बालबालिकाले प्रधानमन्त्रीलाई सोधे : नेपाली भाषालाई छोडेर सरकारले अंग्रेजी भाषालाई मात्रै महत्व दिएको हो ?

 पुस १७, २०७५ मंगलबार १६:४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकासँग अन्तरक्रिया गर्नु भएको छ ।

प्रधानमन्त्री ओली मंगलबार दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया कार्यक्रममा सहभागी हुनु भएको हो । त्यस क्रममा प्रधानमन्त्री ओलीले नयाँ पुस्ता बहुतै ‘ट्यालेन्ट’ रहेको बताउनुभयो । नयाँ पुस्ता फेल, असफल, नालायक र अयोग्य नरहेको प्रतिक्रिया दिनु भएको हो । उहाँले विद्यमान शिक्षा प्रणालीमा सुधार गर्दै बालबालिकाहरुलाई हतोत्साही हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले बालप्रतिभालाई प्रकट हुनै नदिने विद्यमान शिक्षा प्रणाली रहेको उल्लेख गर्दै त्यसमा क्रममा सुधार गर्दै लैजाने योजना पनि बालबालिकालाई सुनाउनु भयो । प्रधानमन्त्री ओलीले मातृभाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषाको रुपमा रहेको अंग्रेजी भाषालाई उत्तिकै महत्व दिन पनि बालबालिकालाई आग्रह गर्नुभयो । बालबालिकाहरुले ‘नेपाली भाषालाई छोडेर सरकारले अंग्रेजी भाषालाई मात्रै महत्व दिएको हो ?’ भन्ने प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले त्यसको जवाफमा अंग्रेजी भाषाको पनि उत्तिकै महत्व रहेको स्पष्ट पार्नुभयो ।

आधुनिक ज्ञान र प्रविधिलाई प्रयोगमा ल्याउन पनि अंग्रेजी भाषा आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भातृ भाषा र राष्ट्रिय भाषा हामी सबैलाई प्यारो लाग्ने उल्लेख गर्दै अंग्रेजी भाषाको पनि आवश्यक्ता झनै बढेर गएको बताउनुभयो । विभिन्न देशमा घुम्नका लागि पनि अंग्रेजी भाषा आवश्यक भएकाले त्यसमा पनि जोड दिनु परेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले सबै बालबालिकालाई सहज रुपमा शिक्षा दिने व्यवस्था गर्न सरकारले सामुदायिक विद्यालयहरुको गुणस्तरमा जोड दिएको पनि स्मरण गराउनुभयो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया