प्रशिक्षक फेरेपछि म्यानचेस्टर युनाइटेडकाे लगातार तेस्रो जित, चम्किए पाेग्बा

 पुस १६, २०७५ सोमबार ८:१२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार तेस्रो जित हात पारेको छ । प्रशिक्षक फेरेपछिका तीन खेलमा युनाइटेडले विपक्षीविरुद्ध १२ गोल गरिसकेको छ । आइतबार राति एएफसी बर्नमाउथलाई ४–१ ले हराएको हो ।

म्यानचेस्टर युनाइटेडका लागि पउल पोग्बाले दुई गोल गर्दा मार्कस रास्फोर्ड र रोमेलु लुकाकुले एक–एक गोल गरे । बर्नमाउथका नाथन आकेले एक गोल फर्काएका थिए । बर्नमाउथमाथि सुरुदेखि हाबी भएको म्यान्यूले पौल पोग्बाले खेल सुरु भएको पाँचौ मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

त्यसैगरी ३३ औं मिनेटमा उनै पोग्बाले गोल गर्दै अग्रता दोब्बर पारे । मार्कस रासफोर्डले ४५ औं मिनेटमा म्यान्यूका लागि तेस्रो गोल गरेका थिए । तीन गोलले पछि परेको  बर्नमाउथले पहिलो हाफको अतिरिक्त समयमा एक गोल फर्काएको थियो । जसमा नाथन एकेले गोल फर्काउन सफल भए ।

पहिलो हाफमा ३–१ को अग्रता लिएको म्यान्यूलो चौथो गोल भने ७२औं मिनेटमा गरेको थियो । रोमेलो लुकाकुले गोल गरेका थिए । ७९औं मिनेटमा म्यान्यूका इरिक बेली रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि अन्तिम १५ मिनेट म्यान्यू १० खेलाडीमा सिमित भएको थियो ।

तर त्यसको फाइदा भने बर्नमाउथले लिन सकेन । जितसँगै म्यान्यू तालिकाको छैटौं स्थानमा रहेको छ । २० औं चरणको खेल सकिँदा लिभरपुल अपराजित रहँदै ५४ अंकका साथ शीर्ष स्थानमा छ । म्यानचेस्टर सिटी ४७ अंकका साथ दोस्रो स्थानमा रहँदा टोटनह्याम ४५ अंकका साथ तेस्रो र ४३ अंक जोडेको चेल्सी चौथो स्थानमा छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया