राष्ट्रिय जलवायु सम्मेलन २०७५ : १० बुँदे साझा सिन्धुपाल्चोक घोषणा पत्र जारी गर्दै सकियो सम्मेलन

 पुस १७, २०७५ मंगलबार १९:४:२९ | किरण थापा

सिन्धुपाल्चाेक – ‘राष्ट्रिय जलवायु सम्मेलन २०७५’ १० बुँदे साझा सिन्धुपाल्चोक घोषणा पत्र जारी गर्दै सम्पन्न भएकाे छ ।

स्थानीय तहहरुलाई जलवायु अनुकूलको योजना र कानुन निर्माणका लागि सहजीकरण, जलवायु कोष निर्माण, जलवायु मैत्री विकास, ‘प्रकृतिलाई बिगारेर होइन, श्रृङगारेर विकास गर्ने’ लगायत १० बुँदे सिन्धुपाल्चोक गुफाडाँडा घोषणापत्र जारी गर्दै ‘राष्ट्रिय जलवायु सम्मेलन २०७५’ समापन भएको छ ।

औद्योगिक देशहरुले कार्बन उत्सर्जन गर्दा त्यसको मार खेप्ने राष्ट्रहरुलाई शुल्क तिर्नुपर्ने व्यवस्थाका लागि सम्मेलनमार्फत दवाव दिन सम्मेलन प्रभावकारी हुने आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमूख कृष्ण गोपाल तामाङले बताउनुभयोे ।

‘राष्ट्रिय जलवायु सम्मेलन २०७५’ मा मंगलबार विज्ञहरुले ११ वटा कार्यपत्र प्रस्तुत गरेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । सोमबार ११ वटा कार्यपत्रमाथि छलफल भएको थियो ।

सम्मेलनमा ७७ वटै जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा विषय विज्ञ सहभागी भएका थिए । विश्वकै टाउको दुखाइको विषय बनेको जलवायु परिवर्तनको मुद्धा सशक्त ढंगले उठाउँदै स्थानीय तहले त्यसका नकारात्मक प्रभाव कम गर्न ‘के गर्न सक्छन’ भन्ने बारेमा छलफल केन्द्रित थियो ।

जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र असरउपर प्रतिनिधिहरुले छलफल गरेका छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीदेखि स्थानीय तहका प्रतिनिधिसमेतको सहभागितामा राष्ट्रिय जलवायु सम्मेलन शुभारभ भएसँगै गुफाडाँडावासी आफ्नो गाउँको पर्यटन प्रवद्र्धन हुनेमा आशावादी भएका छन् ।

नगरपालिकाले गुफाडाँडालाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले त्यहाँ चिया बगानलगायत अन्य पूर्वाधारका योजना बनाउन स्थानीय तथा सरोकारवालासँग छलफल र विभिन्न विज्ञमार्फत सम्भाव्यता अध्ययनसमेत गराइरहेको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो  ।

समुद्र सतहदेखिको दुई हजार ५ सय ५० मिटर उचाइमा रहेको गुफाडाँडाबाट दोर्जे लाक्पा तथा जुगल हिमाललगायत अन्य हिमशृङ्खलाका साथै सिन्धुपाल्चोक, काभ्रपलाञ्चोक तथा काठमाडौँका अधिकांश भू–भाग प्रष्ट देख्न सकिन्छ ।

यस क्षेत्रमा सम्मेलन आयोजना हुने चर्चा चलेदेखि नै आन्तरिक पर्यटकको घुइँचो बढ्दै आएको स्थानीय सुनाम शेर्पाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया