'हेयर कटिङ' व्यवसायबाटै महिनाको ८० हजारदेखि एकलाखसम्म कमाइ !

 पुस १८, २०७५ बुधबार १४:५४:३० | मुना हमाल
unn.prixa.net

सुर्खेत – ६ वर्षअघि घर खर्च चलाउन मुस्किल भएपछि जाजरकोटको जुनिचाँदे गाउँपालिकाका हरि शाही उच्च शिक्षा अध्ययन गर्ने सपना हुँदा हुँदै पनि रोजगारीका लागि मलेसिया जानुभयो ।

उहाँले विदेशमा ३ वर्ष बिताउनुभयो । त्यहाँ रहँदा उहाँको न राम्रो कमाइ भयो, न राम्रो काम नै पाउनुभयो । घरबाट टाढा परदेशमा रहँदा उहाँलाई घरको चिन्ताले पनि सताउँथ्यो । विदेशमा पनि सोचे अनुसारको कमाइ नभएपछि उहाँ नेपाल फर्कनुभयो । स्वदेश फर्केपछि उहाँले वीरेन्द्रनगर ८ खजुर बिहानी हेयर कटिङ संचालन गर्नुभयो । आफूले गाउँघरमा गरेको अनुभवले नै कपाल काट्ने व्यवसाय सुरु गर्नुभयो ।

ढाई वर्ष अघिदेखि सुरु गर्नुभएको यसै व्यवसायबाट उहाँले अहिले विदेशमा पनि कमाउन नसकेको मासिक ८०  देखि १ लाखसम्म कमाउनुहुन्छ । ‘ढाई वर्ष अघि विदेशबाट आएपछि व्यवसाय सुरु गरेको हुँ’, उहाँले भन्नुभयो, ‘अहिले विदेशमाभन्दा यही राम्रो कमाइ भइरहेको छ ।’

आर्थिक अभावकै कारण उहाँले १२ कक्षाभन्दा माथि पढ्न सक्ने अवस्था भएन । एसएलसी पास गरेपछि उहाँ उच्च शिक्षा पढ्न सुर्खेत आउनुभएको थियो । सुर्खेतबाटै कक्षा १२ उर्तीण गरेपछि उहाँ गाउँ जानुभयो । कक्षा १२ सम्म पढेर जागिर नपाइने ।

६ वर्षअघि  त्यसपछि उहाँ विदेश जानुभयो । विदेशबाट फर्किसकेपछि पनि फेरि विदेश जाने योजना पनि नभएको भने होइन । उहाँको मन ढुलमुल हुँदै अन्त आफ्नै ठाउँमा केही  गर्ने योजना बन्यो । त्यसैले उहाँले आफ्नै ठाउँमा केही गर्ने योजना बनाउनुभयो ।

त्यसपछि विदेश नगएर हेयर कटिङ्गको व्यवसाय सुरु गर्नुभयो । ‘विदेशबाट आउँदा सबै पैसा सकिएको थियो । फेरि पनि विदेश नै जाने कि भन्ने पनि थियो । फेरि यतै केही गर्ने भन्ने पनि भयो’, उहाँले भन्नुभयो, ‘अन्तिममा आएर हेयर कटिङ्ग व्यवसाय सुरु गरे ।’

रोजगारीको शिलशिलामा अझै पनि लाखौँ युवाहरु विदेशमा छन् । सुर्खेतमा प्रायः हेयर कटिङ्गको व्यवसाय गर्ने पहाडी क्षेत्रकाभन्दा पनि तराई क्षेत्रका बढी छन् । काम गर्दा क्षेत्रले फरक पार्दैन् भन्ने उहाँले उदारण दिनु भएको छ ।

विदेशमा गरेको दुःखलाई सम्झेर त्यो दुःख आफ्नै ठाउँमा गरेर केही गर्नुपर्छ भन्ने उद्देश्यले व्यवसाय सुरु गर्नुभएका शाहीले आफू मात्र होइन, अन्य दुईजनालाई पनि रोजगारी दिनुभएको छ । विदेशमा गरिने दुःख आफ्नै ठाउँमा गरेपछि उपयुक्त हुने उहाँको अनुभव छ । विदेशमा गएर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा त्यहाँ गर्ने दुुःख गरेर जीवन चलाउन सकिने उहाँले युवाहरुरुलाई सुझाव दिनुहुन्छ ।

यसै व्यवसायबाट उहाँले अहिले वीरेन्द्रनगरको एक बोर्डिङ्ग स्कुलमा एक छोरा र छोरी पढाउने र घरपरिवारको सबै खर्च जोहो गर्दै आउनु भएकोे छ । आफ्नो परिवारसँगै बसेर आफ्नै ठाउँमा काम गर्न पाउँदा उहाँ सन्तुष्टी हुनुहुन्छ ।

‘विदेशभन्दा यहाँ धेरै राम्रो छ’, उहाँले भन्नुभयो, ‘बुबाआमा, परिवार आफन्तहरुसंँगै बसेर व्यवसाय गर्न पाउँदा खुशी छु । कमाई पनि राम्रो भइरहेको छ ।’
शाहीले सुरुमा १ लाख मात्र लगानी गरे सुरु गर्नुभएको यो व्यवसायमा अहिले दुईतीन लाख लगानी भइसकेको छ । अब यो व्यवसायलाई अघि बढाएर अरु युवाहरुलाई पनि रोजगारी दिने उहाँको योजना छ ।

‘यो व्यवसायमा अझ लगानी बढाएर यसै व्यवसायलाई स्थापित गराएर युवाहरुलाई तालिम दिने र रोजगारी दिने योजना छ’, उहाँले भन्नुभयो ।
 
 

अन्तिम अपडेट: चैत १५, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया