५५ महिनामा ९२ देशको भ्रमण : भारतीय प्रधानमन्त्री मोदीले सके २० अर्ब !

 पुस १४, २०७५ शनिबार १८:०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री भएपछि अहिलेसम्म ९२ वटा देशहरुको भ्रमण गरेका छन् । उनले पटक–पटकको भ्रमण गरेर ५५ महिनाको कार्यकालमा ९२ देशको भ्रमण गरेका हुन ।

मोदीले मनमोहन सिंहको भन्दा एक पटक कम विदेश भ्रमण गरेका छन् । मनमोहन सिंहले प्रधानमन्त्रीको कार्यकालमा पटक–पटकको भ्रमणसहित ९३ देशको भ्रमण गरेका थिए ।

मोदीले प्रत्येक देशको भ्रमणमा २२ करोड भारतीय रुपैयाँ खर्च गरेको खुलेको छ । मोदीको सबैभन्दा महंगो भ्रमण सन् २०१५ को फ्रान्स, जर्मनी र क्यानडाको रहेको छ । उनले त्यसबेला जहाज चार्टर गरेर ती देशको भ्रमण गरेका थिए ।

सन् २०१५–०१६ मा मोदीले अमेरिका, बेलायत, जर्मनी, क्यानडालगायत २४ देशको भ्रमण गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गएको चार वर्ष सात महिनादेखि निरन्तर रुपमा ‘पावर’ मा छन् ।

अबको केही महिनापछि हुन लागेको लोकसभापछि भारतमा नयाँ प्रधानमन्त्री बन्ने रस्साकस्सकी चल्नेछ । त्यो भन्दा अगाडि मोदीले आफ्नो कार्यकाल चलाइरहनेछन । आउँदो लाकसभाको चुनावभन्दा अघि मोदीले अझै थप दुई देशको भ्रमण गर्ने कार्यतालिका रहेको छ । त्यो भ्रमण पूरा गर्दा मोदीले धेरै देशको भ्रमण गर्ने दोस्रो प्रधानमन्त्री रुपमा आफ्नो छबि बनाउनेछन् ।

यसभन्दा अघि भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले ११३ देशको भ्रमण गरिसकेकी छिन् । उनी प्रधानमन्त्रीको कार्यकालमा धेरै देशको भ्रमण गर्ने पहिलो प्रधानमन्त्री बनेकी छिन् । उनीपछि मोदी दोस्रो स्थानमा पर्ने पक्का पक्की छ । अहिलेसम्म मोदीले ९२ देशको भ्रमण गरेका छन् । अब एक देशको भ्रमण गर्दा मोदी र भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको विदेश भ्रमण बराबरी हुने छ ।

मोदीले ९२ देशको भ्रमण ५ वर्षको कार्यकालभन्दा अघि गरेका हुन भने मनमोहन सिंहले ९३ देशको भ्रमण दुई पटकको कार्यकालको रुपमा १० वर्षभरमा गरेका हुन । त्यस्तै इन्दिरा गान्धीले १५ वर्षको कार्यकालमा ११३ देशको भ्रमण गरेकी हुन ।

मोदीको भ्रमणमा जहाजको मर्मत, फ्लाइट चार्टर तथा हटलाइन फ्यासिलिटीको खर्च मात्रै २,०२१ करोड भारतीय रुपैयाँ अर्थात २० अर्ब २१ करोड भारतीय रुपैयाँ पुगेको इण्डिया टुडेले जनाएको छ । यसमा होटललगायतका खर्च पनि जोडिएको छैन ।

मनमोहन सिंहले भने पाँच वर्षमा १,३५० करोड भारतीय रुपैयाँ खर्च गरेका थिए । मोदीले प्रत्येक देशको भ्रमणमा २२ करोड भारतीय रुपैयाँ खर्च गरेको देखिन्छ भने मनमोहन सिंहले भने पाँच वर्षको कार्यकालमा ५० देशको भ्रमण गर्दा प्रत्येक देशको भ्रमणमा २७ करोड खर्च गरेको देखिन्छ ।

त्यसअर्थमा सिंहको भन्दा मोदीको भ्रमण सस्तो भएको देखिन्छ । यो खर्च कम हुनुको उद्देश्य भने मोदीले प्रत्येक देशको भ्रमण गर्दा थोरै समय बिताएको देखिन्छ भने मनमोहन सिंहले हरेक देशको भ्रमण गर्दा धेरै समय बिताएको देखिन्छ ।

भारतीय राज्यसभामा मन्त्रीले प्रस्तुत गरेको डाटा अनुसार मोदीको सबैभन्दा महंगो भ्रमण फ्रान्स, जर्मनी र क्यानडाको रहेको छ । सन् २०१५ को अप्रिल ९ देखि अप्रिल १७ सम्मको भ्रमणमा मोदीले सबैभन्दा महंगो गरी फ्लाइट चार्टर गरेको र ती देशमा ३१.२५ करोड भारतीय रुपैयाँ खर्च भएको तथ्यांक राज्यसभामा प्रस्तुत भएको थियो ।

सन् २०१४ को नोभेम्बर ११ देखि २० सम्मको म्यानमार, अष्ट्रेलिया र फिजिको भ्रमण मोदीको दोस्रो महंगो भ्रमण हो । जसमा २२.५८ करोड भारतीय रुपैयाँ खर्च भएको देखिएको छ । मोदीले सन् २०१६–०१७ मा र २०१८ देखि ०१९(अहिलेसम्म) १८–१८ देशको भ्रमण गरेका छन् । त्यस्तै सन् २०१७ देखि २०१८ को बीचमा मोदीले १९ देशको भ्रमण गरेका छन् । मोदीले आफू प्रधानमन्त्री भएको वर्ष १३ देशको भ्रमण गरेका छन् ।

मोदीले सबैभन्दा बढी एकै देशको चारपटकसम्म भ्रमण गरेका छन् । मोदीले बेलायत, यूएई, साउथ अफ्रिका र अफगानिस्तानलगायतका १० वटा देशको २ पटक भ्रमण गरेका छन् । मोदीले जापान र फ्रान्सको तीनपटक भ्रमण गरेका छन् । मोदीले नेपाल, जर्मनी, रुस र सिंगापुरको चार–चार पटक भ्रमण गरेका छन् । भ्रमणमा मोदीले ४८० वटा सम्झौता गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया