मिस नेपाल खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त

 पुस १८, २०७५ बुधबार १७:०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल श्रृंखला खतिवडालाई ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्ने मूल उद्देश्यका साथ मिस नेपाल खतिवडालाई ‘ब्राण्ड एम्बेसडर’मा नियुक्त गरिएको घोषणा गरेको हो ।

बैंकिङ सेवालाई अझै प्रभावकारी बनाउन र नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्न मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । बैंकले मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेसँगै बैंकलाई स्मार्ट बैंकको रुपमा विकास गराउने कार्यमा सहजता आउने विश्वास पनि व्यक्त गरेको छ ।

कार्यक्रममा बोल्दै मिस नेपाल खतिवडाले मुलुककै ठूलो पूँजी परिचालन गर्न सक्ने बैंकको ‘ब्राण्ड एम्बेसडर’ हुन पाउनु आफ्नो लागि गर्वको विषय भएको प्रतिक्रिया दिनुभयो । उहाँले मिस नेपालबाट लाभ लिने काममा बैंकलाई सफलता मिलोस् भनि शुभकामना पनि व्यक्त गर्नुभयो ।

५३ वर्षअघि स्थापना भएको वाणिज्य बैंकको देशभर २ सय १० वटा शाखा कार्यालय रहेका छन । निक्षेप संकलन र कर्जा लगानीमा अन्य बाणिज्य बैंकहरुभन्दा अगाडि रहेको राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्म १ अर्ब १२ करोड खुद मुनाफा आर्जन गर्न पनि सफल भएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया