कार्यालय सहयोगीले चलाउँछन् कोइलाबास भन्सार नाका

 पुस १५, २०७५ आइतबार १८:७:१२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – देउखुरी क्षेत्रमा पर्ने नेपाल–भारत जोड्ने कोइलाबास भन्सार नाका अहिले सुनसान छ ।

कोइलाबासको भन्सार कार्यालयमा पाँचजनाको दरबन्दी रहेको छ । तर कार्यालयमा भने करारमा राखिएका कार्यालय सहयोगी मात्र हुन्छन् । कार्यालय सहयोगीको धेरैजसो दिनको काम कार्यालय खोल्ने र बन्द गर्ने हुने गरेको छ ।

२०४५ सालतिर भारतले यो नाका बन्द गर्ने निर्णय गरेपछि कार्यालय पनि कामविहीन बनेको हो । यो नाका कुनै समय देशभर धेरै राजस्व उठाउने भन्सार नाका मध्ये दोश्रो नम्बरमा पर्ने गथ्र्यो ।

तर गएको १० वर्षको तथ्यांक हेर्ने हो भने यो भन्सार कार्यालयबाट आर्थिक वर्ष ०६६/६७ मा सबैभन्दा बढी ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको पाँच महिना मध्ये सबैभन्दा बढी मंसिर महिनामा १ लाख ३२ हजार रुपैयाँ संकलन भएको कार्यालय सहयोगी बिनोद थापाले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २ हजार ९ सय रुपैयाँ मात्रै राजश्व संकलन भएको कार्यालयको तथ्यांकले देखाउँछ । नेपालतर्फ भन्सार कार्यालय र कर्मचारिको दरबन्दी रहे पनि भारततर्फ भने भन्सारको कुनै कार्यालय छैन ।

यो नाकाबाट सामान आयात तथा निर्यात गर्दा भारतको कृष्णनगर भन्सार कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । यो झन्झटिलो प्रकृयाका कारण पनि नाका सुनसान भएको कोइलाबास क्षेत्रका वडा अध्यक्ष सद्दाम सिद्धिकी बताउनु हुन्छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया