राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि सर्ने

 पुस ११, २०७५ बुधबार १२:४:१४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जमा माघ २५ देखि फागुन ३ गतेसम्म तोकिएको ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पुनः सर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले बुधबार नेपालगञ्जमा आयोजित पत्रकार भेटघाटमा प्रतियोगिता सर्न सक्ने सम्भावना व्यक्त गर्नुभयो । यसअघि मंसिरबाट प्रतियोगिताको मिति माघमा सरेको हो ।

प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्जस्थित रङ्गशाला निर्माणको कार्यमा ढिलाई भएका कारण प्रतियोगिताको मिति केही दिनपछि सर्न सक्ने सदस्य सचिव विष्टको भनाई छ । विष्टले प्रतियोगिता पूर्व निर्धारित मितिमै सम्पन्न गर्नका लागि आफूहरुले अन्तिमसम्म प्रयास गर्ने बताउनुभयो ।

रङ्गशालाको प्याराफिट मलेसियाबाट ल्याएर जडान गरिँदैछ । एक सातामा हुनुपर्ने एलसी एक महिनापछि भएका कारण मलेसियन कम्पनीले  १५ दिन थप समय माग गरेको छ ।

सदस्य सचिव विष्टले भन्नुभयो, ‘हामी एलसीमा भएको ढिलाईका लागि जरिवाना भए पनि तिरेर सम्झौता अनुसारकै समयभित्र सामान ल्याउन लागिपरेका छौं तर मलेसियन कम्पनीले दिन नसकेमा भने १५–२० दिन सर्न सक्छ ।’

यसैबीच सदस्य सचिव विष्टले बुधबार प्रतियोगिताको नेपालगञ्ज रङ्गशालाभित्र सचिवालय उद्घाटन गर्नुभयो । प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले सचिवालय उद्घाटन भएपछि ८ औं राष्ट्रिय खेलकुदको सुनिश्चितता भएको बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १०, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया