कृषिकर्ममा भूपू लाहुरे: माछा, कुखुरा र तरकारीबाट लाखौं रुपैयाँ आम्दानी

 पुस ११, २०७५ बुधबार १५:४०:७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लगन, मेहनत र अनुशासनको पाठ सेनामा छँदै सिक्नुभयो, तनहुँ व्यास नगरपालिका–८, समीफेँदका जयन्द्र शाहीले । उहाँको पुख्र्यौली थलो लमजुङको कुन्छा हो । जयन्द्र १८ वर्षअघि कुन्छाबाट तनहुँको समीफेँदमा बसाइ सरेर आउनुभएको हो । 

शाहीले १८ वर्षसम्म नेपाली सेनामा रही देशको सेवा गर्नुभयो । नेपाली सेनाबाट ‘पेन्सन’ निस्केपछि उहाँ पैसा कमाउन मलेसिया हानिनुभयो । ३ वर्ष उतै बस्नुभयो ।

परदेश छोडी घरदेशमा कृषि       

‘परदेशमा होईन देशको माटोमा श्रमपसिना बगाउनुपर्छ, देशको सेवा गर्नुपर्छ’ भन्ने देशभक्ति भाव मनमा सजाउँदै उहाँ स्वदेश फर्किनुभयो ।   

त्यसपछि व्यावसायिक माछापालन सुरु गरिहाल्नुभयो । २०७३ सालबाट उहाँले माछा पाल्न थाल्नुभएको हो । सुरुका वर्षमा एक हजार माछाका भुरा मात्रै हुर्काउनुभयो, उहाँले । सुरुका वर्षमा माछा बिक्रीबाट ६५ हजार रुपैयाँमात्र हात परेको उहाँ बताउनुहुन्छ ।   

अहिले उहाँले घर अगाडि रहेको ४ रोपनी खेतीयोग्य जमिनमा २ वटा माछापोखरी बनाउनुभएको छ ।

एउटा माछापोखरीमा माछा हुर्कँदै छन् भने अर्कोमा छिट्टै माछाका भुरा हाल्ने तयारीमा हुनुहुन्छ उहाँ । पछिल्ला वर्षमा माछापालनबाट वार्षिक एकदेखि डेढ लाखसम्म कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ । 

‘अरुलाई प्रेरणा जगाउनुका साथै देशमै केही उद्यम गरी देशको सेवा गर्नुपर्छ भन्दै कृषिमा लागेको हुँ । कृषिमा मेरो मन रमेको छ । दुःख गरेअनुसारको कमाई पनि भएकै छ,’ उहाँले भन्नुभयो ।    

उहाँको माछापोखरीमा कमन कार्प, ग्रास कार्पलगायतका माछा पालिएका छन् । उत्पादित माछा घरबाटै प्रतिकेजी ५ सय रुपैयाँमा बिक्री हुन्छ । 

उहाँले माछापालनसँगै बा्रेइलर कुखुरासमेत पाल्नुभएको छ । एक हजार चल्ला हुर्काउन सक्ने क्षमताको दुईवटा कुखुराका खोरहरु छन् ।    

तरकारीले बारीमा हरियाली

उहाँले व्यावसायिक तरकारी खेतीसमेत गर्नुभएको छ । घर अगाडिको बारीमा साग, मुला, काउली, आलु फलाइएको छ । 
‘एक रोपनी जग्गामा तरकारी फलाएको छु । उत्पादित तरकारी पनि माछाजस्तै घरबाटै बिक्री हुन्छ । 

तरकारी स्थानीय बजारसम्म पनि पुग्छ । कमाई सन्तोषजनक नै छ,’ उहाँले थप्नुभयो । २ छोरा र एक छोरीका पिता जयन्द्रलाई कृषि कर्म अघि बढाउन श्रीमतीको पनि साथ मिलेको छ ।    

आफूले व्यास नगरपालिकाबाट पनि सहयोग प्राप्त गरेको बताउँदै उहाँले भन्नुभयो,‘आगामी दिनमा कृषिलाई नै निरन्तरता दिने विचार गरेको छु,’ 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया