नेता किमको सन्देश : अमेरिकाले प्रतिबद्धता पूरा नगरे उत्तर कोरियाले नयाँ बाटो खोज्नेछ

 पुस १७, २०७५ मंगलबार ९:४१:४३ | एजेन्सी
unn.prixa.net

उत्तर कोरियाका नेता किम जोन–उनले अमेरिकाले सहयोग गरे परमाणु निशस्त्रीकरण पूर्ण रुपमा सफल हुने बताएका छन् । 

नयाँ वर्ष २०१९ को अवसरमा गरेको सम्बोधनमा नेता किमले परमाणु निशस्त्रीकरण गर्न आफ्नो पूर्व प्रतिबद्धतामा अडिग रहेको तर यसका लागि आफ्नो तर्फबाट मात्रै प्रयास भएर नहुने बताएका हुन् । 

नयाँ वर्षको अवसरमा  उत्तर कोरियाली टेलिभिजनमार्फत सम्बोधन गर्दै नेता किमले भने, ‘यदि अमेरिकाले विश्व समुदायसामु गरेको प्रतिबद्धतालाई पालना नगरी हाम्रो देशविरुद्ध लगाएको प्रतिबन्धलाई बढाउँदै जान्छ भने हामीसँग पनि अर्को कुनै विकल्प हुने छैन । हामीले आफ्नो सार्वभौमिकता बचाउनका लागि नयाँ बाटो अपनाउन सक्छौँ ।’

उनले परमाणु निशस्त्रीकरणको प्रक्रियामा अमेरिकाले उत्तर कोरियाका तर्फबाट मात्रै एकल प्रयासको माग गरिरहे अवस्था कठिन हुने र आफूहरु विकल्पका रुपमा ‘नयाँ बाटो’ खोज्न बाध्य हुने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किमबीच गएको वर्ष सिंगापुरमा भएको ऐतिहासिक वार्तापछि उत्तर कोरियाले परमाणु निशस्त्रीकरणको काम सुरु गरेको छ । तर अमेरिकाले आफूहरुमाथि अनावश्यक दबाब दिँदै आएको उत्तर कोरियाले आरोप लगाउने गरेको छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया