डाक्टर गोविन्द केसी १६ औं सत्याग्रहको लागि इलाममा

 पुस १७, २०७५ मंगलबार १९:३४:५० | सुजता सुनुवार
unn.prixa.net

फाइल तस्बिर

इलाम – प्रा. डा. गोविन्द केसीले आफ्नो १६ औँ अनसन इलामबाट सुरु गर्न मंगलबार इलाम आइपुग्नु भएको छ । आफ्नो माग पूरा गर्न सरकारले चासो नदिएको भन्दै अनसनको बन्दोबस्त मिलाउन डा. केसी इलाम आइपुग्नु भएको हो । इलाममा आए पनि डाक्टर केसीले अनसन कहिलेदेखि बस्ने भन्ने बारेमा भने घोषणा भएको छैन ।

उहाँले गएको साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने, संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम सुरु गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना सुरु गर्नुपर्ने, नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतका माग डा. केसीको रहेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली इलाममा पुस २० गते हुन लागेको लगानी सम्मेलनको उद्घाटन गर्न आउने पूर्व सन्ध्यामा डा. केसीले अनसन बस्ने तयारी गर्नुभएको छ । १६ औं सत्याग्रहको अल्टिमेटम मंगलबार सकिएको भन्दै डाक्टर केसी फेरि सत्याग्रह बस्ने गरी इलाम पुग्नुभएको हाे ।

डाक्टर अभिषेकराज सिंहले ट्वीट गर्दै डाक्टर केसी १६ औं सत्याग्रहको लागि इलाम पुगिसक्नुभयको जनाउनुभएको छ ।

 

उहाँले ट्वीटमा भन्नुभएको छ, ‘१६ औं सत्याग्रहको लागि डा गोबिन्द केसीले दिनुभएको अल्टिमेटमको आज अन्तिम दिन भएकाले डा केसी सत्याग्रहको तयारीको लागि पूर्वी नेपालको इलाम पुगिसक्नुभएको छ र यसपालिको लडाइँ इलामबाट लड्ने हुनुभएको छ । आशा छ, सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन हुनेछ ।’

याे पनि पढ्नुहाेस: ६ वर्षदेखि डाक्टर केसीको अनसन : सरकारपिच्छे आश्वासन, कार्यान्वयनमा बेवास्ता

केसीको माग र सरकारले विगतमा गरेको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक अझै संसदमा दर्ता भएको छैन । उहाँले चिकित्सा शिक्षामा सुधारलगायत माग गर्दै १५ औं पटकसम्म अनसन बसिसक्नु भएको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया