पर्यटन मन्त्री अधिकारी भन्छन् : यो खालको समस्याबाट अचम्मित छु

 पुस १८, २०७५ बुधबार ९:४५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनबाट आफू अचम्ममा परेको बताउनुभएको छ ।

उज्यालो अनलाइनसँगको कुराकानीमा मन्त्री अधिकारीले संसदीय प्रणाली र संसदीय समितिको आफूले सधैँ सम्मान गर्ने तर वाइडबडी प्रकरणमा आफू पनि मुछिएको घटनाबाट दुःखी र अचम्मित भएको बताउनुभयो ।

‘मैले मन्त्रालय सम्हालेपछि वाइडबडीको बारेमा थप निर्णय केही भएको छैन, प्रक्रिया पहिल्यै पूरा भैसकेको थियो, मन्त्रालयको मुख्य व्यक्ति भएकाले केही कन्सर्न आउनु स्वभाविक नै हो, तर यो खालको समस्या आउला भनेर सोचेको थिइनँ’, मन्त्री अधिकारीले भन्नुभयो । 

संसदको लेखा समितिले बनाएको उपसमितिले मंगलबार प्रतिवेदन टुंग्याउँदै वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको निष्कर्ष निकालेको छ ।

उपसमितिले बहालवाला मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देव, त्यसैगरी बहालवाला पर्यटन सचिव कृष्ण देवकोटा, हाल गृहसचिव रहेका तत्कालीन पर्यटन सचिव प्रेम राई र पूर्व सचिव शंकर अधिकारीलाई दोषी ठहर गरेको छ । 

त्यस्तै वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्कालै निलम्बन गरेर कारबाही गर्न पनि उपसमितिले सिफारिस गरेको छ । 

उपसमितिको प्रतिवेदन आजै लेखा समितिको पूर्ण बैठकमा पेश हुनेछ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया