बुवा डेढ वर्षदेखि साउदीको अस्पतालमा बन्धक, छोरीको बिहे समाजसेवीले गरिदिए

 बैशाख २६, २०७५ बुधबार १२:४८:० | शैलेन्द्र महतो
unn.prixa.net

शैलेन्द्र महतो/उज्यालो ।

धनुषा, वैशाख ११ – साउदीको अस्पतालमा बन्धक बनाइएका जनकपुरका धर्मनाथ पासवानकी छोरीको विवाह एक समाजसेवीले गरिदिएका छन् ।

बिरामी भएर अस्पताल भर्ना भएका पासवानले उपचारको पैसा तिर्न नसक्दा अस्पतालमा नै गएको डेढ वर्षदेखि बन्धक बनाइएका छन् ।

जनकपुर उपमहानगरपालिका २० देवपुरा रुपैठा घरभएका ३५ वर्षीय धर्मनाथ पासवान घर फर्कन नसकेपछि उनकी छोरीको विवाह जनकपुरका समाजसेवी एवं असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथ साहले गरिदिएका हुन् । 
साहको आर्थिक सहयोगमा धर्मनाथकी १९ वर्षकी जेठी छोरी अञ्जलीकुमारी पासवानको विवाह सोमबार सम्पन्न भएको हो ।

महोत्तरीको रानिरतबारा बस्ने चन्द्र पासवानका २२ वर्षीय छोरा गोविन्द पासवानसंँग अञ्जलीको विवाह सोमबार सम्पन्न भएको हो । आर्थिक अवस्था कमजोर भएका पासवान परिवारलाई आफ्नो आर्थिक सहयोग साथै चन्दा संकलनबाट विवाह गर्न सहयोग गरेको साहले बताउनुभयो ।

आफ्नो  परिवारलाई समाजसेवी साहले आर्थिक साथै सरसामानको सहयोग गरेका कारण छोरीको विवाह सम्भव भएको धर्मनाथकी श्रीमती ललिता पासवानले बताउनुभयो ।

वैदेशिक रोजगारमा कमाउन गएका घरकै मूल अभिभावक नै दुर्घटनामा परेर गम्भीर घाइते परेर अशक्त भएपछि घरको छाँक टार्न समेत धौधौ भएको बेला छोरी बिहे गर्ने उमेरकी भएपछि घरपरिवार चिन्तामा डुबेका थिए ।

तर समाजसेवी साहले धर्मनाथकी छोरीको विवाह गर्न आर्थिक, फर्निचर, लत्ताकपडा, भाँडाकुँडा र भोजभतेरको सरसमान जोडिदिएपछि छोरीको विवाह सम्भव भएको हो ।

गाउँमै च्यूरा मुरही बेचेर जसोतसो साँझ बिहानको छाँक टोर्ने धर्मनाथको परिवार छोरीको विवाह सम्पन्न गर्न साहले सहयोग गरेपछि निकै खुशी भएका छन् ।

‘हामीलाई त साँझ बिहान कसरी काट्ने चिन्ता छँदैछ, झन् हाम्रो समाजमा छोरी जवान भएपछि कसरी बिहे गर्ने भन्ने चिन्ताले पिरोलिरहेको थियो’, धर्मानन्दकी श्रीमती ललिताले भन्नुभयो, ‘समाजसेवीको सहयोगले मात्र छोरीको विवाह सम्भव भएको हो । हामीले समाजसेवी साहको उपकारलाई जति सराहना गरे पनि कमै हुन्छ ।’

ललिताले पैसा तिर्न नसकेर अस्पतालमा बन्धक बनाइएका आफ्ना पतिलाई पनि स्वदेश ल्याइदिन सबैसँग आग्रह गर्नुभयो । समाजसेवी साहले भने असहाय परिवारमा हुर्केकी छोरीको विवाह गर्न पाएकोमा निकै खुशी लागेको प्रतिक्रिया दिनुभयो ।

समाजसेवी साहले यसअघि गएको मंसिर महिनामा असहाय परिवार जनकपुर उप–महानगरपालिका–७, बेलाकुट्टी बस्ने राजकुमार साहका छोरी रानी साहको विवाह पनि गराउनु भएको थियो । राजकुमार शारिरीक रुपमा अपांग र घरको आर्थिक अवस्था दयनीय रहेकाले उहाँको छोरीको विवाहको लागि समाजसेवी साहले आर्थिक, फर्निचर, भाडाकुडा, लत्ताकपडा समेत जोरजाम गर्नुभएको थियो ।

‘आफ्नो लागि सबै बाँच्छन्, आफ्नो साथसाथै समाजमा रहेका असहाय, दुखी, पीडितहरुलाई पनि सहयोग गर्नु नै मानवको सबैभन्दा ठूलो धर्म हो’, साहले भन्नुभयो, ‘यस्तो कार्यहरु गर्दा आनन्द आउँछ , आत्माले शान्ति पाउँछ ।’  

बेला–बेला असहायहरुको उपचार र सरसफाई अभियानमा सक्रिय समाजसेवी साहले अञ्जलीको विवाहमा डेढ लाख रुपैयाँभन्दा बढी रुपैयाँ खर्च भएको बताउनुभयो। 

को हुन् धर्मनाथ ?

जनकपुर उपमहानगरपालिका–२०, देवपुरा रुपैठा बस्ने जुल्मा पासवानका ३५ वर्षका छोरा हुन् धर्मनाथ पासवान । दुई वृद्ध आमाबुवा, श्रीमती, चार छोरी र एक छोराका बुवा धर्मनाथ नेपाल हुँदा आइस क्रिम बेचेर घरपरिवारको जोहो गर्नुहुन्थ्यो ।

धर्मनाथका ४ छोरी अञ्जनी (१९ वर्ष), रजनी (१६ वर्ष), सञ्जु (१४ वर्ष), अञ्जु (२ वर्ष) छन् भने एक छोरा रबी १२ वर्षका छन् ।

गाउँमै आइस क्रिम बेचेर घर चालउन मुस्किल भएपछि २०७१ वैशाखमा धर्मनाथ वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुग्नुभएको थियो ।

साउदी पुगेर पासवानले अब्दुल्ला सहिद अल घमादी कम्पनीमा लेबरको काम गर्न सुरु गर्नुभयो । तर उहाँले चाहेको काम अनुसार तलब पाउन नसकेपछि आफूलाई खान, कोठाको भाडा तिर्न पनि गाह्रो भयो ।

त्यसपछि धर्मनाथले त्यहाँबाट भागेर अर्को कम्पनीमा काम गर्न सुरु गर्नुभयो । तर एक सात नबित्दै धर्मनाथ दुर्घटनामा पर्नुभयो । दुर्घटनामा गम्भीर घाइते भएर धर्मनाथ हस्पिटलमा भर्ना हुनुभयो । बार्‍ह दिनसम्म होश आएन । होश आएपछि धर्मनाथलाई शरीरको एक भाग नचल्ने रोगले च्याप्यो ।

अहिले पनि धर्मनाथ त्यसै अस्पतालमा भर्ना हुनुहुन्छ । धर्मनाथलाई झिकाउन ४१ हजार रियाल लगभग १२ लाख नेपाली रुपैयाँ अस्पताललाई तिर्नुपर्छ । तर परिवारको अवस्था गाँसबासको लागि पनि मजदुरी गर्नुपर्ने भएकाले उहाँ अस्पतालमा नै बन्धक भएर बस्नुभएको छ ।

उहाँलाई त्यति मात्रै खर्चले ल्याउन सकिँदैन, उहाँको लागि छुट्टै प्लेनसिटको व्यवस्था गर्नु पर्ने छ जसको लागि पनि लाखाैं खर्च हुने घरपरिवारले जनाएको छ ।

पीडित परिवार वैदेशिक रोजगारसँग सम्बन्धित निकायहरुमा धर्मनाथलाई झिकाउन गुहार मागेका छन् । तर निकायबाट आश्वासन भेटे पनि अस्पतालमा रहेको छोरालाई कसैले ल्याउन नसकेको धर्मनाथका बुवा जुल्मा पासवानको गुनासो छ । छोरालाई घर फर्काइदिन बुवा जुल्माले सबैसँग गुहार माग्नुभएको छ ।

याे पनि पढ्नुहाेस्

पैसा नहुँदा साउदीको अस्पतालमा छोरा अलपत्र, बुवा भन्छन् ‘बरफ बेचेर कसरी फर्काउँ ?

अन्तिम अपडेट: चैत ९, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया