‘दाल भात तरकारी’ का मुख्य जाेडी पुष्प र आँचल अन्य निर्देशककाे राेजाइमा पर्दै

 पुस १७, २०७५ मंगलबार १३:११:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - मह सञ्चार र किरण केसीको संयुक्त प्रस्तुति रहेको सिनेमा ‘दाल भात तरकारी’ छायांकनको अन्तिम चरणमा पुगेको छ । 

अब सिनेमामा समावेश केही सिन र एउटा गीतको छायांकन बाँकी रहेको निर्माता किरण केसीले बताउनुभयो । यो सिनेमालाई किरण केसीका कान्छा छोरा सुदन केसीले निर्देशन गरिरहेका छन् । यो उनको डेब्यु निर्देशन हो । 

यस सिनेमामा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य,  निरुता सिंह, राजाराम पौडेल, पुष्प खड्का, वर्षा राउत, आँचल शर्मा, मोहितवंश आचार्य, लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 

यही सिनेमा मार्फत पहिलो पटक ठूलो पर्दामा जोडीको रुपमा प्रस्तुत हुन लागेका पुष्प खड्का र अभिनेत्री आँचल शर्माको जोडीको यतिबेला चर्चा सुरु भएको छ । 

हुन त सिनेमा छायांकनमा जानुभन्दा पहिलेदेखि नै उनीहरुको चर्चा सुरु भएको थियो । सिनेमामा पहिले पुष्पको जोडीको रुपमा स्वस्तिमा खड्का फाइनल भएकी थिइन् तर पछि आँचल पुष्पको जोडी बन्न पुगिन् जसले उनलाई फाइदा पुर्याएको छ । 

सिनेमाको छायाकंनस्थलबाट सार्वजनिक भएका उनीहरुका तस्बिरले चौतर्फी प्रशंसा पाइरहेका छन् । यति मात्रै हैन यही सिनेमामा काम गर्ने क्रममा उनीहरुको जोडी देखेर केही निर्माता प्रभावित भएका छन् । 

आँचल र पुष्पले आफूहरुलाई दाल भातको सेटमै देखेर एक जना निर्माताले सिनेमाको प्रस्ताव राखिसकेको बताए । उनीहरुले आफूहरु एकअर्कासँग काम गर्न तयार भएको बताउँदै पछि टिमसँग कुरा मिलेको र स्क्रिप्ट मन परेको खण्डमा उक्त सिनेमामा काम गर्ने बताएका छन् । 

निर्माताको आँखामा परिसकेको यो जोडीलाई दर्शकले कत्तिको मन पराउने हुन् त्यो भने ‘दाल भात तरकारी’ प्रदर्शनमा आएपछि नै थाहा हुनेछ ।

‘दाल भात तरकारी’ पछि नै उनीहरु अन्य सिनेमामा दोहोरिने नदोहोरिने अनुमान लगाउन सकिनेछ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया