बहुपति प्रथाको कथामा बनेको चलचित्र ‘टुल्की’ मा बेनिशा हमाल

 पुस १३, २०७५ शुक्रबार १६:४५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अभिनेत्री बेनिशा हमाल नेपाली चलचित्र क्षेत्रमा त्यति जम्न सकेकी छैनन् ।

उनले निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेको चलचित्र ‘स्वर’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन् । त्यसपश्चात उनले नेपाली चलचित्र ‘मोक्ष’, ‘ज्यान हाजिर छ’, ‘म अनि तिमी’, ‘ब्लाइन्ड रक्स’ लगायतका चलचित्रहरुमा काम गरेकी थिइन् ।

तर उनी अभिनित चलचित्रहरुलाई दर्शकले अपेक्षाकृत रुचाउन सकेका छैनन् । उनले विभिन्न म्युजिक भिडियोहरुमा समेत काम गरिसकेकी छिन् । 

उनी पुनः एक पटक नयाँ चलचित्रमा काम गर्न लागेकी छिन् । उनले काम गर्न लागेको नयाँ चलचित्रको नाम ‘टुल्की’राखिएको छ । लक्ष्मण सुनारले निर्देशन गर्न लागेको चलचित्र ‘टुल्की’ नारीप्रधान चलचित्र हो । 

चलचित्रका लागि बेनिशा हमाल फाइनल भइसके पनि अन्य कलाकारहरुको भने टुंगो लाग्न बाँकी छ ।  अन्य कलाकारको खोजी भइरहेको बताइएको छ । बेनिशा हमालले यो चलचित्रका लागि वर्कआउट पनि सुरु गरिसकेको बताइएको छ ।

चलचित्र ‘टुल्की’ मा बहुपति प्रथाको कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ । चलचित्रको कथामा ‘टुल्की’का ५ वटा श्रीमान हुनेछन् । चलचित्रको कथा बेनिशाकै वरिपरि घुम्ने छ । चलचित्रको छायांकन माघको १५ गतेबाट सुरु गर्ने निर्देशक सुनारले बताए । 


– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया