ए डिभिजन लिग: १२ औंं चरणको खेल साेमबारदेखि सुरु हुँदै

 पुस १५, २०७५ आइतबार २०:४१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलको १२ औंं चरणको खेल साेमबारदेखि सुरु हुँदै छ ।

११औंं चरणसम्म अपराजित रहँदै मनाङ मर्स्याङ्दी क्लबले उपाधि जितिसकेकाले अब तालिकाको दोस्रो स्थानको भिडन्त खुल्ला भएको छ ।

१२ औंं चरणको तालिका अनुसार साेमबार तीन तथा मंगलबार र बुधबार दुई-दुई खेल हुने छन् । यसअघि साेमबार बिहान ११ बजे हुने भनिएको हिमालयन शेर्पा र मनाङबीचको खेल १८ गते एपीएफ मैदानमा गर्ने गरी तालिका संशोधन गरिएको एन्फाले जनाएको छ ।

एन्फा मैदानमा साेमबार बिहान ११ बजे अब एनआरटी र मछिन्द्र क्लब भिड्ने छन् । मछिन्द्र ६ अंक सहित १२ औं स्थानमा रहँदा एनआरटी ५ अंक सहित पुछारमा छ । एनआरटी विरुद्ध फराकिलो अन्तरले विजयीहुँदा मछिन्द्रले तालिकामा सुधार गर्ने छ । तर एनआरटी विजयी भए १२ औं स्थानमा उक्ल्ने छ ।

भोलिको खेलमा दुवै टिम दोस्रो जितको खोजिमा हुनेछन् । यसैगरी भोलि दिउँसो साढे २ बजे फ्रेण्ड्स र व्रिगेड ब्वाईज भिड्ने छन् । फ्रेण्ड्स ११ औं तथा ब्रिगेड १३औं स्थानमा छ ।

एता एपीएफको मैदान हलचोकमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी आमने सामने हुनेछन् । चौथो स्थानको आर्मी भोलिको खेलमा विजयी भए थ्रीस्टारलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने छ । 

ए डिभिजन लिगको उपाधि जितिसकेको मनाङले ५० लाख रुपैयाँ पुरस्कार पक्का गरिसकेको छ । दोस्रो हुने टिमले ३५ लाख तथा तेस्रो हुने टिमले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: चैत २०, २०८०

तपाईको प्रतिक्रिया