सन्तोष पन्तसँग रवीन्द्रको फिल्म खेल्ने सपना ‘चौका दाउ’ले गर्‍यो पूरा

 पुस १६, २०७५ सोमबार १४:३४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – जनकपुरका रवीन्द्र झा स्कुले जीवनमै नाटकमा सक्रिय थिए । त्यतिबेला उनलाई कलाकार सन्तोष पन्तको ‘हिजो आजका कुरा’खुबै मन पर्थ्यो । उनी त्यो कार्यक्रम हेरेर सन्तोष पन्तको स्टाइलमा अभिनय पनि गर्थे । उनलाई जीवनमा एक पटक भए पनि सन्तोष पन्तसँग काम गर्ने धोको त्यतिबेला नै थियो ।

त्यो धोको अहिले चलचित्र ‘चौका दाउ’ मार्फत पूरा भएको रवीन्द्रले बताएका छन् । सञ्चारकर्मीसँग गफिँदै रवीन्द्रले भने, ‘सन्तोष पन्त दाइसँग हिजो आजका कुरामा अभिनय गर्न साह्रै रहर थियो तर त्यो कार्यक्रम बन्द भयो । चलचित्र ‘चौका दाउ’ मा उहाँसँग काम गरेर हिजो आजका कुरामा अभिनय गर्ने धोको मेट्न पाएँ ।’

‘चौका दाउ’मा पहिलो दिन सन्तोष पन्तसँग काम गर्दाको अनुभवबारे रवीन्द्रले भने,‘उहाँ वरिष्ठ कलाकार भएकाले पहिलो दिन काम गर्न साह्रै गाह्रो पर्‍यो र म निक्कै नर्भस भएँ । तर सन्तोष दाइ यति चाँडै नजिक हुनुभयो, भोलि पल्टबाट उहाँसँग काम गर्न मलाई सजिलो हुँदै गयो ।’ 

यो फिल्ममा सन्तोष पन्तसहित आफू, तैयब शाह, विल्सनविक्रम राई र अजश्र ढुंगाना गरी पाँचै जना कलाकारले उर्वषी अर्थात वर्षा राउतलाई मन पराएर उनको पछि लाग्ने भूमिका निर्वाह गरेको पनि रवीन्द्रले बताए, ‘वर्षाको पाँच पाण्डवको रुपमा हामी छौँ । जसमध्ये म युधिष्ठिर जस्तो सोझो छु भने सन्तोष दाइ अर्जुन जस्तो चलाख र चतुर बन्नु भएको छ, तैयब दाई पनि उर्वषी भनेपछि सबैकुरा छाडेर उसकै पछि लाग्ने माहिर व्यापारीको रुपमा हुनुहुन्छ ।’ रवीन्द्रले हाँस्दै भने, ‘सन्तोष पन्त र तैयब शाहजस्ता वरिष्ठ कलाकारहरुले केटीको पछि लाग्ने अल्लारे भूमिका गर्दा उहाँहरुको अघि त हामी फिक्का पो हुँदा रहेछौँ ।’   

पुस २७ बाट देशैभर रिलिज हुने चलचित्र ‘चौका दाउ’मा रवीन्द्रले भूपतिको भूमिका निर्वाह गरेका छन् । रवीन्द्रकै भनाइमा उनी यो फिल्ममा जग्गा प्लटिङ गरेर बेच्ने व्यापारीको भूमिकामा छन् ,‘जग्गाको मानमा पृथ्वी मात्र हैन, चन्द्रमासमेत प्लटिङ गरेर बेच्न पछि नपर्ने भनेपछि म कति खतरनाक जग्गा व्यापारी हुँला त । जे भए पनि मैले निर्वाह गरेको भूपतिको रोलबाट दर्शकले मनोरञ्जनसँगै जग्गा दलालीको फन्दाबाट कसरी बच्ने भन्नेबारे पनि जानकारी लिन सक्नु हुनेछ ।’

सौर्यजित बास्कोटा र मनोज राजभण्डारीले निर्माण गरेको चलचित्र ‘चौका दाउ’को परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजित बास्कोटा हुन् । यो फिल्मलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् ।

पूर्णेन्दुको काम आफूलाई निकै मन परेको र समग्रमा ‘चौका दाउ’ एउटा हास्यप्रधानसँगै रमाइलो फिल्म बनेको पनि रवीन्द्रले बताए । ‘चौका दाउ’को लागि आफूले चलचित्र ‘छक्का पञ्जा–३’ मा समय दिन नसकेर त्यो फिल्म खेल्न नभ्याएको पनि उनले खुलासा गरे । 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 


 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया