्णजस्तो उनीहरु ६ महिनाको निद्रामा थिए ? नेपाललाई बहुजातीय देश भनिन्छ । यो देशको निर्माणमा प्रत्येक जातिको उत्तिकै योगदान छ । 

योगदानका प्रकृतिहरु फरक होलान्, योगदानको मात्रा पनि फरक होला तर मधेश आवाद गरेको पहाडीहरुले हो ? मधेशीले नै हो । नेपालको सबैभन्दा आदिवासी आदिवासी त थारु समुदाय नै हो । उनीहरुले पनि नेपालको इतिहास, सभ्यता र संस्कृतिको निर्माणमा योगदान दिएका छन् । त्यसले  यो सम्पूर्ण निर्माण पक्रियामा एउटा मात्रै जात, एउटा भाषा र धर्मलाई मात्रै श्रेष्ठ मानियो । बाँकी योगदानलाई उपेक्षा गरियो, डाँडा कटाइयो । 

म फेरि दोहोर्याउँछु, राष्ट्रवादले अतितका कुरा मात्रै गर्छ । ‘साम्राज्य दुई हारे, हारेन शान हाम्रो ।’ कुन–कुन साम्राज्य कसरी हारे ? तपाईँको शान चाहिँ कसरी हारेन ? आफ्नो काल्पनिक श्रेष्ठता स्थापित गर्नका लागि यस्ता केही मिथकहरु रचना गरिए, केही प्रतीकहरु निर्माण गरिए । एउटालाई श्रेष्ठ मान्न र भन्नकै लागि बाँकीलाई अश्रेष्ठको दर्जामा राखियो । 

देशप्रेम र राष्ट्रवाद

देशप्रेम ममतापूर्ण हुन्छ, कृतज्ञतायुक्त हुन्छ । देशप्रेम नश्लीय हुँदैन । यसले विभाजन गर्दैन । यसमा श्रेष्ठ र तुच्छ भन्ने कुरा हुँदैन । यसमा भूगोलको एउटा सीमाभित्र बसेका सबै मान्छको माटोप्रति माया हुन्छ ।

देशप्रेम र राष्ट्रवाद फरक कुरा हुन् । यी सर्वथा विपरीत कुरा हुन् । तपाईँ एउटा देशको कुनै भूगोलभित्र जन्मनुहुन्छ । तपाईँले त्यहाँको माटो टेक्नुहुन्छ । आमाको दूध चुस्नुहुन्छ । कसैले डोहोर्याएर तपाईँलाई कसैले आँगनमा पुर्याउँछ त कसैले कहाँ पुर्‍याइदिन्छ । तैपनि आफूलाई जन्माएको आमाप्रति सबैलाई माया लाग्छ । आफूले टेकेको माटोप्रति सबैको सम्मान हुन्छ । तपाईँलाई अन्न दिने भूमि, हावा दिने आकाश र सौन्दर्यचेत दिने प्रकृतिप्रति तपाईँको स्वभाविक ममता हुन्छ, अपनत्व हुन्छ । त्यो अपनत्व र ममताको प्रत्युत्तरमा कृतज्ञ नागरिकले आफ्नो समाज र देशका लागि केही न केही चेष्टा गर्छ । देशप्रेम ममतापूर्ण हुन्छ, कृतज्ञतायुक्त हुन्छ । देशप्रेम नश्लीय हुँदैन । यसले विभाजन गर्दैन । यसमा श्रेष्ठ र तुच्छ भन्ने कुरा हुँदैन । यसमा भूगोलको एउटा सीमाभित्र बसेका सबै मान्छको माटोप्रति माया हुन्छ । मलाई पनि माया छ । देशप्रेम विखण्डनकारी र विभेदकारी हुँदैन । 

जुनबेला संविधान निर्माण भैरहेको थियो । जुनबेला टीकापुर घटना घटेको थियो । मधेशी समुदाय आन्दोलनमै थियो । त्यसबेला विडम्बना के भयो भने सिंगो मिडिया सत्तामा विलय भएको थियो । मिडिया यति भयानक राष्ट्रवादी भएको थियो, अहिलेको राष्ट्रवादका नायकहरुको रचना आधारभूत रुपमा मिडियाले नै गरेको हो । टनकपुरमा पहाडी मारिएको कुराको श्रेष्ठताको गाथा मिडियाले गाए । थारुहरुमाथि भएको दमनकोे तुच्छताको मिडियामा चर्चै भएन । मधेशमा त्यति धेरै मानिस मारिँदा पनि मिडियाले कहीँ पनि आपत्ति जनाएन । ती घटनालाई मिडियाले यसरी प्रस्तुत गर्यो कि संविधान निर्माणका क्रममा मधेशीहरु मारिनु गौरव र पौरखको विषय हो । त्यस्तो किन गरियो भने सनातनी दृष्टिकोणबाट यो देश खस आर्यले बनाएका हुन् । लामो समयदेखि अख्तियार र साधन स्रोतमा उनीहरुकै वर्चश्व थियो । 

परम्परागत राज्यका शक्ति र साधनमा उनीहरुकै एकलौटी थियो । मैले राष्ट्रवाद सिकिरहेका बेलादेखि अहिलेसम्म मधेशीमाथि नोकरको व्यवहार गरिन्छ । मधेशचाहिँ सिंहदरबारका मालिकहरुको हो जस्तो गरिन्छ । उनीहरुलाई अर्कै देशको जस्तो व्यवहार गरिन्छ । उनीहरुको वर्ण कालो छ । नेपाली उनीहरुको मातृभाषा होइन, वस्त्र फरक छ, भूगोल फरक छ । अहिलेसम्म पनि महेन्द्रीय शासनको जगजगी नै छ । काठमाडौंमा केही कुरा भने फेरिएका छन् । हिजोका दिनमा काठमाडौंमा मधेशी समुदायमाथि होच्याएर गरिने सम्बोधन अहिले कम भएको छ । 

कम्युनिष्ट आन्दोलनमा मलाई पनि हामी वीर पृथ्वीनारायणका सन्तान भनेरै सिकाइयो । मधेशी कायर हुन् भनियो । देशभक्त, राष्ट्रवादीको कुरै नगर्नुस्, ती मान्छे हुन् र भन्ने प्रश्न गरिन्थ्यो । मधेशमा लगभग ६० जना मानिस मारिँदा हाम्रो मिडिया र बौद्धिक समाजले मान्छे मर्‍याे भन्ने कहीँ कल्पना गरेन । उनीहरुले कोही विदेशी मर्यो, कोही विदेशको दलाल मर्यो, मधेशको भूमिलाई जुनसुकै बेला कतै लगेर बुझाउन सक्ने पात्र मर्यो भनेर बुझे । त्यसैले संविधान जुन पृष्ठभूमि र प्रक्रियाबाट निर्माण गरियो, यो त एक प्रकारको अपराधको बीचमा निर्माण गरियो । 

हामी संघीयतामा गएको किन ? नेपालमा विभेद छ । विभेदलाई न्यूनिकरण गर्न, विभिन्न समुदायको बीचमा समानता, सद्भाव, प्रेम र सहकार्य निर्माणका लागि हामी संघीयतामा गएका हौँ । यो राष्ट्रवादले पनि संघीयताको सार तत्वलाई झिकेर प्राविधिक किसिमको संघीयता ल्यायो । अझै पनि संविधानप्रति धेरैको असन्तुष्टि छन् । उनीहरुका असन्तुष्टि के छन् ? हामीलाई पाखा लगाएर, तिमीले बन्दुकको भरमा संविधान ल्यायौ भन्ने गुनासो उनीहरुको छ । संविधानमा तिमीले आफ्नो स्वार्थलाई सर्वोपरी राख्यौ । आफ्नो परम्परागत वर्चश्वलाई तिमीले कायमै राख्यौ । हामी त संविधान बन्नुभन्दा अघि पनि पाखामा पारिएका थियौँ । अहिले पनि पाखामै छौँ । त्यसैले यो संविधानसँग हाम्रो असहमति छ । यो परिस्थिति राष्ट्रवादले निर्माण गरेको हो । नश्लीय राष्ट्रवादले विभेद गर्छ । कसैलाई विभेद वा घृणा नगरिकन राष्ट्रवाद बन्दैन । 

अखण्ड नेपालको कुरा गरिन्छ । अखण्ड नेपाल त हामीलाई पनि चाहिएको छ । नेपालको भूगोल, सार्वभौमिकता खण्डित हुनुपर्छ कसले भन्छ र ? तर भन्दा अखण्ड नेपालको रक्षा भनियो, अखण्ड नेपालको रक्षा गर्नका लागि थारुमाथि हिंसा थोपरियो, मधेशीमाथि हिंसा थोपरियो । त्यसको परिणाम के भयो ? यो चिन्तन र संविधान निर्माण प्रक्रियाले पनि नेपाललाई खण्डित गर्यो । हाम्रो समस्या समाधान भएन । समानता र पारस्परिक सम्बन्धको धरातलममा इतिहासमा भएको गल्तीहरुलाई सच्याउँदै जाने पो एकीकरणको प्रक्रिया हो । एक हुनु भनेकै समान हुनु हो । राज्यमा समान किसिमको पहुँच र संस्कृतिमा समान किसिमको पहिचान र प्रतिष्ठाको आधारमा मात्रै कुनै पनि समाज एकताको जगमाथि उभिन्छ । संविधानले हामीलाई एकताको जगमा उभ्याएन । यसले विखण्डनतिरै लग्यो । 

प्रज्ञा प्रतिष्ठान र संसद बंगुरालय

प्रज्ञा प्रतिष्ठान अझै पनि छ । एक समय मैले प्रज्ञा प्रतिष्ठानलाई बंगुरालय भनेको थिएँ । मैले संसदलाई बंगुरालय भनेँ । यो देशका नागरिकहरुले जसलाई आफ्नो कुम र शीर दिएर सत्तामा उकाले । सत्तामा उक्लिएपछि तिनीहरुको स्वरुपमा परिवर्तन हुन थाल्यो । कालान्तरमा त्यो त बंगुरजस्तो भयो । बंगुरले के गर्छ, खान्छ मात्रै । त्यसमा संवेदना, विवेक र करुणा केही हुँदैन । प्रज्ञा प्रतिष्ठानलाई पनि मैले बंगुरालय भनेको थिएँ । गणतन्त्र नेपालको प्रज्ञा प्रतिष्ठान कस्तो हुनुपर्ने होला ? पहिलो त समावेशी हुनुपर्ने होला । दोस्रो नेपालको इतिहासमाथि अनुसन्धान गर्ने होला ? नेपालको इतिहास कति सत्य छ, त्यसमाथि अनुसन्धान गर्ने होला । 

अहिले कांग्रेस कांग्रेसजस्तो रहेन । कम्युनिष्ट कम्युनिष्टजस्तो रहेन । नेकपा, कांग्रेसका नेताहरुको चरित्र, चिन्तन र सम्बन्धमा मण्डलेहरुको भन्दा केही फरक छैन । त्यसैले सबैभन्दा ठूलो समस्या भनेको राज्यको चरित्र बदलिएन ।

समावेशीता नाउँमा रोचक प्रसंग छ । जगमान गुरुङलाई उपकुलपति बनाइएको छ । जगमान गुरुङ एकजना विद्वान हुनुहुन्छ । गुरुङ समुदायले आफूलाई यो देशको उत्पीडित जाति ठान्छ । ममाथि राज्यले उत्पीडन गर्यो । राज्यमा तिनीहरु नै थिए, जो अहिले पनि छन् । प्रज्ञा प्रतिष्ठानमा कम से कम गुरुङ समुदायको प्रतिष्ठान र पहिचानका लागि लड्ने मान्छे हुनुपर्थ्यो होला नि त । जगमान गुरुङ के भन्नुहुन्छ, ‘बाहुनहरु टुप्पी कसेर पढे । उनीहरुले टुप्पी कसेर पढेकाले ती विद्वान भए, गुणवान भए । हामीले त्यसको डाह गर्नुहुँदैन ।’ यसको अर्थ सनातनी चिन्तन र मूल्यमाथि प्रश्न गर्नु बेकार छ भन्ने हो । त्यस्तो मान्छेलाई प्रज्ञामा त्यो समुदायको प्रतिनिधि बनाउनु भनेको के हो ? राजतन्त्रअन्तर्गत प्रज्ञा प्रतिष्ठान जस्तो थियो, त्यस्तै राख्नु हो । 

गणतन्त्रमा आत्मनिर्णयको अधिकार हुन्छ । जात, भाषा, धर्म, वर्ण र भूगोलको आधारमा कोही श्रेष्ठ हुँदैन । श्रेष्ठ त व्यक्तिको चिन्तन, निष्ठा र नेपाली समाजको बृहत्तर कल्याणको आधारमा हुन्छ । कोही श्रेष्ठ हुनु भनेको बाँकी तुच्छ हुनु होइन । 

अहिले सिंहासनमा राजा छैनन् । सिंहासनबाट राजा गएपछि यो प्राविधिक गणतन्त्र भएको छ । शीतल निवासमा को छ अहिले ? राष्ट्रपतिको चरित्र के छ अहिले ? राष्ट्रपतिको आकांक्षा, दिनचर्यामा राजाको भन्दा केही फरक देखिन्छ र ? धर्मनिरपेक्ष भनिएको देशमा राष्ट्रपतिले हिन्दू धर्मको चाडपर्वमा मात्रै सहभागी हुँदै हिँड्नु धर्मनिरपेक्षताविरुद्धको आचरण हो । 

अहिले कांग्रेस कांग्रेसजस्तो रहेन । कम्युनिष्ट कम्युनिष्टजस्तो रहेन । नेकपा, कांग्रेसका नेताहरुको चरित्र, चिन्तन र सम्बन्धमा मण्डलेहरुको भन्दा केही फरक छैन । त्यसैले सबैभन्दा ठूलो समस्या भनेको राज्यको चरित्र बदलिएन । राज्यको चरित्र बदल्न भनेर जसले आँधीबेहरी उठाएका थिए, तिनै विलीन भए । पुष्पकमल दाहाल प्रचण्डलाई नेता मानेर चुनावमा म सडकमै हिँडेको थिएँ । दश वर्षको युद्धमा ज्यादति त भए, तर त्यसले परिवर्तनको ठूलो मुद्धा उठाएको थियो । पहिले उठाएका मुद्धाहरुलाई कुल्चँदै प्रचण्ड ओलीमा विलय भए । 

सारमा म के भन्न चाहन्छु भने अहिलेको राष्ट्रवाद नश्लवादी छ । गणतन्त्र विरोधी छ । यो राष्ट्रवाद समाजवाद विरोधी छ । यो राष्ट्रवाद असमावेशी छ । यो राष्ट्रवाद विभेदपूर्ण छ । सबै प्रकारले यसले रोगहरु बोकेर हिँडेको छ ।

त्यसैले माफ गर्नुहोला, म राष्ट्रवादी होइन ।

(पोखरामा सम्पन्न सातौँ नेपाल साहित्य महोत्सवमा संग्रौलाले ‘म किन राष्ट्रवादी होइन’ भन्ने विषयमा दिएको मन्तव्यको सम्पादित अंश)
 

अन्तिम अपडेट: चैत १, २०७५

खगेन्द्र संग्रौला

संग्रौला नेपालका प्रगतिशील साहित्यकार हुन् । उनले पछिल्लो समयमा विभिन्न पत्रपत्रिकामा राजनीतिक लेखहरू लेख्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया