मानसिक राेगी बोटे हातखुट्टा बाँधेको अवस्थामा एक वर्षदेखि ग्यारेजमा

 पुस १५, २०७५ आइतबार २०:२२:५८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – फलामको पोलमा दुवै हात रातो कपडाले बाँधिएको छ । दुवै खुट्टा पनि बाँधिएका छन् ।

आँखामा निलो चोट लागेको छ । छिनछिनमा सुर–बेसुरका कुरा गर्ने ३३ वर्षीया सुनिता बोटेको अवस्था गएको एक वर्षदेखि यस्तै छ । तीन छोरीकी आमा भएर पनि बोटे बाँधिएर बस्न बाध्य हुनुहुन्छ । खाना खाँदा पनि परिवारका सदस्यले छेकेर ख्वाउँछन् र फेरि बाँधेर राखिदिन्छन् ।

उपचार खर्च अभावमा नीलकण्ठ नगरपालिका–१२, पशुपति मन्दिर नजिकै हातखुट्टा बाँधेर बोटेलाई ग्यारेजभित्र राखी उहाँका श्रीमान् छनबहादुर बोटे सोही ग्यारेजमा मजदुरी गर्दै आउनुभएको छ । नवलपरासी जिल्ला बाघखोर घर भई धादिङमा मजदुरी गर्न आएका यी बोटे परिवार मजदुरी गरेर जीविका चलाइरहेको छन् । आफूले मजदुरी गरेर मात्र खान पाइने भएकोले उपचार गर्न नपाएपछि बाँधेर राखेर मजदुरी गर्नु परेको श्रीमान छनबहादुरको बताउनुहुन्छ ।

एक वर्षदेखि काम गर्न जाँदा काम गर्ने ठाउँ नजिकै बाँधेर राख्नु परेको र राति घरमा समेत बाँधेर राखेर अरु परिवार सुत्ने गरेको उहाँले बताउनुभयो । मजदुरीकै क्रममा रक्सी खाने बानी परेको र रक्सी खाने बानीसँगै एक वर्ष अघिदेखि मानसिक रुपमा विक्षिप्त भएर हिँड्ने, सुर–बेसुरका कुरा गर्ने गरेपछि बोटेलाई बाँधेर राखी उहाँका श्रीमान काममा जाने गर्नुभएको हो । बोटे एक सुरमा लागेपछि जथाभावी हिँडेर लड्ने, खाना नखाने, जसलाई पनि गाली गर्ने जस्ता व्यवहार देखाउँदै आउनुभएको छ ।

कमाएर परिवार पाल्नु पर्ने भएपछि श्रीमतिको उपचार गर्न नसकेकोले आफूले साहुको मोटर ग्यारेजमा काम गरेर बच्चाहरु र श्रीमति पालेको बोटे दुखेसो गर्नुहुन्छ । खर्च गरेर उपचार गर्न नसक्ने र आफूहरु पालिनका लागि मजदुरी गर्ने छनबहादुर श्रीमती बाँधेर राख्नु परेकोमा दुखी हुनुहुन्छ । उहाँले आफ्नी श्रीमतीको उपचारमा सहयोग गरिदिन अपिल गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

1 Comments

  • Shikchhya

    Dec. 30, 2018, 9:51 p.m.

    How can we help her with some money for her treatment?

  •  0 Reply

तपाईको प्रतिक्रिया