वर्षौँपछि हुलाकी सडकको अवरोध हटाउने सहमति

 पुस १३, २०७५ शुक्रबार १८:३४:११ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जदेखि कट्कुइयासम्म निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको वर्षौँदेखिको विवाद समाधान गर्ने सहमति भएको छ । 

राप्तीपारि नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियास्थित सडक नक्सांकन, मुआब्जा विवाद र निर्माण कार्यमा देखिएको अवरोध समाधान गर्ने सहमति भएको हो ।  हुलाकी सडक अन्तर्गत नेपालगञ्ज–कम्दी खण्डमा कालोपत्रे भइरहँदा मटेहियामा भने विवादका कारण ग्राभेलसम्म हुन सकेको छैन ।

मटेहियामा हुलाकी सडक उत्तरतर्फबाट लैजाने कि  दक्षिणतर्फबाट भन्ने विवादसँगै जग्गा फिर्ता र मुआब्जालगायतका विषयमा जग्गाधनीबीच विवाद थियो । हाल चाल रहेको हुलाकी सडकखण्ड भन्दाफरक सर्भे(उत्तर) र नापी भएपछि उत्पन्न विवाद बढ्न गई ०७५ वैशाखदेखि सडकको निर्माण कार्य नै रोकिएको छ । पूर्व र पश्चिमतर्फ सडक ग्राभेल भइसकेको छ भने अवरोध भएको त्यसखण्डको ३ सय मिटर बाटो खाल्डाखुल्डीकै स्थितिमा रहँदा आवागमनमा समेत कठिनाई भइरहेको छ । 

विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको छलफलमा चालु सडकलाई नै कायम राख्ने गरी निर्माण कार्यलाई अविलम्व बढाउने,  निर्माणमा अवरोध नगर्ने, उत्तरतर्फको सडक नक्सामा परेको (व्यक्तिगत) जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाउने  र चालु सडकमा पर्ने जग्गाको मुआब्जा दिने कुरामा लिखित सहमति कायम गरिएको छ ।

सहमति भए अवरोध क्षेत्रमा एक हप्ताभित्र निर्माण सामाग्रीसहित काम सुरु गर्ने तयारी भइरहेको निर्माण कम्पनीले जानकारी दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । विवाद समाधानका लागि सम्वाद समूह, बाँकेले सहजीकरण गरेको थियो 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया