ऐतिहासिकता झल्किने र आधुनिकता टल्किने धरहरा बन्छ : प्रधानमन्त्री ओली

 पुस १२, २०७५ बिहिबार १४:४०:२३ | मदन पौड्याल
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिकता झल्किने र आधुनिकता टल्किने गरी धरहरा बन्ने बताउनुभएको छ । भत्किएकै धरहरा उभ्याउन नसकिने भन्दै प्रधानमन्त्री ओलीले नयाँ बनाउनुको विकल्प नभएको बताउनुभयो । 

बिहीबार धरहराको शिलान्यास गर्दै उहाँले नयाँ धरहरा बनाउँदा नभत्किने गरी बलियो बन्नेमा ध्यान दिएको बताउनुभयो । ‘उस्तै तर बलियो, उस्तै तर नयाँ धरहरा बन्नेछ’, प्रधानमन्त्री ओली भन्नुभयो, ‘सुन्धारामा पनि अनवरत पानीका धारा चल्नेछन् ।’ धरहराले गाडी, मोटरसाइकल समेत आफ्नै खल्तीमुनि राख्ने भएकाले धरहरा हेर्न र चढ्नलाई पनि सहज हुने उहाँको भनाई छ । 

प्रधानमन्त्री ओलीले ऐतिहासिक स्थलमा ऐतिहासिक काम अगाडि बढाउने संकल्पका साथ धरहराको शुभारम्भ भएको बताउनुभयो । उहाँले धरहरा काठमाडौंवासी मात्रै नभएर नेपालीकै प्यारो सम्पदा भएकाले निर्माण कार्यमा सबैले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

अघिल्लो कार्यकालमा ‘म बनाउछु, मेरो धरहरा’ अभियान सफल हुन नसकेको भन्दै उहाँले आफूले सबै नेपालीको मनको भावना र संकल्प व्यक्त गरेको समेत बताउनुभयो । अभियानमा बे्रक लाग्दा तीव्रता नपाए पनि फरक ढंगले नयाँ संकल्पका साथ धरहराको काम अगाडि बढाएको बताउनुभयो । 

धरहरा पुनर्निर्माणसँगै बाटाहरु सुधारिएको, वातावरण र हरियाली बढाइएको काठमाडौं धरहराको टुप्पोबाट हेर्ने चाहना रहेको र पूरा हुने उल्लेख गर्नुभयो । समयभित्रै काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिँदै उहाँले ठेकेदार कम्पनीले प्रतिवद्धता अनुसार दुई वर्षभित्रै काम सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो । भत्किएको पुरानो धरहराको छेउमा पूजापाठ गरेर प्रधानमन्त्रीले धरहराको शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्ट, उद्योगमन्त्री मात्रिका यादव, पर्यटन मन्त्री रवीन्द्र अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया