चलचित्र ‘गोपी’को ‘तेरो आफ्नो’ गीत सार्वजनिक

 पुस १८, २०७५ बुधबार १४:१२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

रिलिज नजिकिँदै जाँदा आफ्नो प्रमोसनलाई तीव्र बनाएको गोपी फिल्मकाे दोस्रो गीत रिलिज गरिएको छ ।

रिलिज भएकाे ‘तेरो आफ्नो’ बोलको गीत शिव परियारले गाएका हुन् । विप्लव प्रतीकले रचेको गीतमा कल्याण सिंहले संगीत भरेका हुन् । 

आरोही इन्टरटेन्मेन्ट प्रालिका लागिआरोही केसीको निर्माणमा दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म गोपी आउँदो माघ १८ देखि चल्दैछ । 

यसअघि घामपानी निर्देशन गरेका दीपेन्द्रको यो दोस्रो फिल्म हो । फिल्म स्वावलम्बनको विषयमा केन्द्रित भएको हुनाले तेरो आफ्नो गीतलाई फिल्मको ‘थिम सङ’का रुपमा प्रयोग गरिएको निर्देशक लामा बताउँछन् ।

निर्देशकबाट फिल्मको कथा सुनेपछि आफूले फिल्मको भाव सुहाउँदो गीत लेखेको गीतकार विप्लव सुनाउँछन् । दीपश्रेष्ठले गाएको सदाबहार गीत ‘हर रात सपनीमा एँेठन हुन्छ’का रचयिता हुन् विप्लव । 

‘फिल्ममा गीत लेख्ने अफर आइरहन्छन्, तर म हल्का फुल्का भन्दापनि यस्तै अर्थपूर्ण गीत लेख्न रुचाउँछु,’ उनले भने ।

कल्याण सिंह पछिल्लो समय नेपाली फिल्मको संगीतमा चलेकै नाम हाे । विप्लव प्रतीकको गीत शिव परियारका लागि कम्पोज गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको संगीतकार सिंह बताउँछन् ।

चलिरहेको भन्दा फरक शैलीको गीत आफूले कम्पोज गरेको उनी जनाउँछन् ।

डोरेमी स्टुडियोमा रेकर्ड भएको गीत गायक शिव परियारलाई तुरुन्तै मन परेको थियो । डमी गीत सुन्ने बित्तिकै उनीगाउनका लागि तयार भएकाहुन् ।
‘बजारमा भाइरल नहोला, तर यस्तो गीत रेकर्ड हुनु र फिल्ममा प्रयोग हुनु धेरै नै खुशीको कुरा हो,’ उनले भने ।

ओएसआरको युट्युब च्यानलबाट रिलिज भएको गीतमा गोपी फिल्मका मुख्य पात्र विपिन कार्कीले गाई फार्ममा परिश्रम गरिरहेका दृश्यले प्राथमिकता पाएको छ । गोपाल रसाइलीको एरेन्जमेन्टले पनि गीतको स्तर उठाउन मद्दत पुगेको छ ।

सामीप्यराज तिमल्सिनाको पटकथा, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, रमेश अधिकारी, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याल, कुन्ती सिमाली, हिउँबाला गौतम लगायतले मुख्य भूमिका निर्वाह गरेका छन् ।

विदेशमा बस्ने नेपालीहरुले फिल्म हेर्ने चाहना व्यक्त गरिरहेकाले ओभरसिज सेल्समा पनि ध्यान दिइरहेको कार्यकारी निर्माता श्रीधर पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया