फेरि घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

 पुस १८, २०७५ बुधबार १९:४०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।

बुधबार बसेको निगमको बैठकले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय ८ रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ घटाइएको निगमले जनाएको छ ।

गएको पुस ३ गते निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको थियो । जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँमा झरेको थियो भने यस्तै डिजल र मट्टितेलको भाउ ९७रुपैयाँ प्रतिलिटरमा झरेको थियो ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमबाट पेट्रोल, डिजेल तथा मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ प्रति लिटरका दरले घटाएर समायोजन गरेको आयल निगमले जनाएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको छ । खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर ८०.६९ रुपैयाँ घाटा रहेको आयल निगमले जनाएको छ । त्यस्तै निगमले भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर १०.४१ रुपैयाँ र डिजलमा १२.३८ रुपैयाँ सस्तो रहेको जनाएको छ । 

मूल्य समायोजनपछि काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको १०८ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ प्रतिलिटर रहेको छ ।

अहिले कच्चा तेलको मूल्य अत्यन्त अस्थिर भएकाले नेपाल आयल निगमले नयाँ मूल्य र स्वचालित मूल्य प्रणालीको संयन्त्र बमोजिम नै मूल्य समायोजन गर्दै जाने जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया