रुकुम पश्चिममा सर्वसाधारण र प्रहरीबीच झडप : दुई प्रहरी घाइते, नौजना पक्राउ

 पुस १३, २०७५ शुक्रबार १४:३७:२६ | राजु लामिछाने
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुकुम पश्चिम – व्यक्तिगत सम्पत्ति क्षति गरेर सडक निर्माण गर्न खोजिएको भन्दै विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ ।

झपडमा परि दुईजना प्रहरी घाइते भएका छन् भने नौजनालाई प्रहरी पक्राउ गरेको छ । सडक निर्माणमा अवरोध गरिरहेकालाई सम्झाउन गएको प्रहरीमाथि आक्रमण गरेको भन्दै रुकुम प्रहरीले नौजनालाई पक्राउ गरेको हो ।

चौरजहारी नगरपालिका–७, मेलैनाउलीमा सडक निर्माणको क्रममा स्थानीयवासीले अवरोध गरेपछि अवरोध हटाउन गएको प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

पक्राउ पर्नेहरुमा चौरजहारी नगरपालिका–४, का २८ वर्षीय निरक भण्डारी र सोही ठाउँका ३० वर्षीय प्रकाश भण्डारी, वडा नम्बर–४, का ३३ वर्षीय चन्द्रबहादुर खड्का, ८ नम्बर वडाका २८ वर्षीय सविन बुढाथोकी, ८ नम्बर वडाकै ३२ वर्षीय बालाराम जैसीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी चौरजहारी नगरपालिका–७, का वीरबहादुर कुमाल, सोही ठाउँका ३२ वर्षीय खेमराज शर्मा, १४ नम्बर वडाका २३ वर्षका नरेश लामिछाने र चौरजहारी नगरपालिका–७, का ३८ वर्षीय शंकर जैसी पनि पक्राउ परेको डीएसपी खड्काले बताउनुभयो । 

उहाँका अनुसार सथानीयवासीको आक्रमणमा एक हवल्दार र एक जवान प्रहरी घाइते भएका छन् । प्रहरी हवल्दार निर्मला विक र प्रहरी जवान टेकबहादुर बस्नेत घाइते भएका हुन । विकको ढाडमा चोट लागेको छ भने बस्नेतको ढाड र घुँडामा चोट लागेको छ । बिहीबार बेलुका पक्राउ परेका उनीहरुलाई शुक्रबार बिहान जिल्लामा ल्याइएको छ ।  

मेलैनाउली–तिल्केझार–मन्कोट विद्यालय हुँदै मन्कोट गाउँ पुग्ने सडक निर्माणको क्रममा मेलैनाउलीमा अवरोध गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । चौरजहारी नगरपालिकाले सडक निर्माणमा सहज गरिदिन आग्रह गरेपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सडक निर्माणको अवरोध हटाउने सहजिकरण गर्न प्रहरी मेलैनाउली पुगेको प्रहरीले भनाई छ ।

चौरजहारी नगरपालिकाले सडक निर्माणको क्रममा सात नम्बर वडाको श्रम सहकारी मार्फत उक्त सडक निर्माण गरिरहेको थियो । तीन किलोमिटर लामो सडकमध्ये ५० मिटर सडक निर्माणमा अवरोध भएको चौरजहारी नगर प्रमुख विशाल शर्माले बताउनुभयो । 

आफ्नो खेतमा सडक निर्माण गर्न दिइन्न भनेर सडक निर्माण कार्यमा अवरोध गरेपछि प्रहरीले स्थानीयवासीलाई नियन्त्रणमा लिएको नगरप्रमुख शर्माको भनाई छ । नेपाली कांग्रेसले रुकुमले घटनाप्रति आपत्ति प्रकट गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले राजनीतिक प्रतिशोधका कारण सडकको नाममा सर्वसाधारणको उठिबास लाउने कार्य भएको बताउनुभयो ।

नजिकै सडक हुँदा हुँदै व्यक्तिगत सम्पत्ति क्षतिका लागि स्थानीय सरकार लागि परेको आरोप सभापति ओलीको छ । विज्ञप्तिमार्फत सभापति ओलीले सडक निर्माण कार्य तत्काल रोक्न र प्रहरीले नागरिकमाथि लाठी चार्ज गरेर दमन गर्न बन्द गर्नुपर्ने माग गरिएको छ । 

सोही सडक निर्माणमा अवरोध भएपछि गएको मंसिर २८ गते निर्माण समितिले नै मुख्य सडक भत्काएर यातायात अवरुद्ध गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया