काठमाडौंमा जेब्राक्रस र  यात्रु–प्रतिक्षालय पनि स्मार्ट बन्ने

 पुस ११, २०७५ बुधबार १४:२:२९ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौंका सडकमा अब स्मार्ट जेब्राक्रस बन्ने भएको छ । काठमाडौं महानगपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार पैदल यात्रुको धेरै ओहोरदोहोर हुने ठाउँमा राखिने यस्ता स्मार्ट जेब्राक्रस अपाङ्गमैत्री बन्नेछन् । 

जेब्राक्रको दुवै छेउमा एक–एकओटा स्वीच हुनेछन् । दृष्टिविहीन तथा अरु कुनै अपाङ्गता भएका व्यक्तिहरुले सडक पार गर्नुपरेमा त्यो स्वीच थिच्नुपर्ने हुन्छ ।

त्यसपछि बत्ति बल्नेछ जसले दायाँबायाँबाट आएका गाडीलाई रोक्न निर्देशन दिनेछ । यसले गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई सडक पार गर्न धेरै नै सजिलो हुने आशा गरिएको छ ।

‘अहिले काठमाडौं महानगरपालिकाले सडक विस्तारलाई विशेष प्राथमिकतामा रोखेको छ । साँघुरा सडकलाई चौडा पार्ने र ट्राफिक व्यवस्थालाई चुस्त बनाउने हाम्रो संकल्प हो ’ प्रवक्ता डंगोलले भन्नुभयो, ‘स्मार्ट जेब्राक्रस बनाउनुका साथै मेटिएका जेब्राक्रसलाई पेन्टिङ गर्ने र राति पनि देखिने गरेर सडकमा लाइटिङको व्यवस्था गरिनेछ ।’ 

स्मार्ट जेब्राक्रसङ कति राख्ने र कुन कुन ठाउँमा राख्ने भन्नेबारे अध्ययन भइरहेको डंगोलले बताउनुभयो । महानगरपालिकाले सडक विभाग र ट्राफिक प्रहरीसँग सहकार्य गरेर स्मार्ट जेब्राक्रस बनाउन लागेको हो ।

स्मार्ट यात्रु–प्रतिक्षालय पनि बन्ने

काठमाडौं महानगरपालिकाले टुँडिखेल वरपरका र अन्य केही मुख्य ठाउँहरुमा स्मार्ट यात्रु–प्रतिक्षालय पनि निर्माण गर्ने भएको छ । गत मंसिर २४ गते बसेको महानगरपालिकाको बोर्ड बैठकले यो निर्णय गरेको हो । उप–मेयर हरिप्रभा खड्कीको संयोजकत्वमा बन्न गइरहेका स्मार्ट यात्रु प्रतिक्षालय ‘डिजिटलाइज्ड’ हुनेछन् । 

अहिलेका यात्रु प्रतिक्षालयलाई नयाँ तरिकाले परिमार्जन गर्ने र कतिपय ठाउँमा नयाँ प्रतिक्षालय थप्ने तयारी छ । प्रतिक्षालयको माथि कुन रुटको गाडी त्यो ठाउँमा आउँछ र त्यहाँबाट कहाँ जान्छ भन्ने जानकारी सहितको ‘डिजिटल डिस्प्ले हुनेछ । स्मार्ट प्रतिक्षालयले यात्रुहरुलाई अलमल हुनबाट जोगाउने र सडकको शोभा पनि बढाउने खड्गी दावी गर्नुहुन्छ । 

‘काठमाडौं सहरलाई स्मार्ट प्रविधिमा लैजाने हाम्रो प्रतिबद्धता रहिआएको छ, त्यसै अनुरुप काम गर्दै आएका छौं’ खड्कीले भन्नुभयो, ‘यहाँको प्रमुख समस्या यातायात व्यवस्थापन हो, यसले त्यो समस्यालाई केही हदसम्म भए पनि खुकुलो पार्नेछ ।’

यात्रु प्रतिक्षालय निर्माणको लागि महानगरपालिकाको खर्च भने नलाग्ने प्रवक्ता डंगोल बताउनुुहुन्छ । चारवटा कम्पनीले प्रस्ताव गरेका र उनीहरुले नै आफ्नो विज्ञापनसहित प्रतिक्षालय बनाउने उहाँले बताउनुभयो ।

‘त्यसरी विज्ञापन राखेबापत ती कम्पनीहरुले उल्टै महानगरपालिकालाई रोयल्टी दिन्छन् । त्यही भएर यो एकदम राम्रो कदम हो’, डंगोलले बताउनुभयो, ‘यसरी प्रस्तावक पाएमा र उपयुक्त लागेको खण्डमा अन्य निर्माणका कामहरु पनि गर्न सकिन्छ ।’

अहिले कति बन्ने र कहाँ बन्ने भनेर अध्ययन भइरहेको डंगोलले बताउनुभयो । उहाँका अनुसार काठमाडौं महानगरपालिकाभित्र करिब ६० जति नयाँ स्मार्ट यात्रुप्रतिक्षालय बनाउने तयारी भइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया