रवीन्द्रले गगन र नारायणकाजीलाई साेधे : झुटो पेट्रोल पिएर, घरभाडाको पैसा खाएर नेतृत्वलाई धनी नबन्नुस् भन्ने आँट छ ?

 पुस ११, २०७५ बुधबार ११:३०:६ | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

कास्की – विभिन्न रोचक र विचारोत्तेजक बहस र अन्तरक्रियाका बीच सातौँ नेपाल साहित्य महोत्सव सम्पन्न भएको छ ।

शनिबारदेखि मंगलबारसम्म पोखराको फेवाताल किनारमा हिमाललाई साक्षी राख्दै विभिन्न विषयमा बहस र अन्तरक्रिया मात्रै भएन, विभिन्न मुद्दामा प्रतिज्ञासमेत गरिए । निर्मलाको समयमा नेपालमा महिला सुरक्षा कस्तो छ भन्नेदेखि साहित्यमा सेन्सरसिपसम्मका विषयमा अन्तरक्रिया भए । 

महोत्सवको अन्तिम दिन अर्थात मंगलबार ‘अबको नेतृत्व : कस्तो र कसको ?’ भन्ने विषयमा समेत छलफल भएको थियो । पत्रकार गुणराज लुइँटेलले संयोजन गरेको यो सत्रमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र सहभागी थिए ।

छलफलको सुरुवातमै पत्रकार लुइँटेलले नेता भनेको के हो भनेर तीनै जनालाई प्रश्न सोध्नुभएको थियो । जवाफमा नेकपा प्रवक्ता श्रेष्ठको उत्तर यस्तो थियो, ‘नेता भनेको आफ्नो समाजलाई सत्यको वरिपरि ल्याउँदै समाजको रुपान्तरणको लागि अगुवाको भूमिका खेल्ने विचार, व्यक्ति र प्रवृत्ति नै नेता हो ।’

कांग्रेस नेता गगन थापा भन्नुहुन्छ, ‘राजनीतिकर्मीको सम्बन्धमा नेता भनेको हो भने चाहिँ जसले प्रश्न गर्न सक्ने सामर्थ्य राख्छ, जो बनिबनाउ उत्तरको पछि लाग्दैन, जसले समस्याको समाधानका लागि हल गर्ने उपाय खोज्छ र निरन्तर प्रश्न गरिरहन्छ त्यही नेता हो ।’

तर विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र भने थापा र श्रेष्ठको भन्दा अलि फरक मत राख्दै भन्छन्, ‘म त भर्खर भर्खर राजनीतिमा खरानी घसेको मान्छे । मैले उहाँहरुबाट राम्रो कुरा पनि सिकेको छु । के कुरा नराम्रो हो भन्ने पनि सिकेको छु । मेरो विचारमा नेता भनेको जनता हो । तर राजनीतिक नेता र जनतामा फरक के छ भने राजनीतिक नेताले जनताको आकांक्षालाई कार्यान्वयन गरिदिन सक्छ । त्यसो हुनाले नेता भनेको जनता नै हो ।’

नारायणकाजी श्रेष्ठ आफ्नो पार्टीमा पनि समयपालक र फरक विचार राख्ने नेताका रुपमा पर्नुहुन्छ भन्दै पार्टीभित्र उहाँले पालना गरेजस्तै व्यवहार छ कि छैन भन्ने प्रश्नमा श्रेष्ठ भन्नुहुन्छ - मैले समयको बारेमा प्रष्टसँगै भन्दै आएको छु । हाम्रो समाज, राजनीतिक पार्टी सबैतिर समयको पालना नगर्ने परिपाटी छ । उल्टो हामीले आफैले ढिलो गर्ने र नेपाली समय त हो नि भन्दै नेपाललाई अपमानित गर्ने परिपाटी छ । यसलाई परिवर्तन नगर्ने हो भने हामीले अरु कुरामा पनि परिवर्तन गर्न सक्दैनौँ भन्ने मेरो विश्वास हो । त्यसैले मैले यही कार्यक्रम पनि पहिले सेट गरेको समयभन्दा अलि पर जान लागेको देखेर मैले गुणराजजीसँग भनेको थिएँ, तपाईँ ख्याल गर्नुहोस् ।

१५ मिनेटमा यो कार्यक्रम सुरु भएन भने म यो कार्यक्रममा बस्दिन । त्यसैले हाम्रो पार्टीमा समयको पालना गर्न ध्यानाकर्षण गर्न थालेको छु । जहाँसम्म नेताको कुरा छ । नेपालमा लोकतन्त्रका लागि सामन्तविरुद्ध लामो संघर्ष भयो । लामो संघर्षपछि नेपालका वामपन्थी दल र कांग्रेससँगको समन्वयमा नेपालमा सामन्तवादको अन्त्य गरिएकाले नेपालमा नेतृत्व छैन भन्न मिल्दैन । नेतृत्व हुँदाहुँदै पनि कमकमजोरी छन् । त्यसलाई रुपान्तरण र परिमार्जन गर्नुपर्ने देखिन्छ ।

नेपाली कांग्रेसको अहिलेको नेतृत्वमाथि हस्तक्षेप गर्ने क्षमता गगन थापाहरुसँग छ त ?

नेपाली कांग्रेस पार्टीभित्र नेतृत्वमा हस्तक्षेप पनि गर्ने, नेतृत्व बदलिने र हामी नेपाली कांग्रेसको नेतृत्वमा पुग्ने कुरा अवश्यमभावी छ । तर त्यो भएर के हुन्छ ? हामीले एउटा कोणबाट हाम्रो नेतृत्वको दावी गर्यौँ ।  तर भएपछि के हुन्छ वा केका निम्ति भन्ने प्रश्नको उत्तर खोजेनौँ भने त्यो यात्रा निरथर्क हुन्छ । नेपालमा हाम्रा नेताहरु कुनै पनि संस्था र संस्थापनका विरुद्ध लड्नुभयो । लड्दाखेरी नेताका जीवनशैली समाजका लागि नैतिकताको उच्च मापदण्ड र मानक बन्यो ।

जे आँट्नुभयो त्यही पूरा गर्नुभयो । तर त्यही व्यक्ति परिवर्तनपछि नैतिकताको सार्वजनिक कसीमा निम्छरो देखिए । जे गर्छु भनेर आए, त्यो गर्नै सकेनन् । यो एक जना व्यक्तिको मात्रै कुरा होइन, आम नेपाली नेताका कुरा हो । हामी कोही पनि यसबाट अछुतो छैनौँ । भोलि हामी पनि त्यहाँ पुगेपछि त्यही हुन्छ कि भन्ने हो । हाम्रो राजनीतिमा आम प्रवृत्ति नै त्यस्तो छ । 

अहिलेकै सरकारको कुरा गरौँ न । यो सरकार सरकारमा आउँदै गर्दा के भनेर आयो ? हामीले जितेनौँ भने अर्को पार्टी भनेको नेपाली कांग्रेस हो । त्यो पार्टीले जित्यो भने देशै बेच्दिन्छ भनेर यो पार्टी नागरिकलाई डर देखाएर आयो । मान्छेलाई तर्सायो । भैली गाएर आयो । डर बेचेर आयो । हामीले पनि अहिले त्यही गरेका छौँ ।

यो यस्तो सरकार हो यो पाँच वर्ष सत्तामा बस्यो भने अधिनायकवाद आइहाल्छ भनेर अरुलाई तर्साइरहेका छौँ । हामी अर्को डर बेचिरहेका छौँ । त्यस्तै रवीन्द्र दाइहरु हामी दुई दललाई देखाएर के भन्नुहुन्छ, यिनीहरुले चलाए भने त बर्बाद हुन्छ, देशै सकिन्छ । अर्कोले अर्को डर बेच्यो । हामी सबै केवल डरको खेती गरिरहेका छौँ । हामी अर्को आयो भने के हुन्छ भन्दै डर बेचिरहेका छौँ । हामी पार्टीभित्र पनि त्यस्तै बुढाहरुले पार्टीलाई बर्बाद गर्छन् भन्दै डर बेचिरहेका छौँ । हामी यो भएन वा त्यो भएन त भन्यौँ । तर हामी त्यहाँ भयौँ भने के हुन्छ त भन्ने कुरा चाहिँ दिन सकेनौँ । हामीले त धकेलेरै भए पनि नेतृत्वमा जाने कुरा गरेकै छौँ । 

डरै बेच्न आएको हो त ?

रवीन्द्र मिश्र –गगनजीले दुइटा महत्वपूर्ण कुरा उठाउनुभयो । नेतृत्वमा पुगेर के हुन्छ हामी हस्तक्षेप गर्न तयार छौँ । हामी नेतृत्व लिन तयार छौँ भन्नुभयो । आधारभूत कुरा त पार्टीहरुको संरचनागत समस्या हो । त्यसैले हाम्रा पार्टीका नेता सूर्यराज आचार्य प्रतिकात्मक रुपमा भन्नुहुन्छ, एउटा प्वालबाट गौतम बुद्ध हाले पनि अर्को प्वालबाट निस्कने बेलामा चार्ल्स शोभराज भएर निस्कन्छ ।

शेरबहादुर देउवाको उर्जा, यो देश परिवर्तन गर्ने प्रतिवद्धता र आकांक्षा हामी कसैको भन्दा पनि कम थिएन । गगनजीको भन्दा पनि कम थिएन । तर पार्टीको संरचना यस्तो भयो त्यहाँबाट डेलिभर नै गर्न नसक्ने भयो । अर्को कुरा देश सकिँदैछ भन्ने डर बेचेर हामी बाँचरिहेका छौँ भन्ने कुरा उहाँले गर्नुभयो । उहाँहरु मेरा अग्रज हुनुहुन्छ ।  मैले उहाँहरुबाट धेरै कुरा सिकिरहको छु । उहाँहरुको पार्टीबाट के गर्न नहुने रहेछ भन्ने कुरा पनि सिकिरहेको छु ।

तपाईँहरुलाई एउटा कुरा भन्छु । तपाईँहरुले देश बदल्छु भनेर ठूलाठूला कुरा गर्नै पर्दैन । गर्न सकिने चार पाँचवटा कुरा मात्रै गरे पुग्छ । तपाईँहरुले गएर नेतृत्वलाई भन्दिनुस्, दलीय पेशागत संगठन हामीलाई चाहिँदैन भन्दिनुस् । सक्नुहुन्छ ? संसारमा एउटा सरकारी कार्यालयमा ६ वटा राजनीतिक दलको झण्डा राखेर कुन चाहिँ देशले प्रगति गरेको छ मलाई भन्दिनुस् । यदि देश बनाउने हो भने तपाईँहरु गएर भन्नुस्, हामीलाई प्राध्यापकबाट राजनीति गराउनु छैन ।

तपाईँहरु गएर भन्नुस्, वकील, इञ्जिनियर, डाक्टर र विद्यार्थीलाई राजनीति गराउनु छैन ।  कलेजको परिधिभित्र राजनीति गराउनु छैन । त्यति भन्नेबित्तिकै न्यायालयमा भएको अन्याय, कर्मचारीतन्त्रमा भएको बेथिति त्यसै अन्त्य हुन्छ । सरकारले काम गर्न थाल्छ, डर बेच्न पर्दैन । त्यसै कारणले गर्दा पार्टीको संरचनामा परिवतर्न गर्नुपर्यो ।

म बिन्ती गर्छु, तपाईँहरु गएर भन्दिनुस्, हामी सानै दल भएर बसौँला बरु । तपाईँहरु नै ठूलो दल भएर देश बनाउनुहोला । तर गएर भन्ने आँट छ, तपाईँहरु झुटो पेट्रोल पिएर धनी नबन्नुस् । भन्नुस् घरभाडाको पैसा नखानुस् । तपाईँहरुको नेतालाई गएर भन्नुस्, २४ जना मन्त्रीमध्ये २३ जनाले झुट बोलेर कसरी बसे ? मलाई तपाईँहरुबाट धेरै आशा छ, तर यति गर्न सक्नुभएन भने तपाईँहरुले यस्तो घर वा दाप बनाउनुभएको छ नि त्यहाँबाट निस्कँदा खिया नै लागेर निस्कनुहुन्छ ।

अहिलेको नेतृत्व अयोग्य छ, पाटीभित्र योग्य मान्छे हुँदाहुँदै किन अवसर नलिने ?

नारायणकाजी श्रेष्ठ – हामीले नेतृत्वको कुरालाई यान्त्रिक ढंगले हेर्नु हुँदैन । हामी कहिले नेतृत्वमा पुग्छौँ भनेर मात्रै हुँदैन । हामी राजनीतिमा किन छौँ भन्ने कुरा पनि हो । मेरो सन्दर्भमा भन्ने हो भने म एउटा मुक्तियात्रामा छु । मेरो मुक्तियात्राको एउटा अभिन्न अंग राजनीति पनि हो । त्यसकारणले म राजनीतिमा छु ।

राजनीति खाली सत्ता प्राप्त गर्ने र पद प्राप्त गर्ने थलो होइन । त्यसकारण म कहिले नेतृत्वमा पुग्छु भन्ने मतलब राख्दिँन । अहिलेका नेतृत्वका कमिकमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्छ । सबैभन्दा पहिले त आफूप्रति इमान्दार हुनुपर्यो । आफूप्रति इमान्दार हुन नसक्ने नेता देश र नागरिकप्रति इमान्दार हुनै सक्दैन ।

वैज्ञानिक दृष्टिकोण र विचार छ भने त्यसले नेतृत्व गर्न सक्छ । हामीमा ठूलो क्षमता चाहिन्छ । अर्को कुरा मूल्य मान्यतामा पनि गिरावट आएको छ । हाम्रा राजनीतिक पाटीहरुका व्यापक भ्रष्टाचार छ । हाम्रो पार्टीमा पनि छ । हजारौँ राजनीतिक कार्यकर्ता आम्दानीको कुनै स्रोत नभए पनि विलासी जीवन बिताइरहेका छन् ।

दशौँ हजार कार्यकर्ताहरु सत्ताको वरिपरि रहेसम्म जतिसुकै कुरा गरे पनि समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन । त्यसैले कांग्रेस होस् वा हाम्रो पार्टी सबै पार्टीमा रुपान्तरणको अभियान चलाउनुपर्छ । सबै क्षेत्रमा रहेको पार्टीकरणलाई रोकेर योग्य मान्छेलाई नियुक्त गर्नुपर्छ ।

कांग्रेसभित्र नेता, नीति र नियत ठिक छ कि छैन ?

गगन थापा – हामीले अहिले हाम्रा नेताहरु भ्रष्ट भए, ठिक भएनन् भनिरहेका छौँ । उनीहरु एउटा यस्तै व्यवस्था परिवर्तनका लागि लडेका थिए । व्यवस्था परिवर्तनपछि उनीहरु फेरि त्यस्तै किन भए ? अब्राहम लिंकनले भनेजस्तै कष्ट दुःख त सबैले सहन सक्छन् ।

मानिसको असली परीक्षा त शक्ति प्राप्त दिएपछि हुने हो । पहिले शक्ति नभएर हो कि ? पहिले टेस्ट नै नभएर पो हो कि ? यसका कारणहरु के होलान् ? मैले पनि पहिले रवीन्द्र दाइजस्तै राजाको शासनकालमा पोखरा आएर यो भ्रष्ट भयो, यसलाई फेर्ने बेला आयो भन्ने गरेको सम्झन्छु ।

कुनै पनि कुरा गलत भयो भनेर सावित गर्न निकै सजिलो हुन्छ । तर त्यो गलत कुरालाई कसरी सही बनाउने भन्ने कुरा गर्न बडो कठिन हुन्छ । पार्टीसम्बद्ध सबै संगठनलाई विघटन गनुपर्छ भन्ने कुरामा म पनि सहमत छु । तर यसले पनि एउटा प्रश्न जन्माउँछ ।

पञ्चायत कालमा त पार्टी नै थिएनन् ।  भएका पार्टी पनि खारेज गरिएका थिए । कहीँ कतै राजनीति हुन्थेन । त्यसो भए त्यतिबेला के उत्कृष्ट थियो त ? त्यसैले हामी कताकता बहकिएका छौँ । हामी नेता भ्रष्ट भए भन्छौँ । मानौ कि नेपालका सबै नेता भ्रष्ट अनि बाँकी संसारका सबै नेता असल हुन् । हामी लक्षणका कुरा मात्रै गर्छौँ ।

नाराणकाजी सरले भनेजस्तै नेपालका पार्टीहरुमा भ्रष्टाचार संस्थागत छ । पार्टीको सदस्यताको पद्दतिले गर्दा छ । जबसम्म पार्टी खुला सदस्यमा जान सक्दैन, लाखौँ नेपाली कांग्रेसका मानिसहरुको मतदानबाट कांग्रेसको सभापति चुनिने परिपाटी नभएसम्म पार्टीभित्र सानो समूहको बन्धक बन्ने खतरा कायम रहन्छ ।

त्यसो भए सबैलाई हटाइदिउँ । दुई चारजना राम्रा मान्छे जाऔँ, त्यसरी पनि हुँदैन । यी दुइटा भ्रष्ट पार्टीलाई हटाइदिउँ, नयाँ आएर गर्छ भन्ने पनि होइन । हामी संस्थाहरुको कुरा गरेका छैनौँ । हामीले राजा फालिसक्यौँ तर हामी सबैले एउटा नयाँ राजा खोजिरहेका छौँ  जसले आएर चमत्कार गरोस् । जादू गरिदिन्छ ।

हामी असाध्यै धेरै व्यक्तिका बारेमा कुरा गर्यौँ  तर नेपालको समस्या भनेको व्यक्तिमा होइन, इन्स्टिच्युसनहरु राम्रा बनाउन सकेनौँ । संस्थाप्रति भन्दा पनि बढी हामीले व्यक्तिमा भरोषा गर्यौँ ।

नारायणकाजी जी त विवेकशीलकै नेताजस्तो

रवीन्द्र मिश्र – नारायणकाजीजी बोल्दा त मलाई विवेकशीलकै नेता बोलेजस्तो लाग्यो । इमान्दारिता, संस्था र व्यक्तिका कुरा त हामीले बारम्बार रटिरहेका छौँ । त्यही कुरा बोलिदिँदा उहाँलाई धन्यवाद । उहाँले भन्नु त भयो तर पार्टीमा गराउनु भएको भएन भन्ने कुरा चाहिँ महत्वपूर्ण हो ।

अब के गर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण भयो । संस्थागत विकास र संरचनागत विकास हुनुपर्ने रहेछ भन्ने कुरा देखियो । पहिलो कुरा त पार्टी राम्रो नबनेसम्म देश राम्रो बन्न सक्दैन । पार्टी राम्रो बनाउनका लागि पुराना पाटीहरुले संरचनागत सुधार गर्नुपर्यो । हामीजस्ता नयाँ पार्टीहरुले पनि त्यो संरचनालाई बलियो बनाउनुपर्छ ।

त्यो संरचनालाई इमान्दार र पारदर्शी बनाउनुपर्यो । त्यो संरचनामा आफन्तलाई भन्दा पनि क्षमतावान मान्छेहरु ल्याएर राज्य संयन्त्र चलाउनुपर्यो । संरचना सुधार्नुस्, त्यसपछि एउटा प्वालबाट निस्कँदा गगन थापा नै भएर अर्को प्वालबाट निस्कनुहुन्छ ।

अर्को कुरा हामीलाई विचारै भएन भन्नेहरुलाई म भन्न चाहन्छु, को आउनुहुन्छ विचारकै बारेमा आउनुस् बहस गरौँ । यहाँ त समाजवादउन्मुख भन्ने तर शिक्षा र स्वास्थ्य राज्यको प्रमुख जिम्मेवारी र उत्तरदायित्व हो भन्न नसक्नेहरुले विचारको कुरा गर्ने ? तपाईँहरुको वैचारिक स्पष्टता कहाँ छ ?

‘रवीन्द्रजीले पार्टीको घोषणापत्रको व्याख्या राम्राेसँग गर्नुभयो’

रवीन्द्रजीले पार्टीको घोषणापत्र राम्रैसँग व्याख्या गर्नुभयो । चुजावमा पढ्न भ्याइएको थिएन । अहिले बुझ्न नि पाइयो । तर उहाँले भन्नुभएका कतिपय कुरा उहाँले पार्टी नखोल्दैदेखि नै हामीले जब्बर रुपमा हामीले हाम्रो पार्टीमा उठाउँदै आएका छौँ । कतिपय कुरा हामीले निर्णय गराउँदै गएको कुरा उहाँलाई आफूले पार्टी नखोल्दै पनि थाहा थियो ।

कतिपय कुरा अझै पनि परिवर्तन भएको छैन । कमीकजोरी छन्, सुधार भएको छैन त्यो स्वीकार गरिन्छ । डाक्टर गोविन्द केसीले उठाएको मुद्दा कम्युनिष्टहरुले उठाउन पर्ने मुद्दा हो  । कतिपय कमजोरी छन् तर पनि जनताका मुद्दा हुन् भनेर पार्टीको बैठकमा मैले होइन विषय उठाएको ?, त्यो तपाईँलाई थाहा छैन, त्यसपछि होइन वार्ता र सम्झौता भएको ।

अहिले उहाँकै मागलाई सम्बोधन गर्नेगरी कानुन निर्माण भैरहेको छ । मैले पार्टीको बैठकमा प्रस्ताव राखेको छु कर्मचारीतन्त्रमा राजनीतिक संगठन बन्द गर्नुपर्यो । यो सत्य होइन कि हामीले आवाज नै उठाएका छैनौँ । सबै लागु भएका छैनन् त्यो चाहिँ मानिन्छ । संघर्ष जारी छ, एकैचोटी हुँदैन, बिस्तारै हुन्छ ।

समाजमा सत्ताको संस्कृति हावी छ । उत्पादनशील लगानी नगरीकन दलाली र कमिसन खाएर ठूलो धनराशी कमाउने एउटा जमात रहेको छ । यो संस्कृति नियन्त्रण नगरेसम्म परिवर्तन हुँदैन । यसको लागि ठूलो आइडियोलोजिकल कल्चरल मुभमेन्ट चाहिन्छ । त्यसका लागि म सबैलाई अपिल गर्न चाहन्छु । 

बहसको अन्त्यमा विवेकशील साझा पार्टीका संयोजकले गगन थापा र नारायणकाजी श्रेष्ठलाई असल व्यक्ति भएको भन्दै असल व्यक्ति खराब घरमा भएको भन्दै विवेकशीलमा आएर हातेमालो गर्न आग्रह गर्नुभयो । बहसमा अबको नेतृत्व कस्तो र कसको भन्ने कुराको निचोड ननिस्किए पनि नेपाली राजनीतिक वृत्तमा भने एउटा बहस सिर्जना भएको छ । नेपाली राजनीतिक नेतृत्वको मात्रै कुरा होइन, राजनीतिक पार्टी र उनीहरुको संस्थागत संरचना कस्तो हुनुपर्ने भन्ने कुरा पनि बहसमा आएको छ । 


 

अन्तिम अपडेट: माघ ६, २०७५

उपेन्द्रराज पाण्डेय

उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया