आमाले सिध्याइन् हजुरआमा !

 पुस १४, २०७५ शनिबार ८:५६:२७ | मिलन तिमिल्सिना
unn.prixa.net

शहरको कुरै छाडौँ, हिजोआज गाउँघरमा पनि हजुरआमा भेटिँदैनन् ।

भरे भोलि नै अस्ताउन ठीक्क परेका केही बुढी आमाहरु बाहेक अरु सबै आमाहरु हजुरआमा हुन छाडेका छन् । भएभरका आमाले हजुरआमालाई सिध्याउन थालेपछि अबको दुई चार वर्षमा हजुरआमा खोज्न गूगल र शब्दकोषको मात्र भर पर्नुपर्ने हो कि भन्ने डर बढेको छ । 

आफूलाई ड्याडी, बाबा, ममी, मामु भनेको सुन्न मन पराउने हिजोआजका बाआमादेखि छोराछोरी, नातिनातिनासम्मले यस्तो डर बढाउने काम गरेका छन् । कसरी ? लौ हेर्नुहोस् खोज्नै नसक्नेगरी बिलाउन थालेका हजुरआमा र थाम्नै नसक्नेगरी फैलिएका आमाहरुको कथा ।

हजुरबालाई बा भनेजस्तै हजुरआमालाई पनि आफ्ना छोराछोरीले आमा नै भन्ने भए । छोराछोरीको बिहे नहुँदासम्म आमा भन्नेहरु तिनै छोराछोरी मात्रै थिए । छरछिमेकीले पनि काकीआमा, ठूलीआमा, माथ्लाघरकी आमा, तल्लाघरकी आमा, वल्लोघरकी आमा, पल्लाघरकी आमा, गैरीगाउँकी आमा, पल्लो गाउँकी आमा भनेर बोलाउँथे । घरमा आएका र बाटोमा भेटिएका केही नचिनेका मान्छेहरुले चाहिँ आमा मात्रै भनेर पनि बोलाउँथे । तर यसरी आमा भन्नेहरु कहिलेकाहीँ मात्रै भेटिने भएकाले हजुरआमालाई त्यति अलमल थिएन । 

छोराछोरीको बिहे भैसकेपछि भने हजुरआमालाई आमा भन्नेहरुको ताँती लाग्न थाल्यो । हजुरबालाई बा भन्ने ज्वाईँ र बुहारीले हजुरआमालाई चाहिँ सासुआमा भनेनन् । आमा नै भनेर बोलाउन थाले । हुँदाहुँदै कहिलेकाहीँ भेट हुने ज्वाईँका दिदीबहिनी र दाजुभाइले पनि आमा नै भन्न थाले, बुहारीका दिदीबहिनी र दाजुभाइले पनि त्यसै भन्न थाले । 

बुहारी ल्याएका छोराहरुको सन्तान भयो । ज्वाईँसित गएका छोरीहरुका पनि छोराछोरी भए । उनीहरुले त हजुरआमा भन्लान् भन्ने कत्रो आशा थियो बुढीआमाको, तर नातिनातिनाले पनि हजुरआमा भनेनन् । हजुरबालाई बा भनेजस्तै हजुरआमालाई पनि आमा भन्न थाले ।

कहिलेकाहीँ पिँढीमा बसेर बुढीआमै झोक्राएर सोच्छिन्, छोराको पनि आमा, छोरीको पनि आमा, ज्वाईँ र बुहारीको पनि आमा, ज्वाईँ र बुहारीका दिदीबहिनी तथा दाजुभाइका पनि आमा, नातिनातिनाका पनि आमा । चाडपर्व र काजकर्ममा भएजतिका सबै एकैठाउँमा जम्मा हुँदा यसले, उसले, त्यसले, सबैले एकपटक आमा भनेर बोलाए भने कसले बोलाउँदा चाहिँ हँ भन्ने ? 

छोराछोरीले मात्र आमा भन्दा पो आमा हुनुको स्वाद हुन्छ । हजुरआमा हुनुको मज्जा आमामा मात्रैमा कहाँ मिल्छ ? अनि सासूआमा या सासू भनेर कसैले बोलाउँदा जत्तिको आनन्द आमामा कसरी पाइन्छ ? त्यसमाथि हजुरआमा भन्ने बोलाईमा कति धेरै मिठास, ओज र रस छ । 

आमा आफैमा ओजिलो र गर्विलो शब्द, त्यसमाथि हजुर थपिएपछि मात्रै गाढा र चहकिलो सम्बन्ध गाँसिन्छ । आफैमा पूर्ण र ओजिलो आमाबाट कहिलेकाहीँ भरिपूर्ण स्नेह र आशीर्वाद छुट्न सक्छ । त्यतिबेला आमासँग हजुर मिसिएर बनेको हजुरआमाको सम्बन्धले खाली ठाउँ भरिदिन्छ । माया र स्नेह गाढा बन्छ । त्यसैले भनिन्छ नि, साउँभन्दा ब्याज प्यारो । अर्थात हजुरआमालाई छोराछोरीको भन्दा पनि नातिनातिना बढी प्यारा हुन्छन् । नातिनातिना हजुरआमा भन्दै झुम्मिन आउन्, काखमा लडिबुडी खेलून् भन्ने बुढीआमालाई कति धेरै रहर हुन्छ । 

तर आधुनिक भै टोपलेका हिजोआजका मान्छेले आमाभन्दा अघिल्तिर मिसिएको हजुरलाई सिध्याए । आमामाथि अर्को आमा थपेर आफैलाई अलमलमा पार्नेे काम स्वयम् आमाले नै गरेकी छिन् । छोराछोरीले तोतेबोली बोल्न थालेपछि बाउभन्दा आमा नै अघि सरेर भन्छिन्, ‘मलाई ममी भन ।’ अनि तेल घसिदिने र माम खुवाइदिने हजुरआमालाई देखाउँदै भन्छिन्,  ‘उहाँ चाहिँ बाबु-नानीको आमा ।’

बिचरा त्यो शिशु अल्मलिन्छ । तोतेबोली बोल्न थाल्दा उसले पहिले आ र त्यसपछि बा मात्रै भन्न जानेको हुन्छ । आ आ भन्दा भन्दै आमा भन्न सिक्छ । आमासँगै बा भन्न सक्छ । त्यसपछि बिस्तारै अरु शब्दसँगै हजुरबा र हजुरआमा भन्न जान्छ । ममी, मामु र ड्याडीजस्ता अप्ठेरा शब्द भन्न त उसलाई निकै पछि मात्र आउँछ । 

ममी र मामूभन्दा आमा भन्न सजिलो हुने, अनि आमा चाहिँ आफ्नो आमालाई भन्न नमिलेर हजुरआमालाई भन्न परेपछि छोराछोरी पछि गएर न आमासँग नजिक हुन्छन्, न हजुरआमासँग । हजुरबा र हजुरआमाले त यो कुरा बुझेका छन् । तर बुझ्नुपर्ने बाउआमाले बुझ्दैनन् । 

नबुझ्नेहरु बढ्दै जाँदा हजुरबा जस्तै हजुरआमा पनि हैरान छिन् । आमा भनेको त आफूलाई जन्म दिने स्त्री, जननी, माता । यो अर्थले त आफ्ना छोराछोरीले मात्रै आमा भन्न मिल्छ । आमा भन्ने हो भने उसलाई आफूले जन्माएको हुनुपर्छ । तर न आफूलाई आमा भन्ने ज्वाईँलाई आफूले जन्माएको, न बुहारीलाई ।

न त आफ्नो आमालाई ममी भन्दै आफूलाई आमा भन्ने नातिनातिनीलाई नै आफूले जन्माएको । अर्थ खोतल्दै, केलाउँदै जाँदा छरछिमेकीले कुरा काट्ने डरले हजुरआमा हजुरबाले जस्तै चुप बस्न बाध्य छिन् । 

यो पनि पढ्नुहोस्

 माथ्लोघरका हजुरबा कसका मात्रै बाउ ! 

अन्तिम अपडेट: चैत ६, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया