आखिर कहाँबाट ल्याउँछ तालिबानले पैसा ?

 पुस १२, २०७५ बिहिबार १८:१६:५४ | एजेन्सी
unn.prixa.net

लामो समयदेखि अफगानिस्तानमा रहेर अमेरिकी सेना त्यहाँको आतंकवादी समूह तालिनबानविरुद्ध संघर्ष गर्दै आएको छ ।

तर अहिले अमेरिकी सरकारले अफगानिस्तानमा रहेका आफ्ना सेनालाई फिर्ता बोलाउने योजना बनाउँदै गरेको संकेत देखिन थालेको छ । 

अफगानिस्तानमा अमेरिकी सैनिकले तालिबानसमेत अन्य चरमपन्थी संगठनको विरुद्ध युद्धमा अफगानिस्तान सरकारको सहयोग गरिरहेका छन् ।
अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सन् २००१ मा अफगानिस्तानबाट सत्ताच्यूत गराएको थियो ।

यति गर्दा पनि तालिबानसँग अझै करिब ६० हजार लडाकू छन् । यति मात्र होइन गएको १७ वर्षभित्र अफगानिस्तानमा तालिबानले क्षेत्रीय नियन्त्रणलाई बढाउँदै लगेको छ । अफगानिस्तान सरकार र तालिबानबीच संघर्ष पनि बढ्दै गएको छ ।

यस्तो प्रकारको चरमपन्थी अभियानलाई बढावा दिनको लागि धेरै नै आर्थिक सहयोगको आवश्यकता पर्न जान्छ । यस्तोमा प्रश्न उठ्छ कि तालिबानलाई यति धेरै मात्रामा आर्थिक सहयोग कहाँबाट आउँछ ?

आखिर कति धनी छ तालिबान ?

तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा आफ्नो पकड जमायो । त्यो समयमा अफगानिस्तानमा शरिया कानुन लागू भएको थियो ।
यो संगठनसँग जोडिएको सम्पत्ति कहाँबाट आउँथ्यो भन्ने कुरा बझ्नु एकप्रकारको कल्पना गर्नुजस्तैै हुन जान्छ । किनभने यो जासुसी चरमपन्थी संगठनले आफ्नो बैंक खातासँग जोडिएको कुनै पनि जानकारी प्रकाशित गर्दैन ।

तर बिबिसीले अफगानिस्तानको भित्र र बाहिर यस्ता कतिपय मान्छेहरुसँगको साक्षात्कारबाट यो कुरा भने पत्ता लागेको छ कि तालिबानले एकदमै जटिल अर्थतन्त्र चलाउँछ र चरमपन्थी अभियानलाई चुनौती दिनको लागि कर प्रणालीको प्रयोग गर्ने गर्छ ।

सन् २०११ मा यो संगठनको वार्षिक आय लगभग ४५ अर्ब रुपैयाँ थियो । तर अहिले आएर त्यो रकम  बढेर करिब १ सय ७० अर्ब रुपैयाँ पुगेको मानिएको छ । 

अफगानिस्तान र अमेरिकी सरकारले ती सञ्जालहरुमा लगाम लगाउने प्रयास गरेको छ । केही समय पहिले अमेरिकी सरकारले नशालु पदार्थ बनाउने प्रयोगशालामा

बमबारी गर्ने रणनीति पनि बनाएको थियो । तर तालिबानको कमाई नशालु पदार्थको कारोबारबाट मात्र हुँदैन । संयुक्त राष्ट्रले सन् २०१२ मा तालिबानलाई चेतावनी पनि दिएको थियो । तालिबानको आम्दानीको प्रमुख स्रोत अफिम खेती नै मानिएको छ ।

अफिम, कर प्रणाली र धन आर्जन

अफगानिस्तान विश्वकै सबैभन्दा धेरै अफिम उत्पादन गर्ने देश हो । यहाँ प्रत्येक वर्ष उत्पादन हुने अफिम निर्यात गर्ने हो भने मात्र पनि १ सय ७० देखि ३ सय ५० अर्ब रुपैयाँको धनराशी उत्पादन हुन्छ । अफिमको खेती एक ठूलो व्यापार बनेको छ । विश्वभरी हुने हिरोइनको बढीजसो आपूर्ति पनि यसै क्षेत्रबाट हुने गरेको छ । 

अफगानिस्तामा अफिम खेती गरिने केही स्थानमा सरकारको नियन्त्रण भए पनि धेरैजसो अफिम खेतीमा भने तालिबानको नियन्त्रण रहेको  छ । यसकारण पनि अफिमलाई तालिबानको आम्दानीको मुख्य स्रोत मानिएको छ । तर तालिबानले यस व्यापारको विभिन्न तहमा कर लिने गर्दछ । अफिम खेती गर्ने किसानबाट १० प्रतिशत उत्पादन कर लिने गरेको छ । यसबाहेक अफिमलाई हिरोइनमा बदल्ने प्रयोगशालाबाट पनि कर असुल्ने गरेको छ । यति मात्र नभएर यो अवैध व्यापार गर्ने व्यापारीहरुबाट तालिबानले पनि कर उठाउने गरेको छ ।

यसरी यो व्यापारबाट मात्रै प्रत्येक वर्ष तालिबानको कमाई लगभग १५ देखि ४५ अर्ब रुपैयाँको बीचमा हुने गरेको छ ।

प्रयोगशालामा बमबारी 

ट्रम्प प्रशासनको आक्रामक व्यवहारका दौरान अमेरिकी सेनाले तालिबानको आयस्रोतलाई नष्ट गर्नको लागि अफिमबाट हिरोइन उत्पादन गर्ने ठाउँमा बमबारी सुरु गरेको छ । अमेरिकी सेनाका अनुसार तालिबानको ६० प्रतिशत आम्दानी नशालु पदार्थको कारोबारबाट नै हुने गरेको छ ।

सन् २०१८ को अगस्ट महिनामा अमेरिकाले अफगानिस्तामा रहेका करिब पाँच सय जति नशालु पदार्थ निर्माण गर्ने प्रयोगशालामा बमबारी गरेको दावी गरेको थियो । जसमध्ये आधा भन्दा बढी प्रयोगशाला हेलमण्ड प्रान्तमा थिए ।

यसका साथसाथै यो पनि दावी गरेको थियो कि हवाई हमलाबाट तालिबानको अफिम व्यापारबाट हुने जम्मा कमाईको एक चौथाई भाग नष्ट पारेको छ । 

तर त्यो हवाई हमलाको दीर्घकालीन असर अझै बाँकी नै छन् । प्रयोगशालालाई नष्ट गरेको भए पनि तालिबानलाई पुनः आफ्नै अवस्थामा आउन धेरैे समय र खर्च भने लाग्दैन । तालिबान सामान्यतः नशालु पदार्थको कारोबारमा संलग्न भएको कुरालाई खण्डन गर्ने गर्छ ।

तालिबानको कमाइको अर्को स्रोत के छ ?

तालिबानले अफिमको व्यापारबाहेक अन्य स्रोतबाट  पनि कमाइ गर्ने गरेको छ । सन् २०१८ को सुरुमा बिबिसीले गरेको एक अनुसन्धानात्मक स्टोरीले पत्ता लगाएअनुसार अफगानिस्तनको कुल हिस्साको ७५ प्रतिशत क्षेत्रमा तालिबानको सक्रियता रहेको छ । त्यो क्षेत्रमा बसोबास गर्ने मानिसहरुबाट नै तालिबानले कर असुल गर्ने गरको छ ।

तालिबानको आर्थिक आयोगले यसै वर्ष एक खुला पत्रमा अफगानी व्यापारीलाई तालिबानको नियन्त्रण रहेको क्षेत्रबाट सामान ल्याउन लैजान कर तिर्नुपर्ने भन्दै चेतावनी दिएको थियो ।

यसबाहेक तालिबानले टेलिकम र मोबाइल फोन अपरेटरहरुबाट पनि कमाइ गर्छ । अफगानिस्तानको एउटा बिजुली कम्पनीका प्रमुखले बिबिसीसँग बताएअनुसार तालिबानले प्रत्येक वर्ष बिजुली बेचेर मात्र २२ करोड रुपैयाँ कमाउने गरेको छ ।

तालिबानले नियमित रुपमा हुने संघर्षबाट पनि कमाउँछ । जब कुनै सैन्य अखडा वा सहरी क्षेत्रमा आक्रमण गर्छ त्यहाँबाट उ प्रत्यक्ष रुपमा लाभान्वित हुने गर्छ । यसबाट तालिबानले सरकारी ढुकुटी रित्याउने साथै हतियार, सवारी साधन लगायत अन्य वाहन पनि हत्याउने गरेको छ ।

अफगानिस्तानको खनिज सम्पदा 

अफगानिस्तान खनिज सम्पदाको हिसाबले सम्पन्न देश मानिन्छ । तर अहिलेसम्म चलिआएको संघर्षका कारण यो सम्पदाको उत्खनन भएको छैन । 

अफगानिस्तानमा कम्तिमा पनि १ सय २२ अर्बको रुपैयाँको खनिज उद्योग सञ्चालन भइरहेको छ । धेरैजसो खनिज उत्खनन् अवैध तरिकाले भैरहेको छ । यूएनको एक प्रतिवेदनले बताएअनुसार दक्षिणी हेलमण्ड प्रान्तमा सक्रिय करिब ३० कम्पनीबाट तालिबानले हरेक वर्ष १ सय २२ करोड रुपैयाँ प्राप्त गर्ने गर्छ ।

पूर्वी नांगरहार प्रान्तका गभर्नरले बताएअनुसार त्यो क्षेत्रमा खनिज उत्खननबाट प्राप्त आम्दानी तालिबान र इस्लामिक स्टेटको भागमा आधा–आधा भाग जाने गर्छ ।

उनले अनुमान लगाएअनुसार यी संगठनले त्यहाँबाट बाहिरिने प्रत्येक ट्रकबाट करिब ५६ हजार रुपैयाँ असुल्ने गरेका छन् । र त्यो क्षेत्रबाट हजारौँको संख्यामा ट्रक बाहिरिने गर्छन । तालिबान, स्थानीय व्यापारी र अफगान सरकारका अधिकारीका अनुसार तालिबानले देशभरी उत्खनन हुने खनिजबाट प्रत्येक वर्ष ५६ करोड रुपैयाँ प्राप्त गर्ने गरेको छ ।

विदेशी स्रोतबाट आम्दानी  

कतिपय अफगानी र अमेरिकी अधिकारीहरु पाकिस्तान, इरान तथा रुसी सकारले तालिबानलाई आर्थिक सहयोग गर्ने गरेको पनि बताउँछन् ।

त्यस्तै खाडी देशअन्तर्गत साउदी अरब, यूएई, पाकिस्तान तथा कतारमा बस्ने कतिपय व्यक्तिहरुले तालिबानलाई सहयोग गर्दै आएका छन् ।

अझै पनि तालिबानको कमाइ यही हो भनेर ठ्याक्कै अनुमान गर्न सकिने अवस्था छैन । तर विज्ञहरुका अनुसार तालिबानको वार्षिक रुपमा ५६ अर्ब रुपैयाँ बराबरको कमाइ हुने गरेको छ ।

–बिबिसी हिन्दीबाट
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया