पुलिससँगको हारपछि लिगको दोस्रो स्थानमा रहने लक्ष्यमा थ्रीस्टारलाई धक्का

 पुस १३, २०७५ शुक्रबार १७:४२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब नेपाल पुलिससँग तीन–एकले पराजित भएको छ । हारपछि थ्रीस्टारको लिगको दोस्रो स्थानमा रहने लक्ष्यमा ठूलो धक्का लागेको छ ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा थ्रीस्टारले एक गोलको अग्रता जोगाउन सकेन । खेलको १२ औँ मिनेटमा विदेशी खेलाडी अल्ब्रेटको गोलमार्फत अग्रता बनायो । पुलिसका गोलकिपरको गल्तीको फाइदा उठाउदै उनले गोल गर्न सफल भए । तर २० औँ मिनेटमा पुलिसले खेल बराबरी गर्न सफल भयो । उसका लागि निरकुमार राईले गोल गरे । 

त्यसपछि पनि दुवै टिमले केही मुभ बनाए पनि गोल गर्न सकेनन् । पहिलो हाफ एक–एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा पुलिसले दुई गोल थप्यो । खेलको ४७ औँ मिनेटमा थ्रीस्टारका विजय धिमालले डिबक्समा हातले बल छोएपछि पाएको पेनाल्टीलाई पुलिसका अभिशेक रिजालले गोल गर्न सफल भए ।

त्यसपछि ५५ औँ मिनेटमा पुलिसका कप्तान भोला सिलवालले थ्रीस्टारको डिफेन्स र गोलकिपरलाई बिट गर्दै उत्कृष्ट गोल गरे । 

खेलको ८६ औँ मिनेटमा थ्रीस्टारले पेनाल्टीको अवसर पाएको थियो । तर रञ्जित धिमालको प्रहार पुलिसका गोलकिपरले बचाए । त्यसपछि थ्रीस्टार खेलमा फर्कन सकेन र पराजित भयो । जारी लिगमा उसको यो दोस्रो हार हो । 

हारपछि थ्रीस्टार लिगको तेस्रो स्थानमा नै रहेको छ भने पुलिस १८ अंकका साथ पाचौँ स्थानमा उक्लिएको छ । 
 

अन्तिम अपडेट: चैत २०, २०८०

तपाईको प्रतिक्रिया