कालिकोटका आगलागी पीडितको घर प्रदेश सरकारले बनाइदिने

 पुस १४, २०७५ शनिबार ११:५२:२६ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कालिकोटका आगलागी पीडितका लागि घर निर्माण गर्न कर्णाली प्रदेश सरकारले पाँच लाख दिने भएको छ ।

पलाता गाउँपालिका वडा नम्बर–१, न्यौपानेखाडा गाउँका आगलागी पीडित परिवारको पुनःस्थापनाका लागि पुर्नस्थापना कार्यक्रम सञ्चालन गरेर आवास निर्माणको काम प्रदेश सरकारले जिम्मा लिने निर्णय गरेको हो । 

शुक्रबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोग र प्रतिपरिवार पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । सरकारको प्रवक्तासमेत रहेकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले शनिबार पत्रकार सम्मेलन गरेर निर्णयहरु जानकारी गराउँदै एकीकृत बस्ती विकासकै मोडलमा प्रदेश सरकारले आवास निर्माण गर्ने बताउनुभयो । 

उहाँले आगलागी पीडितहरुको पुनःस्थापनाका लागि अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँग समन्वय गर्ने बताउनुभयो । उहाँले परिवारको व्यक्तिको खातामा रकम नहालिदिएर प्रदेश सरकारले आफै एकीकृत बस्ती विकासको मोडल अनुसार घरहरु निर्माण गरिने जानकारी दिनुभयो ।

‘हामीले आवास निर्माणका लागि प्रदेश सरकारले आफै जिम्मा लिन्छ  । नक्सा कोर्ने, प्राविधिक सहयोग सबै प्रदेशको हुन्छ । प्रदेश सरकारकै कोषबाट रकम दिन्छौँ’, उहाँले भन्नुभयो, ‘नमुना बस्तीको रुपमा विकास गरेर हामीले आवास हस्तान्तरण गर्छौँ । यसको नेतृत्व प्रदेश सरकारले लिन्छ । ’ उहाँले आगलागी भएकै ठाउँमा आगलागीबाट ध्वस्त भएको संरचना पन्छाएर घरहरु निर्माण गरिने जानकारी दिनुभयो । 

उहाँले त्यहाँ बन्ने सबै घर एउटै डिजाइनको हुने बताउनुभयो । उहाँले राहत वितरण सबै आ–आफ्नै तरिकाले भइरहेको भन्दै कार्यविधि बनाएर नै एकद्वार प्रणालीबाट राहत वितरण गर्ने पनि बताउनुभयो । बस्ती निर्माणका लागि अन्य संघसंस्थाहरुबाट पनि सहयोग गर्ने चाहना देखाएको जानकारी दिँदै उहाँले त्यहाँको खानेपानीलगायतका अन्य आवश्यक विषयमा काम गर्ने विषयमा छलफल गर्ने  पनि उहाँले जानकारी दिनुभयो । 

यही पुस ८ गते कालिकोटको पलाता गाउँपालिका वडा नम्बर –१, न्यौपानेखाडा गाउँमा आगलागी हुुँदा ८७ घर जलेर नष्ट भएका थिए । आगलागीबाट करिब ४ करोड ३५ लाख बराबरको क्षति भएको थियो । यसअघि प्रदेश सरकारले प्रतिपरिवार तत्तकाका लागि २० हजार र आवश्यक खाद्यान्न र लत्ताकपडा उपलब्ध गराइसकेको छ । 

प्रदेश मातहतका अस्पतालमा व्यवस्थापन समितिमा अध्यक्ष चयन 

यस्तै शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश मातहत रहेका प्रदेश र जिल्ला अस्पतालहरुको व्यवस्थापन समितिको अध्यक्ष  र सदस्य मनोनयन गरेको छ । बैठकले प्रदेश अस्पताल सुर्खेतको व्यवस्थापन समितिको अध्यक्षमा वीरेन्द्रनगर–४, का श्यामलाल कँडेल र सदस्यमा हरिमाया शर्मालाई मनोनयन गरेको छ । 

यस्तै मन्त्रिपषिद बैठकले जिल्ला अस्पताल सल्यानको व्यवस्थापन समितिको अध्यक्षमा दामोदर गौतम, मुगुको अध्यक्षमा पारसमणि मल्ल, डोल्पाको अध्यक्षमा तेजेन्द्रबहादुर रोकाय, हुम्लाको अध्यक्षमा छेपाल दोर्जे तामाङ्ग, कालिकोटमा सरोज बोगटी, दैलेखमा लोमन शर्मा, जाजरकोटमा धर्मशिला बस्नेत, रुकुममा सुन्दर वली, सुर्खेतको मेहेलनकुना अस्पतालमा मानबहादुर खत्री, सुर्खेत आयुर्वेद औषधालय सुर्खेतमा ओमबहादुर बोहोरा र जुम्ला आयुर्वेद औषधालयमा मनोज बुढाथोकी मगरलाई मनोनयन गरिएको मन्त्री केसीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया